कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपालाई अपेक्षितभन्दा कम मत

काठमाडौं — व्यवस्थापिका संसदमा चौथो ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षितभन्दा कम मत पाएको छ । मंगलबार रातिसम्म उक्त पार्टीले डोल्पाको २ पदमा बाहेक कतै पनि विजय पाउन सकेको छैन । अन्यत्रको मतगणनामा समेत उक्त पार्टी निकै पछाडि छ । यद्यपि दोस्रो चरणमा परेका क्षेत्रमा परिणाम आफ्नो पक्षमा आउने विश्वास नेताहरूले गरेका छन् ।

राप्रपालाई अपेक्षितभन्दा कम मत

‘पार्टीको प्रभाव बढी मानिने क्षेत्रमा चुनाव दोस्रो चरणमा परेका छन् । हामी हतोत्साही भएका छैनौं,’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले कान्तिपुरसँग भने ।

गत मंसिरमा राप्रपा नेपाल र राप्रपा एक भएपछि पार्टीको चुनाव चिह्न गाई कायम भएको थियो । चुनाव चिह्न हलो हुनुपर्ने भन्दै वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी छोडेका थिए । काठमाडौं उपत्यकामा राप्रपाले पाएको मतसमेत तुलनात्मक रूपमा कम छ । जबकि पछिल्लो संविधानसभा चुनावमा एकीकरण नहुँदैको राप्रपा नेपालले मात्र समानुपातिकतर्फ काठमाडौं उपत्यकाबाट १ लाख ११ हजार मत पाएको थियो । ‘त्यतिबेलाको तुलनामा अहिले हामीलाई मत खसेन,’ श्रेष्ठ भन्छन् ।

एकीकरण भए पनि पार्टीभित्र अन्तर्विरोध कायम भएको, मधेसी मोर्चालाई मनाउन संविधान संशोधन विधेयकप्रति सकारात्मक देखिएको, चुनावका बेला सरकारबाट बाहिर निस्किएको जस्ता कारणले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको टिप्पणी नेताहरूले गर्न थालेका छन् । दोस्रो चरणअन्तर्गत पर्ने झापा, धनगढी, नेपालगन्जसहितका स्थानमा परिणाम अहिलेभन्दा बढी हुने उनीहरू बताउँछन् । 

 

प्रकाशित : जेष्ठ ३, २०७४ ०३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?