कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइन ल्याङ्वेजकी शिलु

संयोगले सांकेतिक भाषामा लागेकी शिलु यतिखेर गिनिज बुकमा आफ्नो नाम लेखाउने अभियानमा छिन् । लगातार ५ घण्टा प्रत्यक्ष प्रसारण जो उनले गरिन् ।
गोकर्ण गौतम

उनी दोभासे हुन् तर मुख खोल्दिनन् । सिर्फ उनका हात चल्मलाउँछन् अनि अनुहारको भावभंगिमा परिवर्तन हुन्छ । यस्तै हाउभाउबाट शब्दलाई त्यस्ता मानिससम्म पुर्‍याउँछिन्, जसको कानले आवाज पटक्कै सुन्दैन । तर हातको इसाराबाट शब्दको अर्थ महसुस गर्न सक्छन् ।

साइन ल्याङ्वेजकी शिलु

त्यस्तो समुदायसम्म सञ्चार प्रवाह गर्नु उनको पेसा त हुँदै हो, सँगै उत्कट चाह पनि । उनी अर्थात् शिलु शर्मा । जो नेपालकै गिनेचुनेकी नेपाली सांकेतिक भाषा दोभासे हुन् । आखिर यही काममा उनले जीवनका सुनौला दुई दशक बिताइसकेकी छन् । टेलिभिजन समाचारको प्रत्यक्ष सांकेतिक रूपान्तरणदेखि सार्वजनिक कार्यसम्म भ्याइनभ्याई हुन्छ । 

तर शिलु रहर र योजनाले होइन, संयोगले सांकेतिक दोभासे बनेकी थिइन् । स्नातक तहको परीक्षा सकेपछि फुर्सदमा थिइन् । भैरहवामा लुम्बिनी बहिरा संघले सांकेतिक भाषा सिकाउने भएछ, उनलाई फुर्सदको सदुपयोग गरूँ भन्ने लाग्यो । ‘मेरा नातागोता–साथीभाइ कोही पनि कान नसुन्ने थिएनन् । त्यसैले कस्तो होला भन्ने कौतुहल पलायो,’ सुरुवाती दिनहरू सम्झिइन् शिलुले, ‘तालिम लिन थालेपछि एउटा छुट्टै संसारमा पुगेजस्तो भयो । अनि त्यतै रमाउन थालें ।’ प्रशिक्षण सकिनासाथ आयोजक संस्थाले नै जागिरको ‘अफर’ गर्‍यो । त्यतिबेला निकै कम शब्द संकेत हुन्थ्यो । हातलाई सही हिसाबले खेलाउनै मुस्किल पथ्र्यो । अनुभव पनि थिएन । तैपनि हार खाइनन् र सांकेतिक दोभासेको व्यावसायिक यात्रा सुरु गरिन् । 

यो प्रसंग हो, २०५५ सालको । जतिबेला नेपाल टेलिभिजनमा सातामा एक पटक समाचारलाई सांकेतिक भाषामा प्रस्तुत गरिन्थ्यो, श्रवण शक्ति गुमाएकाहरूलाई लक्षित गर्दै । शिलुलाई पनि टीभीमार्फत त्यसरी नै एकैपटक ठूलो समुदायमा पुग्ने हुटहुटी पलायो मनमनै तर त्यतिबेला उनका लागि त्यो चाह ठूलो पहाड छिचोलेजस्तै थियो । कारण, सांकेतिक भाषाको शब्द ज्ञान यति कम थियो कि टीभीमा हेर्दा उनी आफैंलाई बुझ्न हम्मेहम्मे पथ्र्यो । अरूलाई बुझाउन त परको कुरा । तर लगाव र इच्छा शक्तिले भरिएकी उनी त्यसको तीन वर्षमै टेलिभिजनको पर्दामा समाचारलाई सांकेतिक भाषामा ढाल्ने तहमा पुगिन् । २०५८ बाट उनले नेपाली नेपाल टेलिभिजनमा सांकेतिक भाषा समाचार प्रस्तोताको काम थालनी गरिन् । जुन अहिले पनि निरन्तर छ । 

शेरबहादुर देउवा प्रधानमन्त्री चुनिएको दिन एनटीभीले संसद्बाट प्रत्यक्ष प्रसारण गरेको थियो । स्टुडियोमा बसेर शिलुले यही प्रसारणको पाँच घण्टाभन्दा बढी सांकेतिक भाषा प्रस्तुत गरिन् । जसले सबैलाई आश्चर्यचकित बनाएको छ । किनभने मस्तिष्क, हात र अनुहार एकैपटक प्रयोग गर्नुपर्ने भएकाले एकपटकमा मुस्किलले एक घण्टा दोभासेका रूपमा काम गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यही छ । त्यसैले आफ्नो उक्त प्रस्तुतिलाई गिनिज बुक अफ वल्र्ड रेकडर््समा दर्ता गराउने अभियानमा लागेकी छन् । भन्छिन्, ‘गुगल सर्च गर्दा एकैपटक यति लामो समय कसैले सांकेतिक दोभासेको काम गरेको भेटिनँ । त्यसैले हौसिएकी छु ।’

शिलुका अनुसार सांकेतिक भाषा छोटो हुन्छ । लिखित व्याकरण पनि हुन्न । यसको बेग्लै व्याकरण हुन्छ । हातको आकार, गति, स्थान र अनुहारको हाउभाउमार्फत शब्द र वाक्यलाई रूपान्तरण गरिन्छ । नेपाली सांकेतिक भाषा चाहिँ एकहाते हो । अर्थात् अ देखि अ: सम्म अनि क देखि ज्ञ सम्म बुझाउन एउटै हातको प्रयोग गरिन्छ । तर विज्ञान र कानुनका प्राविधिक शब्द त ठ्याक्कै बुझाउन गाह्रो पर्छ । हामीकहाँ सांकेतिक भाषा दक्ष र व्यावहारिक रूपमा सिकाउने परिपाटी पनि छैन । फेरि तालिम र अध्ययन बिना श्रवण शक्ति गुमाएकाले पनि सांकेतिक भाषा बुझ्न सक्दैनन् । त्यसैले त्यस्ता व्यक्तिका भावना बुझ्न र सक्षम बनाउन आफू लागिपरेको शिलुको भनाइ छ । उनको सांकेतिक भाषा प्रेम कति गहिरो छ भने ‘नेपाली सांकेतिक भाषाको उत्पत्ति, विकास र स्वरूप’ भन्ने पुस्तक लेखिसकेकी छन् । राष्ट्रिय सांकेतिक भाषा दोभासे संघकी अध्यक्षसमेत रहेकी शिलु भन्छिन्, ‘बाटोमा कसैले संकेत गरेको देखें भने पनि आफ्नै परिवार जस्तै लाग्छ ।’

श्रवण शक्ति गुमाएकाहरूलाई बाँकी दुनियाँसँग जोडने पुल हो, संकेत भाषा । यसको विकल्पै छैन । दृष्टिविहीनलाई ब्रेललिपिझैं । नेपाल सरकारले ७५ जिल्लामा रहेका महिला बालबालिका कार्यालयमध्ये ३८ जिल्लामा सांकेतिक दोभासे राखेको छ । स्कुल, कलेजमा सांकेतिक भाषामा पढाइ पनि हुन्छ तर दु:खको कुरा, सांकेतिक भाषालाई सरकारले मान्यता दिएको छैन । यसले शिलुको चित्त दुखाएको छ । काठमाडौं बहिरा संघमा आबद्ध उनी भन्छिन्, ‘एकातिर अपांगता भएका व्यक्तिलाई सबलीकरण गर्ने पनि भन्ने, अर्कातिर संकेत भाषालाई मान्यता पनि नदिने । सरकारको यो दोहोरो चरित्रले श्रवण शक्ति गुमाएकाहरूलाई हतोत्साहित गरेको छ ।’ त्यसैले यतिबेला उनको भूमिका दोभासेमा सीमित छैन, संकेत भाषालाई सरकारी मान्यता दिलाउने अभियानकी अभियन्ताका रूपमा पनि उत्तिकै सक्रिय छिन् । 

 

प्रकाशित : असार ९, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?