कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिष्ठाको लडाईमा ओली र सिटौला

अर्जुन राजवंशी

दमक — असार १४ को चुनाव झापामा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि प्रतिष्ठाको सवाल बनेको छ । केन्द्रीय राजनीतिका दुई हस्तीलाई आआफ्नो गृहनगरमा चुनाव जित्न चुनौतीका पहाडहरु पन्छ्याउनु परिरहेको छ ।

प्रतिष्ठाको लडाईमा ओली र सिटौला

दमकमा एमाले र भद्रपुरमा कांग्रेसलाई जिताउन ओली र सिटौला गृह जिल्लामा खटिएका छन् । सिटौला पछिल्लो चार दिनदेखि निरन्तर भद्रपुरका मतदातामाझ पुगेर भोट मागिरहेका छन् । ओली पनि तीन दिनदेखि गृहजिल्लाका विभिन्न चुनावी सभामार्फत मतदाता रिझाइरहेका छन् ।

एमालेले दमकमा २० बर्ष अघिका मेयर रोमनाथ ओलीलाई उम्मेदवार बनाएको छ । उपमेयरमा प्राध्यापक गीता अधिकारीलाई टिकट दिएको छ । मेयर भइसकेकालाई फेरि टिकट दिएको भन्दै एमालेका युवा कार्यकर्ताहरु रुष्ट छन् । कार्यकर्ताले सिफारिसै नगरेको तथा जागिरे व्यक्तिलाई उपमेयरको उम्मेदवार बनाएको भन्दै नगरका महिला नेतृहरु पनि असन्तुष्ट छन् । यसैले यस पटक ओलीलाई गृहनगरका सबै कार्यकर्तालाई समेटेर लान चुनौती थपिएको छ । 

दमकमा इतिहास भने एमालेको पक्षमा छ । ०४८ पछि एमालेले दमकमा दुई वटा चुनाव मात्र गुमाएको छ । ०४८, ०५१ र ०५६ को संसदीय चुनावमा केपी ओलीले लगातार जित हासिल गरेका थिए । ०४९ र ०५६ को स्थानीय निर्वाचन पनि एमालेले नै जितेको थियो । तर, ०५६ को उपनिर्वाचनमा एमालेका देवेन्द्र दाहाललाई पराजित गर्दै नेपाली कांग्रेसका डा.गोपाल कोइराला निर्वाचित भएका थिए । ०६४ को संविधानसभा चुनावमा ओलीलाई हराउँदै माओवादीका विश्वदीप लिङदेन निर्वाचित भएका थिए । तर, ०७० को चुनावमा पुन: ओली निर्वाचित भए । यस पटकको चुनावमा एमालेलाई पराजित गर्न कांग्रेस र माओवादी केन्द्रले युवालाई उम्मेदवार बनाएको छ । राप्रपाले केन्द्रीय सहमहामन्त्री राम थापालाई उम्मेदवार बनाएको छ । पार्टीभित्रको असन्तुष्टी र अन्य पार्टीहरुले दमक केन्द्रीत चुनावी गतिविधि बढाएपछि ओलीलाई आफ्नो साख जोगाउन चुनौतीपूर्ण बनेको छ । 

पूर्वमेयर इन्द्र बुढाथोकीले जिल्लाको चुनाव ओली र सिटौलाको प्रतिष्ठाको विषय भए पनि दमकमा एमाले पराजित नहुने दाबी गरे । उनले संगठनात्मक रुपमा अन्य पार्टीका उम्मेदवारहरु कमजोर रहेकोले यस पटकको चुनावमा पनि एमालेलाई कडा टक्कर दिने प्रतिद्वन्द्वी नभएको बताए । 
 
कांग्रेसले भद्रपुरको मेयरमा गणेश पोखरेल तथा उपमेयरमा तारा भुर्तेललाई उम्मेदवार बनाएको छ । कांग्रेस स्रोतका अनुसार उनीहरु दुवैलाई नेता सिटौलाकै निर्देशनमा उम्मेवार बनाइएको हो । पोखरेल युवा उम्मेदवार हुन् भने भुर्तेल पार्टीका पुराना नेतृ हुन् । भद्रपुरमा एमालेले २० बर्ष अघिका उपमेयर जीवनकुमार श्रेष्ठलाई यसपटक मेयर पदको उम्मेदवार बनाएको छ । कांग्रेसले अहिलेसम्म भद्रपुरको नेतृत्व गर्न पाएको छैन । 

०४९ मा एमालेका पुष्प पोखरेल मेयरमा र नेपाल सदभावना पार्टीका भारतेन्द्रकुमार मल्लिक उपमेयरमा निर्वाचित भएका थिए । ०५४ मा सदभावनाका मल्लिक मेयरमा र एमालेका श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए । ०५४ मा एमाले र सद्भावनाले चुनावी तालमेल गरेर कांग्रेसलाई हराएको थियो । संसदीय चुनावतर्फ ०४८ मा एमालेका द्रोणचार्य क्षेत्री निर्वाचित भएका थिए । कार्यकाल नसकिदै उनको निधन भएपछि ०५१ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएका थिए । सोही बर्ष भएको मध्यावधिक निर्वाचनमा पनि सिटौला नै निर्वाचित भएका थिए । ०५६ को चुनावमा पनि सिटौला निर्वाचित भए ।

०६४ को पहिलो संविधान सभा चुनावमा सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । तर, ०७० सालको दोस्रो संविधानसभा चुनावमा सिटौला पुन: निर्वाचित भएका थिए । सिटौलालाई असार १४ को चुनावमा कांग्रेस उम्मेदवारलाई जिताउनै पर्ने दबाब देखिन्छ । साविकका चन्द्रगढी, महेशपुर र पृथ्वीनगर गाविस गाभेर भद्रपुर नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । क्षेत्र विस्तारपछि भद्रपुरमा कांग्रेसको चुनौती बढेर गएको छ । चन्द्रगढी र पृथ्वीनगर एमालेको जनमत राम्रो भएको क्षेत्र हुन् । तर, नगरको समग्र विकासमा केन्द्रीय स्तरको नेता आवश्यक पर्ने भएकोले सिटौलाप्रति नगरवासीको आशा रहेको मेची क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालले बताए । केही स्वतन्त्र उम्मेदवारीले कांग्रेस र एमालेलाई टाउको दुखाई बनेको छ । कांग्रेसलाई जगदिश काफ्ले तथा एमालेलाई दुर्गाप्रसाद भट्टराईको उम्मेदवारीले चुनौती थपिदिएको छ । भट्टराई एमालेको तर्फबाट यसअघि चन्द्रगढी गाविसमा दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए । 

जिल्लाको काँकडभिट्टाको चुनावलाई पनि दुई नेताबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । यहाँको चुनाव कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा र एमाले सांसद रबिन कोइरालाबीच प्रतिष्ठाको लडाईका रुपमा हेरिएको छ । पार्टीगत भन्दा पनि व्यक्तिगत प्रभावका कारण काँकडभिट्टामा आ–आफ्ना उम्मेदवारलाई जिताउन शर्मा र कोइराला उम्मेदवारभन्दा बढी खटिएका छन् । दोस्रो संविधान सभा चुनावमा शर्मालाई पराजित गर्दै कोइराला निर्वाचित भएका थिए ।

तर, फागुनमा काँकडभिट्टा क्याम्पसको स्ववियूमा कांग्रेसले बाजी मारेपछि शर्मा र कोइरालाबीचको राजनीतिक प्रतिस्पर्धा कडा बनेको हो । कांग्रेसले युवा नेता विमल आचार्यलाई मेयरमा तथा दुर्गादेवी खतिवडालाई उपमेयरमा उम्मेदवार बनाएको छ । एमालेले तत्कालीन धाइजन गाउँ पञ्चायतका वडाध्यक्ष र प्रधानमञ्च भइसकेका बिष्णु प्रसाईलाई मेयरको तथा मीना उप्रेतीलाई उपमेयरको उम्मेदवार बनाएको छ । असार १४ को चुनावपछि शर्मा र कोइरालाको राजनीतिक भविष्यका लागि महत्वपूर्ण आधार हुन सक्ने विश्लेषण समेत हुन थालेको छ ।

प्रकाशित : असार ७, २०७४ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?