कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दोस्रो चरणको चुनावअघि संशोधन’

नागरिक अगुवाको अपिल

काठमाडौं — नागरिक अगुवाले दोस्रो चरणको स्थानीय चुनावअघि सहमतिमा संविधान संशोधन गर्नु अपिल गरेका छन् । पहिलो चरणको चुनाव सफलतापूर्वक गराएकामा सरकार र दलहरूलाई धन्यवाद दिँदै उनीहरूले मधेसी, दलित, थारू, महिला, मुस्लिम, जनजाति, अल्पसंख्यक आदिलाई समेट्दै संशोधन गराउन माग गरेका हुन् ।

वक्तव्य जारी गर्नेमा डा. जीवन क्षत्री, लेखकहरू सावित्री गौतम, कैलाश राई, श्रद्धा घले, उज्ज्वल प्रसाईं, राजेन्द्र महर्जन, अनुसन्धानकर्मी सविन निङ्लेखु, दोभान राई, अभियन्ता तुलानारायण साह, दीपेन्द्र झा, आदित्य अधिकारीलगायत छन् । ‘संविधान निर्माणपश्चात् देशको एउटा ठूलो हिस्साको जनसमुदायले यसमाथि अपनत्व ग्रहण गर्नु नसकेको विगतमा सरकार र मधेसी मोर्चालगायत असन्तुष्ट समूहबीच भएका सहमतिले पुष्टि गर्छ ।

विगतमा नेपालका धेरै नागरिकले ज्यान गुमाउनुपरेको, अंगभंग र घाइते हुनुपरेको र सरकारी तथा निजी सम्पत्तिको समेत ठूलो क्षति बेहोर्नुपरेको सत्य हाम्रोसामु छ,’ वक्तव्यमा भनिएको छ, ‘यस यथार्थलाई आत्मसात् गरी संविधान संशोधनार्थ प्रस्तुत विधेयकलाई यथाशीघ्र पारित गरी संघीय गठबन्धनलगायत अन्य असन्तुष्ट पक्षलाई विश्वासमा लिई मार्गप्रशस्त गर्नु जरुरी छ ।’

नागरिकको हैसियतले सबैको अपनत्व र सहभागितासहित आसन्न दोस्रो चरणको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन सरकार र दलहरूका जिम्मेवार नेतृत्वसँग आग्रह पनि गरिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?