कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरबार ढल्यो, गीत हरायो

मेनुका ढुंगाना

अछाम — एकताका अछामीका मुखमै झुन्डिएको हुन्थ्यो यो देउडा भाका । जब ऐतिहासिक महत्त्वको अछाम दरबारको पूर्वी मोहडाको कलात्मक झ्यालमा घाम पर्न छोड्यो, गीत पनि बिलायो । अछाम आक्रमणका क्रममा २०५८ फागुन ४ गते तत्कालीन नेकपा माओवादीले दरबार ध्वस्त पारेका थिए ।

दरबार ढल्यो, गीत हरायो

मंगलसेन दरबार झ्याल उनी घाम पड्यो
कै बाटा चिठी आयो, का जाने काम पड्यो

केही दिनसम्मै ध्वस्त दरबारका भग्नावशेष पन्छाउँदै स्थानीयले मृतक कर्मचारीका शव खोजेका थिए । ती दृश्य बिस्तारै विस्मृतिमा गइसके । तर, त्यो ऐतिहासिक दरबार भने स्थानीयले भुलेका छैनन् । उनीहरू ‘पुर्खासँग जोडिएको’ चिनो फेरि ठडिएको हेर्न चाहन्छन् । पुनर्निर्माण थालिएको ९ वर्ष बितिसक्दा पनि अझै अपूरो छ ।

‘बिहानको घामको पहिलो झुल्को नै मंगलसेन दरबारको पूर्वपट्टिको झ्यालमा पथ्र्यो । त्यही भएर पनि यो गीत बनेको हो,’ मंगलसेनका स्थानीय उदयराम सुवेदीले भने, ‘ध्वस्त दरबार पुनर्निर्माण थालेको लामो समय बितिसक्दा पनि अझै सकिएको छैन । त्यो गीत ब्युँताउन पनि दरबार बन्नुपर्छ ।’

दरबार ध्वस्त भएको करिब १५ वर्ष पुग्यो । पुनर्निर्माणमै लामो समय खर्च भइसक्यो । लापरबाहीले काम अधुरै छ । यस्तो दृश्य देख्दा त्यहाँ पुग्ने जोकोहीको मन कटक्क खान्छ । पुरानै स्वरूपमा पुनर्निर्माण थालिए पनि ठेकेदारको लापरबाहीले अधुरै रहेको हो । आवश्यक काठको अभाव देखाएर ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । राजेन्द्र साउद, तुल्छी दुर्गा, बडिमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले २ करोड २५ लाखमा ठेक्का लिएका थिए । केही कम्पनीले रकम भुक्तानी लिएर बीचमै काम छाडे । हाल निर्माणको जिम्मा लिएका राजेन्द्र र साउद कन्स्ट्रक्सनले पनि कामलाई गति दिन सकेका छैनन् । पुरानै संरचनाअनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलब्ध नभएकाले निर्माणमा ढिलाइ भएको ठेकेदारको भनाइ छ ।

अछाम दरबारमा सुरुमा जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालतलगायत कार्यालय सञ्चालनमा थिए । सदरमुकाम आक्रमणका बेला भने त्यहाँ जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालन थियो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो । क्याप्टेनसहित ५३ जनाको तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो । ५९ प्रहरी, निजामतीका २ र सर्वसाधारण ८ गरी मंगलसेनमा १ सय २२ को ज्यान गएको थियो । माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरेको थियो । विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ प्रहरी पनि त्यसै रात मारिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मा निर्माणसम्बन्धी सम्पूर्ण फाइल लगेर अनुसन्धान गरिरहेको छ । ऐतिहासिक दरबार निर्माणको कार्य रोकिनु दु:खद भएको तत्कालीन अछामी राजाका सन्तानमध्येका वीरेन्द्रबहादुर शाहले बताए । ‘इतिहास बोकेको दरबारलाई अलपत्र देख्दा मन दुख्छ, यो सबैको सम्पत्ति हो,’ उनले भने ।

प्रकाशित : फाल्गुन १४, २०७३ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?