कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाले भने– ‘एमालेकै बखेडाले निर्वाचन असहज भयो’

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा एमालेले गरेको बखेडाकै कारण स्थानीय तहको निर्वाचन गराउन असहज स्थिति उत्पन्न भएको बताएका छन् । मधेसलाई नेपाली जनता नै नठान्ने एमालेको प्रवृत्तिकै कारण निर्वाचन असहज भएको देउवाको भनाइ छ ।

देउवाले भने– ‘एमालेकै बखेडाले निर्वाचन असहज भयो’

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा एमालेले गरेको बखेडाकै कारण स्थानीय तहको निर्वाचन गराउन असहज स्थिति उत्पन्न भएको बताएका छन् ।

मधेसलाई नेपाली जनता नै नठान्ने एमालेको प्रवृत्तिकै कारण निर्वाचन असहज भएको देउवाको भनाइ छ । गिरिजाप्रसाद कोइरालाको ७ औं स्मृति दिवसका अवसरमा जेपी फाउन्डेसनद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै देदेउवाले भने, ‘मधेसलाई अविश्वासमा राखेर न त राष्ट्रिय एकता हुन सक्छ न राष्ट्रियता नै बलियो हुन्छ ।’

देउवाले आगामी माघ ७ सम्म भनिए पनि मौसमका कारण मंसिरभित्रै तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यसका लागि सहज बाटो तय गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । ‘निर्वाचनलाई सहज बनाउनुभन्दा एमालेले बखेडा झिकेर अप्ठ्यारो पारेको छ,’ देउवाले भने, ‘देशको सीमा सुरक्षा गरेर बसेका मधेसी जनतालाई अविश्वास गरेर राष्ट्रियता बलियो हुन सक्दैन ।’

उनले लुगा अलग लाउँदैमा मधेसी जनतालाई विदेशी ठान्ने एमालेको प्रवृत्तिले पहाड र मधेसीबीचमा मनोवैज्ञानिक विभाजन कोर्ने काम गरेको बताए । ‘संसद्मा रहेको संविधान संशोधन प्रस्तावले मधेसलाई जोड्छ । यो पास भए तीनै तहको निर्वाचन सहज ढंगले हुन्छ,’ उनले भने, ‘हाम्रो प्रयास पारित गराउनेमै छ । तर हामीसँग दुई तिहाइ मत छैन ।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव दुई तिहाइबाट पारित हुने अवस्था नभएको बताउँदै सीमांकनबाहेकका विषयमा सहमति जुटाउन सकिने बताए । ‘मधेसी मोर्चाले भन्छ भने हामी सीमांकनसहितको संशोधन प्रस्ताव टुंगोमा पुर्‍याउन तयार छौं, दुई तिहाइ पुग्दैन भन्ने हो भने सीमांकनबाहेकका विषयलाई पनि अघि बढाउन तयार छौं ।’

माओवादी केन्द्रका नेता अमिक शेरचनले स्वर्गीय गिरिजाप्रसाद कोइराला निडरमात्रै नभएर सच्चा देशभक्त रहेको बताउँदै अहिलेको राजनीतिलाई सही मार्गमा डोर्‍याउन कांग्रेस नेतृत्वले गिरिजाप्रसादकै बाटो पछ्याउन आवश्यक भएको बताए । समारोहमा शेरचनले कोइरालाको प्रशंसा मात्रै गरेका थिए ।

गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकै कारण नेपालमा संक्रमण तन्किएको बताउँदै शेरचनले भने, ‘अहिले देखिएको समस्या समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवाले गिरिजाप्रसादको जस्तै भूमिका खेल्नुपर्छ ।’

नेकपा (माले)का अध्यक्ष सीपी मैनालीले निर्वाचनको पक्षमा माहोल खडा भइरहेका बेला मधेसी मोर्चाले बिथोल्न खोज्नुले उनीहरूको (मोर्चा) लोकतन्त्रप्रतिको प्रतिबद्धतामा शंका उब्जिएको बताए । ‘सरकारको खुट्टा ठाउँ–ठाउँबाट बाँधिएको होला,’ मैनालीले भने, ‘खुट्टा खुस्किएन भने निर्वाचन अवश्य हुन्छ ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले प्रमुख प्रतिपक्षी एमाले जिम्मेवार ढंगले अघि बढ्नुको साटो समाजलाई धु्रवीकरण गर्ने दिशामा अघि बढदा समस्या उत्पन्न भएको बताए । एमालेले खडा गरेको ध्रुवीकरणलाई चिरेर संसदको ठूलो पार्टीको हैसियतले कांग्रेसले समस्याको समाधान दिनुपर्ने झाले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले एमाले र मधेसी मोर्चा दुवै अतिवादी धारमा अघि बढेको आरोप लगाउँदै कांग्रेसले दुवै शक्तिलाई समन्वय गरेर अघि बढ्ने बताए ।

‘यी दुवै अतिवादीबाट समस्याको समाधान हुन सक्दैन, शर्माले भने, ‘सरकारबाट हटेका बेला माओवादीलाई राष्ट्रियताको ठूलो भ्रम थियो । अहिले केपी ओली र एमालेलाई त्यस्तै भ्रम परेको छ ।’ कार्यक्रममा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, सांसद जगदीशनरसिंह केसी, नेविसंघ अध्यक्ष नैनसिंह महरलगायतले पार्टी नेतृत्व निर्णायक र जिम्मेवार बन्न आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित : चैत्र ७, २०७३ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?