कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको अपिल– सार्वभौम मताधिकारको प्रयोग गर्नुस्

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावमा सार्वभौम मताधिकारको प्रयोग गर्न अपिल गरेका छन् ।

‘स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीको अपिल– सार्वभौम मताधिकारको प्रयोग गर्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावमा सार्वभौम मताधिकारको प्रयोग गर्न अपिल गरेका छन् ।

‘स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु,’ चुनावको अघिल्लो दिन एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहीत गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमवाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।’

धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरे पनि स्थानीय तहको चुनाव पहिलोपटक भएको प्रधानमन्त्रीको भनाइ छ । ‘हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुँदैछ,’ अपिलमा लेखिएको छ, ‘एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ ।’

समावेशिताको दृष्टकोणले पनि स्थानीय चुनाव ऐतिहासिक रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘यो चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु अनिवार्य रुपमा चुनिएर आँउदै हुनुहुन्छ भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख मध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि ठूलो संख्यामा महिलाहरु चुनिएर आउने अवसरको सिर्जना भएको छ । यो भनेको शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ,’ अपिलमा छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको तथा नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘मूलत: शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्रीले आफ्नो अपिलमा भनेका छन् ।

संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजाति लगायतको सहभागिता गर्न १, २, ५ र ७ नम्बर प्रदेशमा हुने दोस्रो चुनावको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्रीले विशेष अपील गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७४ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?