कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयरपोर्टमा अवतरणका लागि पालो नपाएपछि गोमाको जहाज रामेछापमा

टीकाप्रसाद भट्ट

रामेछाप — लुक्ला-काठमाडौं उडानमा रहेको गोमा एयरको जहाज त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल (एयरपोर्ट)मा अवतरणका लागि पालो नआउँदा रामेछाप विमानस्थलमा अवतरण गराइएको छ ।

एयरपोर्टमा अवतरणका लागि पालो नपाएपछि गोमाको जहाज रामेछापमा

अवतरणका लागि आकाशमा केहीबेर होल्ड भएको 9N-AKZ साइन भएको जहाज इन्धन सकिने डरले रामेछाप विमानस्थल फर्काइएको हो । काठमाडौं टावरले झण्डै एक घण्टा उक्त जहाजलाई होल्डमा बस्नका लागि निर्देशन दिएपछि चालकले विमानलाई रामेछाप विमानस्थलमा अपरान्ह १२.२४ अवतरण गराएका हुन् । लुक्लाबाट उक्त जहाज १२.०१ मा काठमाडौंका लागि उडेर काभ्रेको आकाशमा पुगेपछि रामेछाप फर्किएको हो । जहाजमा १८ जना विदेशी नागरिक यात्रा गरिरहेका थिए । लुक्लाबाट काठमाडौंका लागि उडेको तारा एयरको अर्को जहाज फाप्लु विमानस्थलमा फर्किएको जनाइएको छ ।

रामेछाप विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर प्रल्हाद निरौलाका अनुसार काठमाडौं विमानस्थलमा लामो समयसम्म उडान र अवतरणका लागि पालो कुर्नुपर्ने बाध्यता छ । त्यस्तो अवस्थामा पूर्वी पहाडी जिल्लाबाट काठमाडौंका लागि उडानमा रहेका जहाजहरु रामेछाप विमानस्थलमा ओरालेर प्रतिक्षा गर्ने गर्छन् । रामेछाप विमानस्थल काठमाडौंबाट पूर्वी पहाडको सवैभन्दा नजिक पर्छ ।

लामो उडान तय गर्ने जहाजमा काठमाडौं विमानस्थल व्यस्त हुँदा इन्धन सकिने त्रास हुन्छ । रामेछाप विमानस्थलमा नेपाल आयल निगमले इन्धन रिफ्यूलिङ सेवा समेत सञ्चालन गरेकोले विमानस्थलमा अवतरण गर्दा जहाजले इन्धन समेत भर्ने गरेका छन् ।

रामेछाप विमानस्थल कालोपत्रे भए पनि रामेछापबाट भने कुनै पनि वायु सञ्चालकहरुले उडान गरेका छैनन् । विमानस्थल कालोपत्रे भएको १० महिना बितिसकेको छ । साविकमा तारा एयरले सातामा एक दिन काठमाडौं–रामेछाप उडान गर्ने गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७४ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?