कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैशाख ३१ गते कुनैपनि हालतमा चुनाव हुन्छ : आयुक्त पौडेल

'याे चुनाव राजा ज्ञानेन्द्रले गराए जस्ताे हाेइन'
अगन्धर तिवारी

पर्वत — स्थानीय तहको निर्वाचन आउन ठीक एक महिना बाँकी रहेको बेला निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचनका विषयमा शंका नगर्न सबैलाई आग्रह गरेका छन् । आयोगले निर्वाचनको ९० प्रतिशत तयारी सकेको भन्दै आयुक्त पौडेलले तराइमा सेना परिचालन, दुई चरणको निर्वाचन, निर्वाचन नहुने लगायतका आधारहिन कुराको पछि नलाग्न आग्रह गरे ।

बैशाख ३१ गते कुनैपनि हालतमा चुनाव हुन्छ : आयुक्त पौडेल

स्थानीय तहको निर्वाचन आउन ठीक एक महिना बाँकी रहेको बेला निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचनका विषयमा शंका नगर्न सबैलाई आग्रह गरेका छन् ।

आयोगले निर्वाचनको ९० प्रतिशत तयारी सकेको भन्दै आयुक्त पौडेलले तराइमा सेना परिचालन, दुई चरणको निर्वाचन, निर्वाचन नहुने लगायतका आधारहिन कुराको पछि नलाग्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले आयोजना गरेको अन्तरकृयामा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘बैसाख ३१ गते कुनै जुठोसुत्केरो पर्दैन । ठुक्क हुनुस् । यो डिमाण्डबेस निर्वाचन हो ।’ दुई चरण र तराइमा सेना परिचालन गरेर निर्वाचन गर्ने मनस्थीतिमा आयोग नरहेको उनले बताए ।

‘संवैधानिक परिषदको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपतिले अनुमति दिएपछि मात्रै सेनालाई प्रयोगमा ल्याउने हो,’ उनले भने, ‘सेनाले गस्ती, हवाइगस्ती गरेर मतदातालाई सुरक्षाको अनुभुति दिलाउन मात्रै सेनाको प्रयोग गर्न सकिने कुरा गरिएको हो । मतदानस्थलमा प्रहरी मात्रै हुन्छन् ।’

तराई क्षेत्रमा बढी सुरक्षा चाहिएमा हवाइ र स्थल गस्तीका लागि आवश्यक भए मात्रै सेनाको सहयोग लिन सकिने कुरा आयोगले गरेकोले यसलाई नबंग्याउन उनले आग्रह गरे ।

आयुक्त पौडेलले विगत कोट्याउँदै अहिलेको निर्वाचन जनताले मनदेखि नै चाहेको हुनाले कुनै पनि बाहनामा नरोकिने दाबी गरे । ‘हिजो राजा ज्ञानेन्द्रले गरेकोजस्तो यो चुनाव होइन । २० वर्षदेखि जनप्रनिनिधिविहिन भएको स्थानीय तहका जनताले चाहेको ‘डिमाण्डबेस’ चुनाव हो,’ उनले भने ।

आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले आयोगले हरेक दिनको कार्यतालिका बनाएर काम गरिरहेकोले सोहिअनुसार निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।

प्रकाशित : चैत्र ३१, २०७३ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?