कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाेस्राे चरणकाे निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी

चुनाव बहिष्कार गरेको राजपाका कार्यकर्ताले नै दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं — छिटपुट घटनाबाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका थियो । तर विरोधले कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिएन ।

दाेस्राे चरणकाे निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी

निर्वाचन आयोगले पनि मनोनयन शान्तिपूर्ण भएको जनाएको छ । ‘३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरूको सहभागितामा शान्तिपूर्ण रूपमा भएको छ,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका छन् ।’ उनका अनुसार कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिने घटना भएको छैन ।

राजपाले केही स्थानमा सामान्य अवरोध पुर्‍याउन खोजे पनि उक्त दल समर्थित कार्यकर्ताले नै रूपन्देहीलगायत स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । रूपन्देहीको सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईका सबै पदमा उनीहरूको स्वतन्त्र उम्मेदवारी परेको हो ।

बिहान ८ बजेदेखि झाँकी र जुलुससहित उम्मेदवारहरू निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने क्रममा बाजुरा, कपिलवस्तु, दार्चुला र बाँकेका केही स्थानमा अशान्ति देखियो । बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु भएको छ । स्थानीय छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा झडप हुँदा एमालेका हंसबहादुर रावतको मृत्यु भएको हो । दुवै पक्षका करिब ३० जना घाइते भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय अघि बम विस्फोट भयो । विस्फोटमा परी ५ जना घाइते भए । कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न आउने समयमा विस्फोट भएको थियो । तर विस्फोटको असर उम्मेदवारी दर्तामा परेन ।

बाँकेको वैजनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो । एमालेको सभा नजिकै माओवादी केन्द्रका कार्यकर्ता आएर चर्को माइकिङ गरेपछि झडप भएको हो । त्यहाँ एमालेका ५ कार्यकर्ता, एक सई र एक जवान घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै दार्चुलाको लटिनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मार्मा गाउँपालिकाको उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा लटिनाथमा एमाले र माओवादीबीच ढुंगा हानाहान भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

परेन बन्दको असर
आन्दोलनरत राजपाले उम्मेदवारी दर्तालाई अवरोध पुर्‍याउने गरी तराईका जिल्लामा बन्द आहवान गरेको थियो । तर त्यसको प्रभाव उम्मेदवारी दर्तामा परेन । राजपाको बन्दलाई ख्याल गर्दै उम्मेदवारी दर्तालाई शान्तिपूर्ण बनाउन विशेष गरी प्रदेश नम्बर ५ मा उच्च सुरक्षा व्यवस्था थियो । अवरोध पुर्‍याउन खोज्ने राजपाका कार्यकर्ता पक्राउ परे । नवलपरासीमा अवरोध गर्न खोज्ने राजपा कार्यकर्तालाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो ।

दलहरूबीच तालमेल
असार १४ मा तीनवटा प्रदेशमा हुन लागेको दोस्रो चरणको चुनावका लागि विभिन्न स्थानमा दलहरूबीच तालमेल पनि भएको छ । सत्तागठबन्धनमा रहेका कांग्रेस र माओवादीले धेरै स्थानमा तालमेल गरेका छन् । प्रदेश नम्बर १ को एक मात्र महानगर विराटनगरमा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले मेयर र उपमेयरमा तालमेल गरी उम्मेदवारी दिएका छन् ।

त्यहाँ संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच पनि तालमेल भएको छ भने कांग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको छ । बुटवल उपमहानगरमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल भएको छ । कांग्रेसले मेयर, माओवादीले उपमेयर र राष्ट्रिय जनमुक्तिले वडामा मिलेर संयुक्त उम्मेदवारी दिएका छन् । रूपन्देहीकै तिलोत्तमामा कांग्रेस र जनमुक्ति, देवदहमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । ताप्लेजुङ, अर्घाखाँचीमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत माग राख्दै राजपाले चुनाव बहिष्कार गर्ने निर्णय लिएपछि सरकारले तीनवटा प्रदेशमा मात्र दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुनेछ । राजपाले प्रदेश ५ को चुनाव पनि सार्नुपर्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्ताव सरकारले मानेन । प्रदेश १, ५ र ७ गरी तीनवटा प्रदेशमै चुनाव गर्ने निर्णयमा पुग्यो । असार १४ मा हुने प्रदेश १, ५ र ७ को निर्वाचनबाट ३ सय ३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । पहिलो चरणअन्तर्गत प्रदेश ३, ४ र ६ मा गत वैशाख ३१ मै निर्वाचन भइसकेको छ ।

प्रकाशित : असार ४, २०७४ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?