कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'चुनावमा विप्लव समूहका गतिविधि प्रमुख सुरक्षा चुनौती'

गृहमन्त्रीसँग सुरक्षा प्रमुखहरुको ब्रिफिङ
नगेन्द्र अधिकारी

काभ्रे — मध्यमाञ्चल विकास क्षेत्रभित्रका पहाडी जिल्लाका सुरक्षा प्रमुखले निर्वाचन विथोल्ने घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको चुनावविरोधी गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेका छन् ।

'चुनावमा विप्लव समूहका गतिविधि प्रमुख सुरक्षा चुनौती'

धुलिखेलमा सम्पन्न सुरक्षा गोष्ठीमा सहभागी पहाडी ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा राखे । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली जिल्लाका सुरक्षा अधिकारीहरुले त्यस्ता गतिविधि नियन्त्रण गर्न चनाखो रहनुपर्ने धारणा राखेका हुन् । ‘विप्लव समूहको चुनावविरोधी गतिविधि नै सबै जिल्लाका सुरक्षा अधिकारीले चुनौतीका रुपमा लिएका छन्,’ गोष्ठीमा सहभागी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ब्रिफिङ गर्दै क्षेत्रीय प्रशासक शम्भु कोइरालाले भने, ‘सबै जिल्लाहरुले एकै खाले चुनौती रहेको बताएका छन् ।’

सहभागीले विप्लपका अलावा चुनाव चिह्न नपाएका राजनीतिक दलहरुको विरोध, तराईका सशस्त्र समूह, अन्य अपराधिक समूहबाट सुरक्षा चुनौती रहेको धारणा राखेका थिए । धम्की, मनोवैज्ञानिक त्रास फैलाउने, उम्मेदवारीको लागि अवरोध, मतदान सामाग्री नष्ट, कर्मचारीलाई कालोमोसो, निर्वाचन गतिविधि सञ्चालन हुन नदिनेलगायतका काम हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने धारणा राखेका थिए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान तथा गृहमन्त्री निधिले निर्वाचन विथोल्ने जोकोहीका विरुद्ध कडाईका साथ प्रस्तुत हुने बताए । उनले मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन कृयाशील रहेको जानकारी गराउँदै कुनै पनि हालतमा निर्वाचन नसर्ने दाबी गरे ।

सहभागी ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै निर्वाचन परिचालनका लागि सवारी साधन र जनशक्ति अपर्याप्त भएको जानकारी गराएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । रसुवा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा थप सुरक्षा चुनौती हुने औंल्याएका थिए । तराईसँग सिमाना जोडिएको जिल्ला सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले मधेसका राजनीतिक दलबाट चुनौती नरहेको भन्दै दलहरुका बीचमा हुने अस्वस्थ प्रतिस्पर्धा नै सुरक्षा चुनौती भएको बताए ।

गृहसचिव लोकदर्शन रेग्मीले थप सवारी साधन आवश्यकताअनुसार प्रयोग गर्न निर्देशन दिँदै त्यसको लागि बजेट विनियोजन हुने जानकारी दिए । उनले हवाइ गस्ती, निर्वाचन सामाग्री ढुवानी आदिका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी समेत दिए ।

वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षा निकायलाई थप स्पष्ट बनाउन सुरक्षा गोष्ठी आयोजना गरिएको सुरक्षा व्यवस्था महाशाखा प्रमुख समेत रहेका प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका उपरथी विनोद श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीलगायतका सुरक्षा अधिकारी सहभागी थिए । १० गते मधेसका ८ जिल्लाको सुरक्षा बैठक सिमरामा हुँदैछ ।

प्रकाशित : वैशाख ८, २०७४ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?