राजपालाई पार्टीभित्रै दबाब

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेतृत्वले दोस्रो चरणको चुनाव बिथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । रूपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरूले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् ।

रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमश: अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए । अघिल्लो चुनाव संरचनामा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यी गाउँपालिका राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छन् । शुक्ल यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । १ सय ११ पदमा राजपा नेताको उम्मेदवारी परेको छ ।

राजपाले आफ्ना कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे आएका खबर पुष्टि गरेको छ । राजपा स्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लले यसअघिका पार्टी बैठकहरूमा पटक–पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए ।

उनीलगायत केही उच्च नेताहरूको प्रयास असफल भएपछि अन्तत: स्वतन्त्र हैसियतमा भए पनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन् । राजपाका एक नेताले भने, ‘दिनभरि हाम्रा नेताहरूको व्यापक गिरफ्तारी र धरपकड भयो, यसविरुद्ध संघर्षमा जानुपर्नेमा किन उहाँले कार्यकर्ताहरूलाई चुनाव मनोनयनमा पठाउनुभयो, बैठक बसेर समीक्षाको विषय बनाउँछौं ।’ ती नेताले शुक्लले आगामी संसद् चुनावका लागि आफ्नो आधारक्षेत्र सुरक्षित गर्न यस्तो गरेको आरोप पनि लगाए ।

यता, पार्टीले चुनाव बिथोल्ने धम्की दिइरहेकै बेला राजपा केन्द्रीय कोषाध्यक्ष अनिता यादव र सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन् । आइतबार एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले यादव, महासेठ लगायतलाई पार्टी प्रवेश गराए ।

यादवले पार्टीमा अतिवादी प्रवृत्ति सुरु भएको भन्दै शनिबारै राजपा नेतृत्वसमक्ष राजीनामा दिएकी थिइन् । ‘पछिल्लो कालखण्डमा मधेसी जनताले वास्तविक रूपमा खोजेको न्याय, समानता र समृद्धिको एजेन्डाबाट पार्टी विचलित भएको,’ राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘र, राजनीतिका नाममा पूर्ण रूपले अतिवाद पलाएको प्रति मेरो घोर आपत्ति र असन्तुष्टि छ ।’

यादव तत्कालीन तमलोपा कोषाध्यक्ष श्रीकृष्ण यादवकी श्रीमती हुन् । यादवको दुर्घटनामा मृत्यु भएपछि अनिताले दोस्रो संविधानसभा निर्वाचनमा धनुषा ५ बाट चुनाव लडेर तेस्रो स्थान ल्याएकी थिइन् । एमालेले यसअघि राजपाकै केन्द्रीय सहमहामन्त्री समिम मियाँ अन्सारीलाई पार्टी प्रवेश गराएको थियो । पर्सा माओवादी नेता बसरुद्दिन अन्सारी पनि केहीअघि मात्र एमाले प्रवेश गरेका थिए ।

शनिबार परासीमा आयोजित कार्यक्रममा राजपा नेताहरूले चुनावमा भाग लिन सरकारले वातावरण नबनाएको भन्दै संविधान संशोधन गर्न चुनावअघि सम्भव नभए पनि कम्तीमा लिखित प्रतिबद्धता दिन सकिने विकल्प पनि उपयोग नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

राजपाले वक्तव्य निकाल्दै आइतबार दिनभर तराईका विभिन्न जिल्लामा कार्यकर्ता गिरफ्तारी भएकोमा आक्रोश व्यक्त गरेको छ । नेता महेन्द्र यादवलगायत नेताहरू मानव अधिकार आयोग कार्यालय गई शनिबार परासीमा भएको घटनाबारे उजुरी गरेका थिए ।

उनीहरूले सुरक्षा बल प्रयोग गर्नै नपर्ने शान्तिपूर्ण सभामा बल प्रयोग गरिएको भन्दै घटनाबारे अनुसन्धानका लागि आग्रह गरेका छन् । तर स्थानीयले भने कार्यक्रम चल्दाचल्दै नजिकैको यातायात व्यवसायी कार्यालयमा
राखिएको एमाले प्रचार सामग्री नष्ट गर्न राजपा कार्यकर्ता गएको र व्यवसायीमाथि हातपात हुन थालेपछि मात्रै प्रहरी बल प्रयोग गर्न बाध्य भएको बताएका छन् ।

आइतबार महेन्द्र यादवले जारी गरेको वक्तव्यमा दिनभर ४ सय ५५ आन्दोलनकारी गिरफ्तार भएको उल्लेख गर्दै राज्यले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाइएको छ ।

  • नेतृत्वको वास्ता नगरी १ सय ११ पदमा राजपा नेताहरूको उम्मेदवारी
  • केन्द्रीय कोषाध्यक्ष र सदस्य एमालेमा प्रवेश
  • असन्तुष्टि जनाउँदै पार्टी छाड्ने क्रम बढ्यो

प्रकाशित : असार ४, २०७४ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्

दाेस्राे चरणकाे निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी

चुनाव बहिष्कार गरेको राजपाका कार्यकर्ताले नै दिए स्वतन्त्र उम्मेदवारी
कान्तिपुर संवाददाता

काठमाडौं — छिटपुट घटनाबाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका थियो । तर विरोधले कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिएन ।

निर्वाचन आयोगले पनि मनोनयन शान्तिपूर्ण भएको जनाएको छ । ‘३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरूको सहभागितामा शान्तिपूर्ण रूपमा भएको छ,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका छन् ।’ उनका अनुसार कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिने घटना भएको छैन ।

राजपाले केही स्थानमा सामान्य अवरोध पुर्‍याउन खोजे पनि उक्त दल समर्थित कार्यकर्ताले नै रूपन्देहीलगायत स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । रूपन्देहीको सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईका सबै पदमा उनीहरूको स्वतन्त्र उम्मेदवारी परेको हो ।

बिहान ८ बजेदेखि झाँकी र जुलुससहित उम्मेदवारहरू निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने क्रममा बाजुरा, कपिलवस्तु, दार्चुला र बाँकेका केही स्थानमा अशान्ति देखियो । बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु भएको छ । स्थानीय छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा झडप हुँदा एमालेका हंसबहादुर रावतको मृत्यु भएको हो । दुवै पक्षका करिब ३० जना घाइते भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय अघि बम विस्फोट भयो । विस्फोटमा परी ५ जना घाइते भए । कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न आउने समयमा विस्फोट भएको थियो । तर विस्फोटको असर उम्मेदवारी दर्तामा परेन ।

बाँकेको वैजनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो । एमालेको सभा नजिकै माओवादी केन्द्रका कार्यकर्ता आएर चर्को माइकिङ गरेपछि झडप भएको हो । त्यहाँ एमालेका ५ कार्यकर्ता, एक सई र एक जवान घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै दार्चुलाको लटिनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मार्मा गाउँपालिकाको उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा लटिनाथमा एमाले र माओवादीबीच ढुंगा हानाहान भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

परेन बन्दको असर
आन्दोलनरत राजपाले उम्मेदवारी दर्तालाई अवरोध पुर्‍याउने गरी तराईका जिल्लामा बन्द आहवान गरेको थियो । तर त्यसको प्रभाव उम्मेदवारी दर्तामा परेन । राजपाको बन्दलाई ख्याल गर्दै उम्मेदवारी दर्तालाई शान्तिपूर्ण बनाउन विशेष गरी प्रदेश नम्बर ५ मा उच्च सुरक्षा व्यवस्था थियो । अवरोध पुर्‍याउन खोज्ने राजपाका कार्यकर्ता पक्राउ परे । नवलपरासीमा अवरोध गर्न खोज्ने राजपा कार्यकर्तालाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो ।

दलहरूबीच तालमेल
असार १४ मा तीनवटा प्रदेशमा हुन लागेको दोस्रो चरणको चुनावका लागि विभिन्न स्थानमा दलहरूबीच तालमेल पनि भएको छ । सत्तागठबन्धनमा रहेका कांग्रेस र माओवादीले धेरै स्थानमा तालमेल गरेका छन् । प्रदेश नम्बर १ को एक मात्र महानगर विराटनगरमा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले मेयर र उपमेयरमा तालमेल गरी उम्मेदवारी दिएका छन् ।

त्यहाँ संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच पनि तालमेल भएको छ भने कांग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको छ । बुटवल उपमहानगरमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल भएको छ । कांग्रेसले मेयर, माओवादीले उपमेयर र राष्ट्रिय जनमुक्तिले वडामा मिलेर संयुक्त उम्मेदवारी दिएका छन् । रूपन्देहीकै तिलोत्तमामा कांग्रेस र जनमुक्ति, देवदहमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । ताप्लेजुङ, अर्घाखाँचीमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत माग राख्दै राजपाले चुनाव बहिष्कार गर्ने निर्णय लिएपछि सरकारले तीनवटा प्रदेशमा मात्र दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुनेछ । राजपाले प्रदेश ५ को चुनाव पनि सार्नुपर्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्ताव सरकारले मानेन । प्रदेश १, ५ र ७ गरी तीनवटा प्रदेशमै चुनाव गर्ने निर्णयमा पुग्यो । असार १४ मा हुने प्रदेश १, ५ र ७ को निर्वाचनबाट ३ सय ३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । पहिलो चरणअन्तर्गत प्रदेश ३, ४ र ६ मा गत वैशाख ३१ मै निर्वाचन भइसकेको छ ।

प्रकाशित : असार ४, २०७४ २२:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT