१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

तेह्रथुमका १५ बस्ती पहिरोको उच्च जोखिममा

जोखिम न्यूनिकरण प्रयास प्रभावकारी भएन
चन्द्र कार्की

तेह्रथुम — जिल्लाका साविकका नौ गाविसका १५ भन्दा बढी बस्ती बाढी, पहिरोको उच्च जोखिममा परेका छन् । निरन्तरको वर्षासँगै जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रस, प्रहरीलगायत संस्थाले विपद क्षेत्रको पहिचान गरी साविकका ९ गाविस पहिरोको उच्च जोखिममा रहेको निष्कर्ष निकालेका हुन् ।

तेह्रथुमका १५ बस्ती पहिरोको उच्च जोखिममा

रेडक्रसको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन गरी यी क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले वर्षात्‌को कुनै पनि समयमा पहिरो बग्न सक्ने र जनधनको क्षति हुने चेतावनी दिएको छ । रेडक्रसले जिल्लाभरका गाविसको स्थलगत अध्ययन गरी पहिरोलाई न्यून, मध्यम र उच्च गरी तीन भागमा वर्गीकरण गरेको सभापति भूपतीलाल श्रेष्ठले बताए ।

वर्षात्‌को समयमा जमिन कमजोर हुने र पहिरोको जोखिम समेत बढ्ने भएकाले जोखिममा रहेका बस्तीसम्म पुगेर सचेतना र पूर्वतयारीका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यी स्थानमा बारम्बार पहिरो गइरहने, भिरालो जमिन, अव्यवस्थित सडक निर्माणलगायत कारणले गर्दा बाढी पहिरोको उच्च जोखिम देखिएको रेडक्रसले जनाएको छ । गत असार १६ गते राति म्याङलुङ नगरपालिका ५ आमदेनमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहीरोमा परिवारका अन्य तीनजना गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले पनि उपचार चलिरहेको छ ।

रेडक्रसले जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा पुगेर बाढी, पहिरोका साथै आगलागी, खडेरी, अनिकाल र भूकम्पका हिसाबले समेत उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेको जनाएको छ । जोखिम पहिचान गर्दा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्न र आइपर्न सक्ने विपद व्यवस्थापनका लागि सहज हुने रेडक्रसका मन्त्री शिव ढुंगानाले बताए । जिल्लामा विगतका वर्षमा भएका यस्ता प्राकृतिक विपदलाई आधार मानेर कुन गाविसको कुन बस्ती बढी जोखिममा छ भनेर पहिचान गरिएको सभापति श्रेष्ठले बताए । स्थलगत अध्ययनपछि पहिचान भएका जोखिमयुक्त क्षेत्रका बस्तीसहितको नामावली जिल्ला दैवीप्रकोप उद्धार समितिमा बुझाइएको रेडक्रसले जनाएको छ । बाढी, पहिरोको उच्च जोखिम पहिचान भएका बसन्तपुर, आङदीम, आम्वुङ, ईसिवु, जिरीखिम्ती, खाम्लालुङ, ओयाक्जुङ, फुलेक र सुङनाम क्षेत्रका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जोखिम बढी भएका बस्तीका बासिन्दालाई चनाखो भएर बस्न र वर्षात्‌को समयमा सतर्क रहन सूचना गरिएको समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

त्यस्तै, जिल्लाका साविकका ११ गाविस आगलागीको उच्च जोखिममा रहेका छन् । रेडक्रसका अनुसार जिल्लाका छातेढुंगा, चुहानडाँडा, जलजले, म्याङलुङ, ओख्रे, पञ्चकन्या, सिम्ले, सोल्मा, तम्फुला र थोक्लुङका थेरै बस्ती मौसमी आगलागीको हिसाबले उच्च जोखिममा रहेका छन् । छातेढुंगा, म्याङलुङ, ओख्रे, पञ्चकन्या, फाक्चामारा, सिम्ले र थोक्लुङ गाविस अनिकाल र खडेरीको उच्च जोखिममा रहेको तथ्य रेडक्रसले सार्वजनिक गरेको छ । यी क्षेत्रमा बालीनाली लगाउने समयमा लामो समयसम्म सुख्खा खडेरी पर्ने भएकाले अन्न उत्पादन न्यून हुन्छ । जसले गर्दा खाद्यान्नको अभाव हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुख्खा क्षेत्र हुनु र जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा यस क्षेत्रमा देखिनुले पनि यी क्षेत्रमा खाद्य सुरक्षाको अवस्था नाजुक रहेको छ । म्याङलुङ, बसन्तपुर, जिरीखिम्ती, हमरजुङ, संक्रान्ति, ओयाक्जुङ र चुहानडाँडाका बस्तीका धेरै घरहरु भूकम्पको उच्च जोखिममा रहेको रेडक्रस मन्त्री ढुंगानाले बताए । यी स्थानमा बाक्लो बस्ती हुनु र पटक पटकको भूकम्पले घरहरु जीर्ण बनेकाले भूकम्पीय जोखिम बढी रहेको रेडक्रसले औंल्याएको छ ।

त्यस्तै आङदिम, सुङनाम, बसन्तपुर र मोराहाङका बासिन्दा जंगली जनावरको आतंकबाट पीडित छन् । यी गाउँका वन क्षेत्रको संरक्षण भएको र जंगली जनावरको संख्यासमेत ह्वात्तै बढेकाले बस्तीका बासिन्दा जंगली जनावरबाट पीडित हुने गरेको रेडक्रसले जनाएको छ । खेतबारीमा रोपेको खाद्यान्न र घरमा पालिएका पशुवस्तुलाई समेत जंगली जनावरले खाइदिने गरेकाले किसानले ठूलो क्षति व्यहोर्दै आएका छन् । त्यसको असर खाद्य सुरक्षामा परेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

जोखिम न्यूनिकरण प्रयास प्रभावकारी भएन
जोखिम न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले निरन्तर प्रयास गरिरहेका भए पनि त्यति प्रभावकारी देखिएका छैनन् । पर्याप्त बजेट र जनशक्ति अभावमा गरिएका कामको प्रभावकारिता नदेखिएको स्वयम् कार्यालयहरु स्वीकार्छन् । सुख्खाग्रस्त क्षेत्रमा पानीको पाइपलाईन विस्तार गर्न र बस्ती तल रहेका नदीनालाको पानी माथी ल्याउन लिफ्ट प्रणालीको आयोजना सञ्चालन गर्न बजेट अभाव भएको खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयले जनाएको छ ।

बाक्लो बस्ती, फुसका छानो भएका घरको संख्या बढी हुनु, सुख्खा क्षेत्र हुनु र चेतनाको कमी समेतको कारणले वर्षेनी हुने आगलागीको घटना न्यूनिकरण गर्न कठिनाई भइरहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । वन जंगलको संरक्षण, जंगली जनावरको रेखदेख तथा व्यवस्थापन, जलवायु परिवर्तित अवस्थामा अनुकूलित हुने अनुकुलनका योजनाहरु वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले पर्याप्त मात्रामा सञ्चालन गर्न नसक्दा विभिन्न प्राकृतिक जोखिम सहेर वस्न नागरिक बाध्य छन् ।

प्रकाशित : असार २९, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?