कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले-कांग्रेसकै वर्चस्व

काठमाडौं — उपमहानगर र धेरै मतदाता भएका राजधानीका केही नगरपालिकाबाहेक अन्य सबै स्थानको मतगणना करिब सकिने अवस्थामा पुगेको छ । पहिलो चरणमा २ सय ८३ स्थानमा भएको चुनावको २ सय २० भन्दा बढी स्थानीय तहको मतगणना सकिएको छ ।

एमाले-कांग्रेसकै वर्चस्व

पछिल्लो परिणामअनुसार एमाले र कांग्रेसकै वर्चस्व छ । 

दुई दलमध्ये थोरै सिटमा एमाले अगाडि छ भने कांग्रेसले टक्कर दिइरहेको छ । हालसम्मको परिणाम र उनीहरूले लिएको अग्रता हेर्न हो भने दुवै दलले १ सय २० सिटभन्दा बढी जित्ने संकेत देखिएको छ । माओवादी केन्द्रको हालसम्मको परिणाम र अग्रताअनुसार उसको ५० सिट पनि नपुग्ने संकेत छ । 

उपप्रमुखमा एमालेले प्रमुखभन्दा बढी सिट जितिरहेको छ । कांग्रेसले भने प्रमुखभन्दा उपप्रमुख पद कम जितेको छ । प्रमुख पदमा टक्कर भएपछि उपप्रमुखमा एमाले र कांग्रेसबीच फराकिलो अन्तर छ । 

यो चुनावबाट तीन ठूलाबाहेक स्थानीय चुनावको प्रमुख पदमा अन्य तीनवटा दलको उपस्थिति देखिएको छ । राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक/एक स्थानमा प्रमुख जितेका छन् । राप्रपाले धादिङको रुबिभ्याली, राष्ट्रिय जनमोर्चाले बाग्लुङको बरेङ र नयाँ शक्तिले रसुवाको पार्वतीकुण्डमा प्रमुख जितेको छ । राष्ट्रिय जनमोर्चाले बाग्लुङको जैमिनी नगरपालिकामा अग्रता लिएका कारण त्यहाँ जित्ने सम्भावना छ । 

भक्तपुर नगरपालिकामा धेरै मत अन्तरमा नेमकिपाले अग्रता लिएका कारण यो चुनावमा उसको पनि उपस्थिति हुने पक्कापक्की छ । काठमाडौं र ललितपुर महानगरको मतगणनामा वैकल्पिक राजनीतिक शक्तिका रूपमा आउन खोजेका विवेकशील नेपाली र साझा पार्टीले आकर्षक मत ल्याइरहेका छन् । उनीहरूले माओवादी र बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिलाई समेत पछि पारेर मत ल्याइरहेका छन् । मेयर र उपमेयर दुवै पदमा विवेकशील र साझाका उम्मेदवारको कांग्रेस, एमालेपछि तेस्रो स्थानमा मत आइरहेको छ । 

पछिल्लो परिणामअनुसार गोरखा जिल्लाका कांग्रेसले आफ्नो पुरानो शक्ति फिर्ता लिएको छ । ११ वटा स्थानीय तहमध्ये नौवटामा कांग्रेस र दुइटामा माओवादीले जितेको छ । यसअघिका दुइटा संविधानसभाका चुनावमा माओवादीले कांग्रेसको किल्ला तोडदै आफ्नो वर्चस्व स्थापित गरेको थियो । गोरखाका दुवै नगरपालिकामा कांग्रेसले बाजी मारेको छ । नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराईले आफ्नै गृह जिल्लामा कुनै तहको प्रमुख जित्न सकेनन् । एमालेसमेत गोरखामा शून्य भएको छ । माओवादीमा विभाजन र भट्टराईको नयाँ शक्ति पार्टीका कारण कांग्रेसले त्यहाँ राम्रो फाइदा उठाएको छ । डोल्पामा भने कांग्रेस र दैलेखमा माओवादी केन्द्र शून्य भएको छ ।

अन्यत्र तालमेलले काम नगरिरहेका बेला बाग्लुङ नगरपालिकाको मत परिणाम भने फरक आएको छ । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको तालमेलअनुसार नै परिणाम आएको छ । त्यहाँ एमालेका मेयर, राप्रपाका उपमेयर र वडा अध्यक्षहरूमा राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटालगायतले जितेका छन् । 

कांग्रेसको गढ मानिने नवलपरासीको गैंडाकोटमा एमाले झन्डै तीन सयको मत अन्तरमा विजयी भएको छ भने स्याङ्जामा पनि कांग्रेसलाई एमालेले पछि पारेको छ । स्याङ्जाका वालिङ, गल्याङलगायत ६ स्थानमा एमालेले जितिसकेको छ भने अहिलेसम्म कांग्रेस तीन स्थानमा मात्र विजयी भएको छ । त्यस्तै एमालेको वर्चस्व भएको तनहुँको शुक्लागण्डकीमा कांग्रेसले जितेको छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?