कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर निर्धारण अनियमितता : शर्मासहित ३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० अर्ब २ करोड १९ लाख बिगो मागदाबी
कृष्ण ज्ञवाली

काठमाडौं — कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगका तीन पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

कर निर्धारण अनियमितता : शर्मासहित ३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

‘कर फछ्र्योट आयोगबाट विभिन्न कामकारबाही हुँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा छानबिन हुँदा भ्रष्टाचारजन्य काम भएको भेटिएकाले आयोगले मुद्दा दायर गर्ने निर्णय गरेको हो,’ अख्तियारका प्रवक्ता जीवनाथ कोइरालाले कान्तिपुरसित भने, ‘कर संकलनमा प्रतिकूल असर पारी राज्यकोषमा हानि/नोक्सानी हुने खालका क्रियाकलाप गरेको भेटिएको छ ।’

अख्तियारले आयोगका तीनै अधिकारीहरूविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारका अनुसार हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड ६३ लाख ३ हजार ९ सय ४७ रुपैयाँ बिगो मागदाबी छ । बिगोअनुसार भ्रष्टाचार निवारण ऐनकै दफा ७ अनुसार दोब्बर जरिवाना माग गरिएको छ । अख्तियारले बिगो र जरिवानासमेत गरी हरेकसँग १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ मागदाबी गरेको छ । तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँ छ । स्रोतका अनुसार ४३ वटा फाइलहरूमाथि मात्रै अनुसन्धान भएकाले बिगो अझै बढ्ने छ ।

अख्तियारका अनुसार आयोगले क्षेत्राधिकार नाघेर दर्जनौं निर्णय गरेको भेटिएको छ । करछलीका फाइलहरूमा समेत निर्णय गरेर कर मिनाहा भएको छ । अघिल्लो पटक आयोगले निर्धारण गरेर असुल गरेको करसमेत फिर्ता दिने गरी सम्झौता भएको छ । कर निर्धारण भएपछि चित्त बुझाएर मौन बसेका र कुनै विरोधको प्रक्रियामा नगएका कारण बक्यौता रहेका करदातामाथिको करसमेत मिनाहा भएको छ । माग नभएको रकमसमेत छुट दिइएको छ भने नक्कली भ्याट बिल प्रकरणका व्यावसायिक फर्म र कम्पनीहरूको कर पनि मिनाहा भएको छ । अदालतमै विचाराधीन मुद्दासमेत फिर्ता नलिएकै अवस्थामा करदाताको बक्यौता मिनाहा गरिएको छ । त्यसैगरी करदाता आफैंले गरेको घोषणाको भ्याट रकम पनि फिर्ता भएको छ । आयोगको कार्यावधि समाप्त हुने मितिमा समेत सम्झौता गरेको अख्तियार स्रोतले बतायो ।

बन्दीप्रत्यक्षीकरणको बहस जारी
आफ्ना पति चूडामणि शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै कल्पना उप्रेती शर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामाथि सर्वोच्च अदालतमा तेस्रो दिन पनि बहस जारी छ । बहस नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखी सोमबारका लागि मिति तोकिएको छ । हालसम्म निवेदकका तर्फबाट बहस सकिएको छ भने सरकारी वकिलहरूले बहस सुरुवात गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७४ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?