कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार तोकिए, गाउँ चुनावमय

स्थानीय तह चुनावका लागि एमाले र माओवादी केन्द्रले बझाङ, डोटी, सिन्धुली र सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । टिकटका लागि सदरमुकाम धाइरहेका आकांक्षी उम्मेदवारी टुंगोसँगै प्रचारप्रसारका लागि गाउँ पसेका छन्
कान्तिपुर टिम

चितवन — निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । महानगरपालिका, नगरपालिकाका वडा र गाउँपालिकामा उम्मेदवार टुंगो लागेसँगै भोट माग्दै गाउँ पस्नेको लर्को लाग्न थालेको छ । लामो समयपछि गाउँमा चुनावी माहोल बनेको छ । मतदाता उत्साहित छन् । झन्डा बोकेर गाउँमा उम्मेदवार दलबलसहित पुग्ने गरेका छन् । अहिले घर/घर पुगेर भोट माग्न उम्मेदवारबीच प्रतिस्पर्धा चलेको छ ।

उम्मेदवार तोकिए, गाउँ चुनावमय

युवादेखि पाका उमेरकासम्म भोट माग्दै हिँड्न थालेका छन् । मुख्य ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रले इच्छाकामना गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएकाले वडा/वडामा उम्मेदवार भोट माग्न व्यस्त छन् । कांग्रेसले इच्छाकामना गाउँपालिका प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा कीर्तिकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले प्रमुखमा नारायणप्रसाद अधिकारी र उप प्रमुखमा जुनाराज भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रले प्रमुखमा प्रताप गुरुङ र उपप्रमुखमा सावित्रा सिलवाललाई अघि सारेको छ ।

गाउँपालिकामा विकट वडा भएकाले कतै गाडी चढेर त कतै पैदल हिँडेर भोट माग्न उम्मेदवार पुग्ने गरेका छन् । दुई दशकपछि हुन लागेको निर्वाचनले गर्दा जनता उत्साहित छन् । खुसी हुँदै उम्मेदवारलाई गाउँमा स्वागत गरिरहेका छन् । ‘जनता भोट हाल्ने दिन कुरेर बसेका छन्,’ कांग्रेसबाट उम्मेदवार बनेकी गुरुङले भनिन्, ‘अहिले जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छु, जनताले विकासको माग गरिरहेका छन् ।’ उनले पहिलो चरणमा सबै वडामा पुगेर भोट मागिन् । अब दोस्रो चरणमा पुन: गाउँ घुम्दैछिन् । एमाले उम्मेदवार अधिकारी पाका र खारिएका छन् । लामो समय गाउँमै शिक्षण पेसा गरेकाले उनी गाउँघरको भौगोलिक अवस्थाबारे जानकार छन् । ‘चुनावले जनता खुसी छन्,’ उनले भने, ‘सबैको चाहना गाउँका समस्या हटुन् र विकासको अनुभूति गर्न पाइयोस् भन्ने छ ।’

यो गाउँपालिकामा ३ ठूला दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विकट भएकाले गाउँलेको अपेक्षा विकास नै छ । ‘सबै वडामा भोट माग्दै पुगियो,’ माओवादी केन्द्रका उम्मेदवार प्रताप गुरुङले भने, ‘जनता उत्साहित छन्, गाउँको विकास गर्नुपर्ने माग छ ।’ चुनावले गर्दा जनता भोट हाल्ने दिन पर्खेर बसेको उनले सुनाए ।

एमालेले उम्मेदवार टुंगो लगायो
बझाङ– स्थानीय तह चुनावका लागि एमालेले बझाङमा उम्मेदवार टुंगो लगाएको छ । १२ वटै स्थानीय तहमा उम्मेदवार छनोट भएका हुन् । प्रदेश र जिल्ला कमिटीले सबै पदहरूमा उम्मेदवार तोकेको एमालेले जनायो । उम्मेदवार तोकिएका काँडा गाउँपालिका अध्यक्षमा मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङको नाममा सहमति जुटेको छ । जयपृथ्वी नगरपालिकाका प्रमुखमा शिक्षण सेवाबाट राजनीतिमा आएका वीरेन्द्र खडका र उपप्रमुखमा महिला अधिकारकर्मी जुना जाग्री प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला कमिटी सचिवालय सदस्य सुरतबहादुर सिंहका अनुसार मष्टा गाउँपालिका अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा, तल्कोटमा अध्यक्ष लालबहादुर विष्ट र उपाध्यक्षमा धनलक्ष्मी खत्री उम्मेदवार बनेका छन् । छान्नाको अध्यक्षमा मिश्र रोकाया र उपाध्यक्षमा पाउसरा थापालाई अघि सारेको छ ।

बुंगल नगरपालिका प्रमुखमा धनबहादुर बोहरा र उपप्रमुखमा मेनुका कुँवर, थलारा गाउँपालिका अध्यक्षमा भुवनेश्वर उपाध्याय र उपाध्यक्षमा गंगुदेवी खडायत, बिथ्थड चीर गाउँपालिका अध्यक्षमा प्रेम बोहरा र उपाध्यक्षमा जानकी बोहरा तथा केदारस्यू गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर भण्डारी र उपाध्यक्षमा निशा धामीलाई उम्मेदवार बनाएको हो ।

छबिस पाथीभेरेको अध्यक्षमा अक्कल धामी र उपाध्यक्षमा राधिका रताला (जोशी), दुर्गाथलीमा अध्यक्ष प्रयागराज जोशी र उपाध्यक्षमा पार्वती जप्रेल तथा सुर्मा गाउँपालिका अध्यक्षमा शेरबहादुर बोहरा र उपाध्यक्षमा माता बोहरालाई टिकट दिएको छ । जिल्लाका ९४ वडाका वडाध्यक्ष र सदस्य उम्मेदवार तोक्ने काम शनिबार नै सम्पन्न गरिएको छ । टुंगो लागेपछि उम्मेदवार मत माग्न गाउँ पसिसकेको एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंहले बताए । प्रदेश कमिटी सदस्यसमेत रहेका उनले योग्यता, क्षमता र योगदानका आधारमा उम्मेदवार तोकिएको बताए ।

एउटामा मात्रै बाँकी
डोटी– एमाले डोटीले पनि स्थानीय तहका प्रमुख पदका उम्मेदवारको टुंगो लगाएको जनाएको छ । शनिबार बसेको ७ नं. प्रदेश कमिटीले २ नगरपालिका र ६ गाउँपालिकाको टुंगो लगाएको हो । ७ गाउँपालिका रहेको डोटीमा आदर्श गाउँपालिकाको टुंगो लगाउन बाँकी छ ।

सबै दलको मुख्य चासोका रूपमा रहेको दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा मञ्जु मलासी र उपप्रमुखमा शिवराज खड्कालाई छनोट गरिएको छ । शिखर नगरपालिका प्रमुखमा शेरबहादुर मल्ल र उपप्रमुखमा राधिका बोहरालाई छनोट गरिएको छ । यस्तै सायल गाउँपालिका अध्यक्षमा तेजबहादुर डुम्रेल र बोगटान गाउँपालिका अध्यक्षमा टेकबहादुर बमले टिकट पाएका छन् ।

दुर्गादत्त ओझाले जोरायल गाउँपालिकामा टिकट पाएका छन् । बड्डी केदार गाउँपालिकामा भक्त बहादुर साउदले अध्यक्षको टिकट पाएको एमालेले जनायो । केआइसिंह नगरपालिका प्रमुखमा एमाले डोटीका अध्यक्ष यज्ञराज जोशीे उम्मेदवार हुनेछन् । आदर्श गाउँपालिकामा टेकबहादुर रोकाया र नयनसिंह खड्कामध्ये कसलाई टिकट दिने भन्ने टुंगो लाग्न नसकेको स्रोतले बताएको छ ।

उपप्रमुख पदमा सबै महिला
जाजरकोट– स्थानीय तह चुनावका लागि यहाँका प्रमुख दलहरूले उम्मेदवार टुंगो लगाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगायत अन्य पदका प्रत्यासी तोकेका हुन् । महिलालाई उपप्रमुखमा सीमित गरिएको छ ।
कांग्रेसले भेरी नगरपालिका प्रमुखमा सनत कुमार कार्की र उपप्रमुखमा धनाकुमारी चपाई, छेडागार नगरपालिका प्रमुखमा रत्नबहादुर खडका र उपप्रमुखमा रेश्मा शाही तथा त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा प्रकाश पन्त र उपप्रमुखमा धनमाया शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शिवालय गाउँपालिका प्रमखमा खड्क बीसी र उपप्रमुखमा गीताकुमारी शाही, जुनीचाँदे गाउँपालिका प्रमुखमा सर्पराज रावत र उपप्रमुखमा तुलसीदेवी बस्नेत, कुशे गाउँपालिकाको प्रमुखमा हरिचन्द्र बस्नेत र उपप्रमुखमा रामछाया शाहीलाई तथा बारेकोट गाउँपालिका प्रमुखमा महेन्द्रबहादुर शाह र उपप्रमुखमा कालु ज्योतिलाई उम्मेदवार तोकेको छ ।

यस्तै, माओवादी केन्द्रले भेरी नगरपालिका प्रमुखमा ढकवीर राना र उपप्रमुखमा पार्वती विक, छेडागार नगरपालिका प्रमुखमा चन्द्रबहादुर थापा र उपप्रमुखमा धर्मशिला बस्नेत, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा टेकबहादुर रावल र उपप्रमुखमा बालकुमारी बस्नेतलाई उम्मेदवार तोकेको छ । बारेकोट गाउँपालिको प्रमुखमा तिलक रावत र उपप्रमुखमा उमा शाही, कुशे गाउँपालिका प्रमुखमा जनकराज गौतम र उपप्रमुखमा अम्बिका बस्नेत, जुनीचाँदे गाउँपालिकाको प्रमुखमा कृष्णबहादुर केसी र उपप्रमुखमा शिवा बस्नेत तथा शिवालय गाउँपालिकाको प्रमुखमा लालबहादुर थापा र उपप्रमुखमा लक्ष्मी केसीलाई उम्मेदवार छानेको छ ।

एमालेले त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा नवेन्द्र नेपाली र उप्रमुखमा सुनिता बोहरा, छेडागार नगरपालिका प्रमुखमा लालबहादुर महतारा र उपप्रमुखमा सरिता वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी, बारेकोट गाउँपालिकाको प्रमुखमा मिमबहादुर सिंह र उपप्रमुखमा गीता सिंह, शिवालय गाउँपालिका प्रमुखमा नरेन्द्रबहादुर शाही र उपप्रमुखमा कुमारी थापा तथा जुनीचाँदे गाउँपालिका प्रमुखमा वेदबहादुर शाही र उपप्रमुखमा अम्बा शाहलाई उम्मेदवार बनाई प्रचासप्रसार सुरु गरेको छ ।


भोट खसाल्न तीन दिन !
 अर्जुन शाह
बाजुरा– नयाँ संरचनाअनुसार गाउँपालिकाको केन्द्र कायम गरिँदा साबिकको बिच्छ्याँ गाविसवासी मर्कामा परेका छन् । तोकिएको केन्द्र बाँधु धुलाचौर पुग्न उनीहरूलाई दुई दिन लाग्छ । अपायक ठाउँमा केन्द्र तोकिएको भन्दै उनीहरूले विरोध पनि गरे तर हालसम्म सुनुवाइ भएन ।
अहिले फेरि बिच्छ्याँ गुम्बाका बासिन्दा थप समस्यामा परेका छन् । उनीहरूलाई स्थानीय निर्वाचनमा भोट हाल्न अघिल्लै दिन मतदान केन्द्र पुगेर बस्नुपर्ने भएको छ । उनीहरूका लागि तोकिएको केन्द्र बौडी हो । गुम्बाबाट बौडी पुग्न पूरै एक दिन हिँड्नुपर्छ । ‘मतदान गरेर फर्किन भ्याइँदैन,’ गुम्बाका नरबहादुर गुरुङले भने, ‘आउन–जान र मतदानको दिन गरी तीन दिन लाग्छ ।’

केन्द्र टाढा भएकाले यहाँका महिला र बूढापाकाहरू बिरलै मात्र भोट खसाल्न बौडी आउने स्थानीय प्रेम भण्डारीले बताए । ‘यो हामीप्रतिको हेपाहा प्रवृत्ति हो,’ नेपाल भोटे जनजाति सेवा समितिका पूर्वअध्यक्ष नृप थापा भोटेले भने । गुम्बामा ३० मतदाता रहेका छन् । महिला मतदातालाई झन् समस्या छ । चुलोचौको, बस्तुभाउ र बालबालिका छाडेर उनीहरू त्यति टाढा जानै सक्दैनन् । ‘भोट हाल्नकै लागि तीन दिन छुट्याउनुपर्छ, त्यति बेलासम्म घरपरिवार र केटाकेटी कसको जिम्मा छोड्नु ?’ नरबहादुरले भने ।

नयाँ संरचनामा बिच्छ्याँसहित रुगिन र बाँधुको केही भाग मिलाएर हिमाली गाउँपालिका बनाइएको छ । उक्त गाउँपालिकामा ७ वटा मतदानस्थल र ८ वटा केन्द्र निर्धारण गरिएको छ । हिमाली गाउँपालिकाको कुल मतदाता संख्या ४ हजार ५ सय ७८ रहेको छ । बिच्छ्याँपछि यसै गाउँपालिकाअन्तर्गत नदापाटा मतदान केन्द्रमा आउनुपर्ने क्युडीका बासिन्दालाई समेत उस्तै सास्ती हुने भएको छ । ‘क्युडीबाट नदापाटा पुग्न कम्तीमा ५ घण्टा पैदल हिँड्नुपर्छ,’ रुगिनका शंकर मल्लले भने, ‘क्युडीका मतदातालाई समेत समस्या छ ।’

‘अहिलेसम्म कुनै लिखित गुनासो छैन,’ जिल्ला निर्वाचन अधिकारी सुभद्रा गौतमले भनिन्, ‘म हाजिर हुनुभन्दा अगाडि नै केन्द्र निर्धारणका लागि सिफारिस भएकाले विस्तृत कारण थाहा भएन ।’ जिल्ला स्तरका सबै राजनीतिक दलको सर्वदलीय संयन्त्रले मतदान स्थल निर्धारण गर्ने प्रक्रिया रहेको छ ।

प्रकाशित : वैशाख १२, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?