कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाच्दै–गाउँदै मनोनयन

अर्घाखाँची — उमेरले ७५ नाघेका नरपानीका टामलाल केसी आइतबार पञ्चैबाजाको तालमा छमछमी नाच्दै जुलुसमा सहभागी भए । गर्मीले खलखली पसिना चुहिए पनि उनलाई परवाह थिएन ।

‘म त १४ गते कहिले आउला भन्दै दिन गनेरै बसेको छु,’ उनले भने, ‘दुई घण्टा लौरो टेक्दै हिँडेर आएको हुँ, जनताको प्रतिनिधि चुन्न पाउनु भाग्य हो । 

खाँचीकोटकी ५० वर्षीया खिमकला विक पनि जुलुसमा नाचिरहेकी थिइन् । २० वर्षपछिको चुनावमा भोट हाल्न आतुर रहेको उनले सुनाइन् । ‘गाउँको विकास गर्लान् भनेर जुलुसमा आएकी हुँ,’ उनले भनिन्, ‘भोट दिएर नेता चुन्ने अवसर लामो समय रोकिनु हुँदैन ।’ 

उम्मेदवारी मनोनयनको दिन भएकाले बिहानैदेखि कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ता चोकचोक र गल्लीगल्लीमा झुम्मिएको थिए । मनोनयन दर्ता गर्न जानुअघि धेरैभन्दा धेरै कार्यकर्ता जुटाउने प्रतिस्पर्धामा थिए, उम्मेदवार र नेता ।

गाउँ–गाउँमा बस, जिप र निजी कार पठाएर तीनै पार्टीले सन्धिखर्कमा कार्यकर्ता उतारे । सन्धिखर्क बजारमा पञ्चैबाजासहितका जुलुुस निकाले । उनीहरूले आआफ्नो पक्षमा नारा घन्काउँदै सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गरे । पञ्चैबाजा, मादल, धन्कुरी, सहनाईको तालमा नेता–कार्यकर्ता छमछमी नाचे । फूलमाला र अबिरले आधा अनुहार ढाकेको थियो । सबै दलको जुलुसमा युवाको बाक्लो उपस्थिति थियो । 

बिहान आठ बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । साना दलका उम्मेदवारको मनोनयन दर्तापछि कांग्रेस–एमालेको टोली तामझामसहित पुगेको थियो । पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी उम्मेदवारसहित सन्धिखर्कको र्‍यालीमा सहभागी भए । त्यसपछि एमालेको पालो आयो । केही कार्यकर्ता एमालेले अघिल्लो दिनै सन्धिखर्क उतारेको थियो । धेरै कार्यकर्ता ल्याउन बस, जिप र कार गाउँमा पठाएको थियो । पार्टी कार्यालयबाट ठूलो संख्यामा निस्केको जुलुसमा महिला र युवासँगै पाका उमेरका पनि सहभागी थिए । नेवार महिला परम्परागत पोसाकमा सजिएर जुलुसमा मिसिए ।

टुँडिखेलमा करिब एक घण्टा नाचगान भयो । त्यसपछि कांग्रेसले पनि एमालेकै हाराहारीमा जुलुस निकाली सन्धिखर्क र चुत्राबेंसी बजार परिक्रमा गरायो । एमालेबाट सन्धिखर्कमा मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र उपमेयर ईश्वरा पोखरेलले मनोनयन दर्ता गराए । शनिबार बेलुका मात्रै कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएपछि दुई दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका कमलप्रसाद भुसालले मेयर र माओवादीबाट ठाकुरकुमार विकले उपमेयरमा उम्मेदवारी दिएका छन् । 

जुलुसमै प्रतिस्पर्धा
टीकापुर– स्थानीय तह निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ताका क्रममा यहाँका दलले जुलुुुस निकाल्नमा समेत एक–अर्कालाई उछिन्ने प्रयास गरेका छन् ।

मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित पार्न दलले नाचगान, बाजागाजासहित नाराबाजी गर्दै ‘मास’ प्रदर्शन गरे । 

मनोनयन दर्ता गर्न जाँदा दलका कार्यकर्ता विभिन्न जातजातिका पोसाकमा सजिएर जुलुसमा सहभागी भएका थिए । चर्को घाममा पनि रैथाने थारू, मगर र सुदूरपश्चिमको देउडा नाचिरहेका थिए, उनीहरू । दिनभरजसो निर्वाचन कार्यालयअगाडि नाचगान चलिरह्यो । मनोनयनका लागि आएका नेता–कार्यकर्ता निकै उत्साही देखिन्थे ।

त्यस क्रममा प्रहरी निरीक्षकको कमान्डमा ठाउँ–ठाउँमा टोली खटाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक सुदीप पाठकले बताए । उनका अनुसार मनोनयन दर्ता स्थलमा उम्मेदवारबाहेक अन्यलाई निषेध गरिएको थियो ।

टीकापुर घटनाका कारण यो ठाउँ सुरक्षा दृष्टिले संवेदनशील मानिएको छ । उक्त घटनाका कारण बिथोलिएको सद्भाव पछिल्ला दिन निकै सुधारिएको स्पष्ट झलक देखिएको छ । निर्वाचन कार्यालयले विभिन्न दललाई फरक–फरक समयमा मनोनयन दर्ताका लागि आउन अनुरोध गरेको थियो । सबभन्दा पहिले माओवादी केन्द्र दर्ताका लागि पुगेको थियो । 

कांग्रेसका बागी उम्मेदवार
दाङ– यहाँका सबैजसो दलका उम्मेदवार बाजागाजा र सांस्कृतिक झाँकीसहित उम्मेदवारी दिन गए । भित्र उम्मेदवारले नाम दर्ता गरिरहँदा बाहिर कार्यकर्ताको गीतसंगीत र नाचगानले माहोल उल्लासपूर्ण बन्न पुग्यो । विभिन्न जातजातिका पोसाक र नाचगानसहित गाउँगाउँबाट कार्यकर्ता आएका थिए । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । 

केही स्थानीय तहमा कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका छन् । घोराहीको उपप्रमुखमा ठाकुरप्रसाद महरा, लमही नगरपालिकाको प्रमुखमा डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्षमा डिल्ली आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्षमा हेमन्त योगी र बबई गाउँपालिका अध्यक्षमा टेकबहादुर पुरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । घोराही–८ को अध्यक्षमा कांग्रेसका निमबहादुर खडका, तुलसीपुर–१० मा झग्गु भण्डारी, ७ को अध्यक्षमा माधव लामिछाने र सदस्यमा द्रौपदा न्यौपाने स्वतन्त्र उठ्ने भएका छन् । 

अन्य तहमा भने पार्टीले तोकेका उम्मेदवारले नै मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राजमो, माले मनोनयनमा सहभागी भए । संघीय समाजवादी फोरमको नामबाट नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्चाका तर्फबाट माओवादी क्रान्तिकारीले पनि मनोनयन दर्ता गराए ।

प्रकाशित : असार ५, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?