कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर/उपमेयरको प्रतीक्षा

विमल खतिवडा

चितवन — गत जेठ १४ मा भरतपुर महानगरपालिकाको मतगणाना अन्तिम चरणमा थियो । यहाँका २९ मध्ये १९ र २० नम्बर वडाको गणना हुने क्रममा थियो ।

मेयर/उपमेयरको प्रतीक्षा

मेयर प्रतिस्पर्धामा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल थिए ।

१९ को गणना अन्तिम चरणमा थियो । २० नम्बरको गणना बाँकी थियो । उपमेयरमा कांग्रेसकी पार्वती साह विजयन्मुख थिइन् । मेयरमा थोरै मतअन्तर पर्ने देखिएको थियो । जेठ १५ गणतन्त्र दिवस थियो । त्यही दिन मेयर/उपमेयर चुनिने निश्चित भएपछि स्वागतको भव्य तयारी थियो । 

महानगरपालिकाका कर्मचारीले मेयर/उपमेयरको कार्यकक्ष रातारात तयार पारेका थिए । कर्मचारीहरू जनप्रतिनिधिको स्वागतमा तयार भए । अचानक १४ गते मध्यरात नसोचेको घटना भयो । राति ११ बजेर ४५ मिनेटमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित भयो । यसले गणतन्त्र दिवस खल्लो बन्यो । जिल्लाका अन्य स्थानीय तहमा जनप्रतिनिधिले काम थालिसके । तर, महानगर भने अझै प्रमुख/उपप्रमुखको प्रतीक्षमा छ । चिटिक्क पारिएका मेयर/उपमेयरका कार्यकक्ष अलपत्र झै बनेका छन् । 

‘रातारात मेयर/उपमेयर बस्ने कार्यकक्ष तयार पार्‍यौं,’ महानगरका कार्यकारी प्रमुख प्रेमराज जोशीले भने, ‘नसोचेको घटना भयो, अहिले जनप्रतिनिधिको पर्खाइमा छौं ।’ उनका अनुसार ०५४ मा निर्वाचित जनप्रतिनिधि जहाँ बसेका थिए । त्यही कार्यकक्षलाई रङरोगन गरी चिटिक्क पारिएको हो । पहिलो तलामा बस्ने कार्यकक्ष बनाइएको छ । मेयर र उप/मेयरका सहयोगी बस्ने कार्यकक्ष छुट्टै छ । सबैमा सोफा, टेबुल र कुर्सी राखिएको छ । ‘०३९ मा बनेको पुरानै भवन हो,’ जोशीले भने, ‘सुविधा सम्पन्न नयाँ भवन चाहिएको छ, जनप्रतिनिधि आएपछि भवन निर्माणको प्रक्रिया अघि बढ्नेछ ।’

कार्यक्रम सञ्चालन गर्ने पुरानै हललाई मर्मत गरिएको छ । ‘बोर्ड बैठक बस्न हल चाहियो,’ उनले भने, ‘१६ लाखमा टेन्डरमार्फत बनाइएको हो ।’ उनका अनुसार हलमा ४४ जना अट्नेछन् । त्यस्तै २९ वडामध्ये ३ वडाका लागि कोठा भाडामा लिइएको छ । अन्य वडामा भने आफ्नै भवन भएकाले जनप्रतिनिधिलाई बस्ने ठाउँ तयार बनाइसकेको छ ।

‘१३, १७ र २८ नम्बरको वडाको आफ्नो भवन छैन,’ उनले भने, ‘कोठा भाडामा लिएर जनप्रतिनिधि बस्ने व्यवस्था मिलाएका छौं ।’ व्यवस्थापनका लागि आफ्नै वडा कार्यालय भएकालाई ५० हजार र नभएकालाई १ लाख रुपैयाँ पेस्की उपलब्ध गराइएको छ । अहिले कार्यालय परिसरमा सरसफाइ गरिएको छ । ‘०५४ मा जुन कोठामा मेयर/उपमेयर बसेका थिए, त्यही कोठा अब चुनिने मेयर/उपमेयरका लागि व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘रङरोगन गरेर मात्र नयाँ बनाएका छौं, खासै परिवर्तन छैन ।’

समस्या धेरै 
कुनै ठूलो कार्यक्रम गर्दा महानगरपालिकामा हजारजना अट्ने क्षमताको हल छैन । गर्मीमा टहलिने सार्वजनिक बगैंचा छैन । व्यवस्थित रूपमा फोहोर फाल्ने डम्पिङ साइट छैन । बजार भद्रगोल छ । अव्यवस्थित पार्किङले पैदलयात्रीले सडक छेउबाट हिँड्न पाउँदैनन् । सडकका छाडा चौपायाले दुर्घटनाको जोखिम बढाएको छ । अव्यवस्थित प्लटिङले खेतीयोग्य जमिन मासिँदै गएको छ । मेडिकल सिटीका रूपमा विकास भनिए पनि बिरामीले अझै सहज रूपमा उपचार सेवा पाउन सकेका छैनन् ।

प्रकाशित : असार ५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?