कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भ्रष्टाचार अख्तियारले मात्र नियन्त्रण गर्ने होइन’

कान्तिपुर संवाददाता

काठमाडौं — विज्ञहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र मुलुकमा बढदो भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । उनीहरूले व्यक्ति, समाज सबै मिलेर भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्ने बताए ।

‘भ्रष्टाचार अख्तियारले मात्र नियन्त्रण गर्ने होइन’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र दीपेशकुमार घिमिरेद्वारा संयुक्त रूपमा लेखिएको ‘समाज र भ्रष्टाचार : कारण, आयाम र परिणाम’ पुस्तक विमोचनमा शुक्रबार प्राध्यापक चैतन्य मिश्र, दुई दशकदेखि भ्रष्टाचारका विषयमा कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापा, स्वास्थ्य क्षेत्रको भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका डा. जीवन क्षत्री र लेखक उपाध्यायले मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न व्यक्तिदेखि समाजसम्म सबै मिलेर लाग्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

मिश्रले शुक्रबार पुस्तक विमोचन गरेलगतै सुरु बहसमा लेखक घिमिरेले एकपछि अर्को गर्दै वक्ताहरूलाई भ्रष्टाचारको कारण, शैली र यसलाई नियन्त्रण गर्ने उपायबारे प्रश्न गरेका थिए ।

उपाध्यायले अख्तियार बलियो बनाउँदैमा भ्रष्टाचार नियन्त्रण नहुने प्रस्ट पारे । ‘अन्य शासन व्यवस्था सञ्चालन गर्न नेतृत्व, व्यक्तित्व र राजनीतिमा गएर अडकिन्छ,’ उनले भने, ‘शासन व्यवस्था चलाउने पद्धति बिग्रेको छ । यसमा शासन चलाउनेले त्यसको जिम्मेवारी लिनुपर्छ । सामाजिक संरचना, मूल्य, मान्यतामा सुधार ल्याउनुपर्छ ।’

उपाध्यायले भ्रष्टाचार विभिन्न किसिमको हुने उल्लेख गर्दै आफू, आफ्नो गुट र आफ्नो समाजको फाइदाका लागि व्यक्तिले पदीय हैसियतको दुरुपयोग गरी लिने लाभ भ्रष्टाचार हुने प्रस्ट पारे । प्राध्यापक मिश्रले व्यक्ति समाजले र समाज व्यक्तिले निर्माण गर्ने बताए ।

‘र, व्यक्ति समाजले निर्माण गर्ने चाहिँ हो । भ्रष्टाचारमा व्यक्तिलाई मात्र दोष लगाएर पन्छिन हँुदैन, समाजलाई छाड्न मिल्दैन,’ उनले भने । उनले सार्वजनिक क्षेत्रबाट कसरी फाइदा लिने भनेर लागेपछि भ्रष्टाचार मौलाएको बताए । सर्वोच्चबाट अयोग्य ठहरिएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की प्रकरणबाट पनि सरकारलाई नेतृत्व गर्ने व्यक्ति, प्रधानमन्त्री, मन्त्री, सांसदहरू गम्भीर नभएकोमा उनले निराशा व्यक्त गरे ।

पत्रकार थापाले शासन वृत्तमा पुगेका व्यक्तिले जसरी पनि आफ्नो स्वार्थमा काम गर्ने प्रवृत्तिले भ्रष्टाचार मौलाएको बताए । ‘शासन सत्तामा जिम्मेवारी लिएर भ्रष्टाचार नियन्त्रण गर्न जाने तर उनीहरू नै त्यसको माध्यम भइदिने । राजनीतिमा भ्रष्टाचार भएपछि यत्रतत्र भ्रष्टाचार फैलिएको छ,’ उनले भने ।

उनले दलहरूले आफ्नो घोषणापत्रमा के भनेका छन्, त्यसको समेत याद नगर्ने गरेको बताए । ‘भ्रष्टाचार अख्तियारले मात्र नियन्त्रण गर्ने होइन,’ उनले भने, ‘हाम्रो शासनमा पुग्ने व्यक्तिहरूलाई आफ्नो दायित्त्व के हो भन्ने थाहा छैन । हामी ब्लेम गेम खेल्छौं । आफ्नो दायत्वि बुझेका छैनौं ।’ उनले अख्तियार सञ्चालन गर्न अयोग्य सावित भएका लोकमानसिंह कार्कीको उदाहरण पेस गर्दै भने, ‘राज्यले परिकल्पना गरेको संवैधानिक निकायमा जाने व्यक्ति ठीक हुनु आवश्यक छ । किनकि नेतृत्व गर्ने व्यक्ति नै ठीक नभए त्यो संस्थाले सही बाटो लिन सक्दैन ।’

डा. क्षत्रीले स्वास्थ्य क्षेत्रमा देखिएका भ्रष्टाचारलाई केलाउँदै मेडिकल काउन्सिल र विश्वविद्यालयबाट भ्रष्टाचार हुने गरेको प्रस्ट पारे । ‘यी संस्था राम्रो भएका भए, अन्यमा पनि सुधार हुन्थ्यो,’ उनले भने, ‘लोकमानले त मेडिकल काउन्सिललाई कुन कलेजमा कति सिट दिने भन्ने आदेशसमेत दिएको पाइयो ।’

दर्शकसँग अन्तक्र्रियासमेत गरिएको बहसमा उपाध्यायले भ्रष्टाचार हुनुको कारणबारे भने, ‘मानिसको आफ्नो असीमित इच्छा, आकांक्षा लोभलाई पूरा गर्न जहिले पनि मनभित्र द्वन्द्व हुने र त्यसलाई पूरा गर्न सहज बाटो कि दु:खपूर्ण बाटो जाने भन्ने भइरहने हुन्छ । र, उसले सजिलो बाटो देख्छ । सार्वजनिक संस्था कमजोर भएपछि ऊ त्यसमा गएर गलत काम गरेर फाइदा उठाउछ ।
ऊ वरपर र शासन संयन्त्रको कमजोरी र लोभमा लाग्छ ।’ सांग्रिला पुस्तक प्रालिद्वारा प्रकाशनमा ल्याइएको उक्त पुस्तकको बिक्रीबाट लेखकद्वय उपाध्याय र घिमिरेले प्राप्त गर्ने सम्पूर्ण रकम समाज विज्ञान अध्ययन गर्ने संस्था प्रा. चैतन्य मिश्र समाज विज्ञान प्रतिष्ठानलाई प्रदान गरिनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७३ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?