कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ सम्झौताको औचित्य छैन : विज्ञ

चेतनाथ आचार्य

बेइजिङ — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिने चिनियाँ बुद्धिजीवीहरूले बताएका छन् । विशेषत: गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका सम्झौताको कार्यान्वयनमा प्रधानमन्त्री दाहालको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव पनि उनीहरूको छ । भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपालको तयारीमा भर पर्ने बताएका छन् ।

नयाँ सम्झौताको औचित्य छैन : विज्ञ

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिने चिनियाँ बुद्धिजीवीहरूले बताएका छन् । विशेषत: गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका सम्झौताको कार्यान्वयनमा प्रधानमन्त्री दाहालको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव पनि उनीहरूको छ ।

भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपालको तयारीमा भर पर्ने बताएका छन् । चिनियाँ राज्यपरिषदको अधीनमा रहेको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था (सीआईसीआईआर)को एसिया तथा ओसियानिक विभागका निर्देशक प्राध्यापक हु सिसेङले नेपालमा चिनियाँ सहयोग र लगानीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

नयाँ संविधानको कार्यान्वयन र स्थानीय निकायको निर्वाचनसँगै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल लाग्नुपर्ने अवस्थामा नेपाललाई चाहिएको सहयोग गर्न चीन तयार रहेको उनले औंल्याए । नेपाल आर्थिक विकासमा केन्द्रित हुनुपर्ने र त्यसले चिनियाँ लगानीकर्तालाई आकर्षित गर्ने तर नेपाल सधैँ आन्तरिक राजनीतिक द्वन्द्वमा फसेको अवस्था रहँदा चीनलाई चिन्ता लागेको उनले बताए । ‘यो संक्रमणकाल तुरुन्तै सकियोस् भन्ने चीनको चाहना छ,’ उनले कान्तिपुरलाई भने, ‘स्थिरता र शान्ति भयो भने नेपालले आर्थिक विकासमा चाँडै फडको मार्न सक्छ र नेपालमा चिनियाँ रेल गुड्न सक्छ ।’

प्रधानमन्त्री दाहालको चीन भ्रमणले गतवर्ष तत्कालीन प्रधानमन्त्री ओलीले गरेका सम्झौताहरूको कार्यान्वयन नै दुई देशबीचको सम्बन्धको मुख्य विषय रहनुपर्ने उनले जोड दिए । ‘म आशा गर्छु नेपालका प्रधानमन्त्री दाहालको भ्रमण उपलब्धिमूलक बन्नेछ,’ उनले थप प्रस्ट पार्दै भने, ‘नेपालको तयारी र इच्छामा सबै कुरा निर्भर छ ।

चीनले त सधैं नै नेपाललाई सहयोग गर्ने बताउँदै आएको छ । दाहालको भ्रमणले आगामी मे महिनामा चीनले आयोजना गर्ने ‘बेल्ट एन्ड रोड शिखर मञ्चमा नेपालको उपस्थिति बन्ने आशा पनि उनले प्रकट गरे ।’ चीनको हपेई विश्वविद्यालयमा स्थापित नेपाल अध्ययन केन्द्रका निर्देशक सहप्राध्यापक चाङ सुबिनले प्रधानमन्त्री दाहालले नयाँ सम्झौता गर्नुभन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गरे ।

यसअघिका सम्झौतालाई कार्यान्वयन नगर्दा चीन असन्तुष्ट रहेको बताउँदै भने, ‘तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग ऐतिहासिक र महत्त्वपूर्ण सम्झौता गरे तर उनलाई विस्थापित गरेका दाहालले ती सम्झौतालाई बेवास्ता गरे । ती सम्झौताहरू अहिले बेवारिसे बनेका छन् । अब दाहालले पनि सम्झौता गरे भने उनीपछि आउने देउवाले उसैगरी बेवास्ता गर्नेछन् । त्यसकारण नयाँ सम्झौता गर्नुको कुनै औचित्य मैले देखेको छैन ।’ नेपालमा चिनियाँ लगानीको सुरक्षा हुनुपर्ने र चिनियाँ कम्पनीलाई निर्वाध रूपमा काम गर्न दिनुपर्ने उनको विचार छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?