कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थरुहट–मधेस आन्दोलनका मुद्दा फिर्ता हुने

काठमाडौं — सरकारले मधेस, थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती आन्दोलनमा मुछिएका अभियुक्तहरूको मुद्दा फिर्ता लिने प्रक्रियासमेत थालेको छ । ‘मुद्दा फिर्तासम्बन्धी प्रस्ताव तयार गर्नु कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भयो,’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए ।

असन्तुष्ट मधेसकेन्द्रित दलहरूले सरकारसँग वार्ताका क्रममा ती आन्दोलन हिंसात्मक नभई राजनीतिक चरित्रको भएकाले मुद्दा फिर्ताको माग राख्दै आएका थिए । उनीहरूको माग सम्बोधन गरी दोस्रो चरणको चुनावी वातावरण बनाउन सरकारले यस्तो निर्णय गरेको हो । त्यसका लागि मापदण्ड बनाउन गृह र कानुन मन्त्रालयले गृहकार्य गरी चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रवक्ता कार्कीले बताए । सरकारले स्थानीय चुनावका क्रममा मारिएका दुई जनालाई सहिद घोषणा गरी उनीहरूका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई सरकारले सहिद घोषणा गरेको हो । सरकारले उनीहरूका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै, सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले सहसचिव देवेन्द्र कार्कीलाई सचिव पदमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?