कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

५५ घरलाई एउटै शौचालय !

सिन्धुपाल्चोक — गत वर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरामा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा–व्यथा हो । माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ– दिसापिसाब व्यवस्थापन ।

५५ घरलाई एउटै शौचालय !

भूकम्पले घरसँगै शौचालय पनि भत्काएपछि माझीगाउँले खुला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । धेरैपछि गैरसरकारी संस्थाको सहयोगमा गाउँमा एउटा सार्वजनिक शौचालय बनेको स्थानीय कमल माझीले बताए । ‘५५ घरका लागि एउटा शौचालय छ, पालो कुरेर साध्यै छैन,’ उनले भने । दिशापिसाब गर्न धेरैजसो नजिकैको इन्द्रावती खोलाको बगर र झाडीतिर जाने गरेको माझीले सुनाए ।

हरेक दिन बिहान श्रीमान माझीलाई एउटै चिन्ता हुन्छ– गाउँको शौचालयमा कति लामो लाइन होला, कतिबेर पर्खिनुपर्ने हो ? यो चिन्ता पनि सिंगो माझीगाउँलेकै हो । शौचालयअगाडि लामो लाइन लागेको दिन नजिकैको जंगलतिर पस्ने गरेको श्रीमान माझीले सुनाए । ‘बल्लबल्ल पालो पाए पनि छिर्नै मन लाग्दैन, बच्चाहरूले बेस्सरी फोहोर गरिदिएका हुन्छन्,’ उनले भने, ‘पानी नभएर उस्तै, बाध्य भएर जंगलतिर पस्छु ।’

खुला दिसापिसाबका कारण माझीगाउँ दिनानुदिन दुर्गन्धित हुँदै गएको शिक्षक प्रकाश पराजुलीले बताए । ‘खोलाको छेउछाउ र बाटोछेउका जंगलतिर त दिसैदिसा भइसक्यो,’ उनले भने, ‘त्यताको बाटो हिँड्नै सकिन्न ।’

०७१ मा माझीगाउँलाई सरकारले खुला दिसामुक्त गाउँ घोषणा गरेको थियो । भूकम्पपश्चात् माझीगाउँलगायत नजिकका झाडी, सागाचोक, एक्ले, जामुने बोर्डगाउँका बासिन्दा शौचालय अभावमा खुला ठाउँमा दिसा गर्न बाध्य भएको शिक्षक पराजुलीले बताए ।

नजिकैको खोला र जंगलले खुला दिसालाई बढावा मिलिरहेको इन्द्रावती गाउँपालिकाका वडा सचिव भक्तराम श्रेष्ठले बताए । ‘फेरि खुला दिशापिसाबको असरबारे यहाँका बासिन्दा त्यति सचेत पनि छैनन् ।’ श्रेष्ठले भने, ‘चेतना बढाउन सरकारले वास्ता देखाएको पनि छैन ।’

५५ घरधुरीले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण सचेतहरू पनि खुला ठाउँमा दिशापिसाब गर्न जाने गरेको स्थानीय कमल माझीले सुनाए । ‘माथिल्लो गाउँका जंगलतिर पस्छन्, तल्लो गाउँका खोलातिर झर्छन् ।’ उनले भने ।

बीचतिरका केही धुरी घरका सदस्यले मात्रै गाउँको शौचालय प्रयोग गर्ने गरेको शिक्षक पराजुलीले बताए । ‘अरूले त चाहेर पनि यो शौचालय प्रयोग गर्न पाउँदैनन् ।’ उनले भने ।

भूकम्पपछि रोगी थपिएको माझीगाउँमा खुला दिसापिसाबले अझ कति रोग फैलाउने हो ? शिक्षक पराजुलीलगायत माझीगाउँका सचेत व्यक्तिहरूले चिन्ता व्यक्त गरे ।

प्रकाशित : वैशाख ८, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?