कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन कार्यालयमा नाम लेखाउनेको भीड

ठाकुरसिंह थारु

बाँके — निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् ।

निर्वाचन कार्यालयमा नाम लेखाउनेको भीड

आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । बाँकेको हकमा नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा नामावली संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो दिन आइतबार नामावली भर्नेको भीड लागेपछि निर्वाचन कार्यालयले ५ वटा टोली खटाएको छ । सुरुमा दुई स्थानमा नामावली भर्ने व्यवस्था मिलाइएको थियो । तर, नाम दर्ता गर्न छुट भएका व्यक्ति थपिँदै गएपछि सहजताका लागि स्थान थपिएको हो ।

पहिलो दिन ३ सय बढी व्यक्तिले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । ‘हामीले सोचेभन्दा बढी मतदाता नाम दर्ता गर्न कार्यालयमा आएपछि टोली थपेर दर्ता गरिरहेका छौं । समय अभावका कारण एकै दिन सबैको दर्ता भ्याइएको छैन,’ क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भने, ‘साउन १५ सम्म नाम दर्ता गर्ने समय छ । निर्वाचन कार्यालयमा आएर दर्ता गराउन सकिन्छ ।’

आयोगले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय तोकेपछि राजनीतिक दलहरूले ग्रामीण क्षेत्रका स्थानीयलाई समस्या हुने बताएका छन् । तर, आयोगले जनशक्ति अभाव र समय नभएको भन्दै गाउँमै पुगेर नाम दर्ता गर्न असमर्थता जनाएको छ । उसले गाउँमै टोली पठाएर नामावली दर्ताका लागि एक महिना समय लाग्ने दाबी गरेको छ । जसका कारण राजनीतिक दलका नेताहरूको गाउँमै पुगेर नाम दर्ता गर्ने आग्रह कार्यान्वयन हुन सकेन ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् । बाँकेमा २ लाख ४६ लाख १ सय ३ मतदाता छन् । आयोगले अद्यावधिक गर्न थालेपछि मतदाताहरूको संख्या थपिनेछ । वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

प्रकाशित : श्रावण २, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?