माओवादी ध्यान मधेसतिर

दाहालले नै भेला सञ्चालन र प्रदेश २ का सभालाई सम्बोधन गर्ने
मधेस इञ्चार्ज मातृका यादवमाथि कारबाही गर्न माग
बसन्त बस्नेत

काठमाडौं — माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ । सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला इञ्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरूको भेला तोकेको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो ।

संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमार्फत संविधानको स्वीकार्यता बढाउन आफूले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीय तहमा पठाउने तयारीका लागि भेला डाकिएको नेताहरूले जानकारी दिएका छन् । भेलालाई अध्यक्ष पुष्पकमल दाहाल आफैंले सञ्चालन गर्ने भएका छन् ।

‘मधेसका ८ जिल्लामा स्थानीय चुनाव तयारीमा साथीहरू खटिइसक्नुभएको छ, त्यसैलाई व्यवस्थित गर्न भेला डाकिएको हो,’ नेता अग्निप्रसाद सापकोटाले भने । भर्खरै सकिएको सचिवालयको विस्तारित बैठकले असोज २ को चुनावमा केन्द्रित हुने गरी कार्यक्रम ल्याउने निर्णय गरेको थियो । माओवादीले संविधान र संघीय प्रदेश सीमांकनलाई लिएर मधेसमा केही असन्तुष्टि अझै रहेको भन्दै त्यसलाई सम्बोधन गर्न अधिकतम पहल गर्ने बाटो खोज्ने दाबी गर्‍यो । आइतबार अपराहन पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने पार्टी ‘हेडक्वार्टर’ बैठकले यससम्बन्धी छलफल गर्ने पार्टी स्रोतले जनायो ।

सिरहाबाट निर्वाचित र ‘अरूले भन्दा मधेस मुद्दा बढी बुझ्ने नेता’ का रूपमा माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा प्रदेश २ को प्रचारात्मक अभियान लैजान लागेको हो । आठ जिल्लामा हुने नगरस्तरीय आमसभालाई दाहाल आफैंले सम्बोधन गर्ने नेताहरूले बताए । मधेसकेन्द्रित नेताहरूले भने तत्कालीन ३० दलीय विपक्षी गठबन्धनका संयोजक दाहालले कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गरी आफूहरूलाई धोका दिएको प्रचार गरिरहेका बेला माओवादीले यसलाई चिर्ने रणनीति बनाएको हो । १६ बुँदे सहमतिकै जगमा जारी संविधानलाई मधेसविरोधी भन्दै मधेस केन्द्रित पार्टीका सांसदहरूले हस्ताक्षर गरेनन् । तर तिनै दाहाललाई प्रधानमन्त्री चुन्ने बेला उनीहरूसमेत संसदमा भोट हाल्न आएका थिए ।

संविधान संशोधनमार्फत मधेसको चासो सम्बोधन गर्ने आफ्नो अडान यथावत् रहे पनि एक मधेस प्रदेशको माग भने कुनै पनि हालतमा ब्युँताउन नसकिने नेताहरूले जिकिर गरे । ‘सचिवालय बैठकमा यो एक मधेस प्रदेशको विषय आयो भनी चर्चा बाहिर सुनियो, त्यस्तो कुनै छलफल भएको छैन,’ नेता सापकोटाले भने, ‘हामीले मधेसका असन्तुष्टि सम्बोधन गर्न यो संविधान संशोधन विधेयक पारित गर्ने जिम्मेवारी ठूला दलहरूले देखाउनुपर्छ भन्ने निरन्तर आग्रह र पहल गरेका छौं । त्यसभन्दा पर पुरानो र असान्दर्भिक भइसकेको विषय फेरि ल्याउने काम हामीबाट हुनै सक्दैन । त्यसले संविधान कार्यान्वयनलाई सघाउ पुर्‍याउँदैन ।’

‘मातृकालाई कारबाही गर’
चार वर्षयता चर्चै हराएको एक मधेस प्रदेशबारे यसअघि नेता नारायणकाजी श्रेष्ठले गरेको टवीटका कारण अकस्मात राजनीतिक वृत्तको ध्यान तानिएको थियो । प्रदेश २ का इञ्चार्जसमेत रहेका हेडक्वार्टर नेता मातृका यादवको नाम नलिई श्रेष्ठले गरेको टवीटका कारण यसबारे संशय जन्माइदिएको थियो । श्रेष्ठको टवीटमा भनिएको छ, ‘हाम्रो पार्टी एक मधेस प्रदेशको विरुद्धमा दृढ छ । यो अनावश्यक मात्रै होइन, हानिकारक पनि छ । यसमा कुनै भ्रम नरहोस् ।’ तर पार्टीकै अर्का नेताले असान्दर्भिक ढंगले उठेका चर्चालाई पार्टीकै जिम्मेवार नेताबाट खण्डन हुँदा झन् नकारात्मक प्रचार हुन पुगेको भन्दै आलोचना गरे ।

केही दिनअघि यादवसमेत सहभागी ‘मधेसी भ्वाइस एसेम्ब्ली’ का नाममा राजधानीमा आयोजित भेलामा एक मधेस प्रदेशको मुद्दा ब्यँुताउनुपर्ने प्रसंग उठे पनि त्यसबारे कुनै निर्णय नभएको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले कान्तिपुरलाई जानकारी दिए । ‘त्यस भेलामा मातृकाजी पनि रहनुभएकाले उहाँसँग जोडिएर प्रचार भयो, तर उहाँबाट आएकै थिएन, केही सहभागीले उठाएका हुन्,’ तिवारीले भने, ‘मधेसी भ्वाइस एसेम्ब्ली कुनै औपचारिक संस्था होइन, त्यसमा उठेका कुरालाई माओवादीसँग किन जोड्नुपर्‍यो ?’

मधेसी भ्वाइस एसेम्ब्ली माओवादी नेता यादव र नेसपा गजेन्द्रवादीका तिवारीसहित राजपा नेता महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टी अध्यक्ष रिजवान अन्सारी र नयाँ शक्ति पार्टीका रामकेवल साह सदस्य रहेको पाँच सदस्यीय ‘लुज नेटवर्क’ रहेको तिवारीले प्रस्ट्याए । तर माओवादी नेता श्रेष्ठले एसेम्ब्लीका नाममा भएका गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै यादवमाथि कारबाही माग गरेका छन् । स्रोतका अनुसार उनले गलत र अव्यावहारिक माग राख्दै मधेसको समस्या गिजोल्न खोजेको भन्दै यादवलाई कारबाही गर्न आइतबारको हेडक्वार्टर बैठकमा प्रस्ताव लैजाने तयारी गरेका छन् । ‘मधेसको मुद्दा कट्टर ढंगले उठाउँदै आएको राष्ट्रिय जनता पार्टीले समेत अब सकिँदैन भनेर छाडिसकेको मुद्दा हाम्रै साथीहरूले उठाइदिने ? यो के गर्ने खोजेको ? यसले संविधान कार्यान्वयन हुन्छ कि भाँडिन्छ ?’ श्रेष्ठले शनिबार आफ्नो निवासमा केही निकटस्थ नेतासँग भनेका थिए ।

हेडक्वार्टरका नेता तथा प्रदेश २ इञ्चार्ज यादव भने भेलाकै पूर्वसन्ध्यामा नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएको उनका छोरा रविकिरणले जानकारी दिए । माओवादी केन्द्रले जिल्लाबाट राजधानी आउन मातहत कमिटी नेताहरूलाई निर्देशन दिइसकेको भन्दै भेला नरोकिने जानकारी दिएको छ । आइतबारको बैठकले प्रकाशन विभाग, प्रचार विभागलगायत केही केन्द्रीय विभाग गठन गर्ने नेता विश्वभक्त दुलाल ‘आहुति’ले जानकारी दिए ।

प्रकाशित : श्रावण १५, २०७४ ००:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बाबुराम भन्छन्– फोरमसँग एकताको अध्याय सकियो

बसन्त बस्नेत

काठमाडौं — नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको अध्याय सकिएको घोषणा गरेका छन्।

फोरमले भने एकताका लागि सैद्धान्तिक कुरा मिलिसकेको भन्दै तेस्रो चरणको चुनावअगावै एकता हुन सक्ने सम्भावनाको ढोका खुलै राखेको जनाएको छ। शुक्रबार दुवै दलको केन्द्रीय समिति बैठक सकिएपछि यसबारे नेताहरूको दुईखाले अभिव्यक्ति सार्वजनिक भएको हो।

‘फोरम परम्परागत शक्ति नै रहेछ, नयाँ वैकल्पिक शक्ति बनाउने स्पिरिट र प्रक्रियालाई उसले अत्यन्तै जड ढंगले बुझ्यो,’ भट्टराईले नयाँ शक्ति संघीय परिषद् बैठकपछि भने, ‘वैचारिक राजनीतिक कुरादेखि संगठनात्मक विषयमा सहमति नभएपछि ऊसित लामो समयदेखि चल्दै आएको एकताको अध्याय अब समाप्त भएको छ।’ भट्टराईले आफू आबद्ध पुरानो दल माओवादी केन्द्रमा फर्कने सम्भावनाबारे आइरहेका खबर भ्रमपूर्ण रहेको भन्दै ‘सपना नदेख्न’ माओवादी नेताहरूलाई चेतावनी दिए। 
शुक्रबारै सकिएको फोरम बैठकमा भने नयाँ शक्तिसित एकता प्रयासबारे अध्यक्ष उपेन्द्र यादव र वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले ब्रिफिङ गरेका थिए। यादवले आफ्नो पार्टीको सांगठनिक शक्ति र जनाधारलाई आधार मानेर नेतृत्व निर्माण गर्ने प्रस्तावमा नयाँ शक्ति पछि हटेको बताएका थिए। वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले एकताको सैद्धान्तिक कुरा मिलिसकेको भन्दै संगठन संरचना टुंगो नलाग्दा अघि बढ्न कठिन भएको जानकारी दिए। तर उनले एकताको ढोका बन्द भइनसकेको भन्दै तेस्रो चरणको स्थानीय चुनावअगावै नयाँ शक्तिसित सघन वार्तामा बस्ने बैठकमा बताए।
‘नयाँ शक्तिसित पटक–पटकको वार्तापछि अब सैद्धान्तिक/वैचारिक पक्ष टुंगो लागिसकेको छ, भइराखेको प्रगतिबारे मिडियामा बढी हल्ला भएर अनेक शंका उपशंका हुन पुग्यो,’ फोरम सहअध्यक्षसमेत रहेका एकता वार्ता समिति संयोजक श्रेष्ठले भने, ‘उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि संघीयता र समतामूलक समृद्धिका लागि समाजवादलाई सैद्धान्तिक आधार मान्ने सहमति भइसकेको छ। नयाँ शक्तिले अघि सारेको पाँच ‘स’ को सिद्धान्त संघीय समाजवादभित्र अटाउन हामी सहमत भइसकेका छौं।’ 
भट्टराईले भने फोरमले संघीय समाजवादको विचार छाड्न नमानेको भन्दै यसैका कारण एकता हुन नसक्ने तर्क गरे। भट्टराईले बैठकमा एकता प्रयासको औचित्यबारे बोल्दै भने, ‘अब जानुपर्ने बाटो आर्थिक समृद्धिको हो, तर फोरमका साथीहरूको प्रस्तुति हेर्दा उहाँहरू संघीयतालाई जडतापूर्वक बुझिरहनुभएको छ भन्ने देखियो। प्रदेश २ को राजनीतिभन्दा उहाँहरूको सोच माथि उठेको देखिएन।’ उनले फोरमको संघीय समाजवाद मान्न नसकिने पनि खुलेरै राखे।

नयाँ शक्ति संघीय परिषद् विघटन
शुक्रबार सकिएको नयाँ शक्ति बैठकले दुई चरणको स्थानीय चुनाव पराजयको समीक्षा गर्दै चुस्त नेतृत्व निर्माणको सुरुवातका लागि भन्दै संघीय परिषद् भंग गर्ने निर्णय गरेको छ। संघीय परिषदको हैसियत केन्द्रीय समिति बराबरको थियो। अब नयाँ शक्तिभित्र संयोजक भट्टराई मात्रै आधिकारिक जिम्मेवारी पाएका नेता रहनेछन्। ‘प्रथम महाधिवेशन आयोजक कमिटी गठन गर्ने अधिकार निर्धारित मापदण्डका आधारमा पार्टी संयोजकलाई दिइएको छ, महाधिवेशन आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा आयोजना गरिनेछ,’ भट्टराईले जारी गरेको वक्तव्यमा भनिएको छ।

प्रवक्ता देवकोटाको राजीनामा
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले चुनाव पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा गरेका छन्। संघीय परिषद् विघटन हुनुअगावै साउन १० गते भट्टराईलाई भेटेर राजीनामा दिएको उनले जानकारी दिए। दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादी पहिलोबाट तेस्रोमा झर्दा नैतिक जिम्मेवारी दिँदै अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने माग गरेको सन्दर्भ सम्झाउँदै उनले त्यही त्याग देखाउन नेतृत्वलाई चुनौती दिए। ‘यति ठूलो हारका पछाडि कहीं न कहीं समस्या छ, यसको जिम्मा कसै न कसैले लिनुपर्छ जस्तो लागेर मैले प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निर्णय लिएँ,’ देवकोटाको वक्तव्यमा उल्लेख छ। तर आफूले पार्टी नछाडेको उनले बताए। उनले नयाँ शक्ति पछिल्ला दिनमा उल्टो हिँडिरहेको आरोप पनि लगाएका छन्।

 

कहाँ अड्कियो गाँठो?

दुवै पक्षका नेताले सैद्धान्तिक पक्षलाई अवरोधक देखाए पनि पदीय बाँडफाँटमै कुरा अडकेको खुलेको छ। भट्टराई निकट स्रोतका अनुसार यादवलाई अध्यक्ष बनाए पनि भट्टराई केही कार्यकारी अधिकार आफूसँग राख्न चाहन्थे। तर फोरम पक्षले अध्यक्षको अनुपस्थितिमा मात्रै अरूले कार्यकारी अधिकार प्रयोग गर्ने अडान लिएपछि भट्टराई असन्तुष्ट रहे। एकताका लागि नयाँ शक्ति पक्षको व्यग्रता देखेपछि फोरम पक्षले यसलाई कमजोरीका रूपमा बुझेर उपयोग गर्न खोजेकोमा भट्टराईको आक्रोश थियो। भट्टराईले अध्ययन अनुसन्धान र वैचारिक कामबाहेक सम्पूर्ण रूपमा सेरेमोनियल भूमिकामा बस्नुपर्ने भनी फोरम नेताले अड्डी लिएको नयाँ शक्तिको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो।
‘हाम्रो कुरा पार्टीको नाममा पनि मिलेन, उहाँहरूले नयाँ पार्टी निर्माण गर्नेभन्दा पनि तीन–चार वटा पार्टीको क्लबजस्तो बुझ्नुभएको रहेछ। फोरम, अशोक राईको संघीय समाजवादी, युवराज कार्कीको खस पार्टी दुई वर्षअघि नै मिलिसकेको हुनाले अब नयाँ शक्ति चौथो पार्टीका रूपमा सहभागी बन्नुपर्ने तर्क गर्न थालेपछि कुरा नमिल्ने पक्कापक्की भयो,’ वार्तामा सहभागी हुँदै आएका भट्टराईनिकट एक नेताले कान्तिपुरसँग भने, ‘फोरमका साथीहरूले गुटभन्दा माथिको सोच राखेको देखिएन। हाम्रो पार्टीभित्र व्यापक विरोध हुँदाहुँदै पनि बाबुरामजी एक्लै एकता प्रयास सफल गरिछाड्ने मुडमा हुनुहुन्थ्यो, उहाँको सोचलाई फोरमका साथीहरूले अपमान गर्नुभयो।’
फोरम नेताहरूले भने भट्टराई प्रधानमन्त्री भइसकेको नेता हुनाले उनलाई नेता मान्न कठिनाइ नरहेको जिकिर गरे। यादवनिकट एक नेताको भनाइमा केही सांगठनिक बहस मिल्नेबित्तिकै एकता घोषणा हुन सक्छ। फोरमसँग वार्तामा भट्टराईसहित देवेन्द्र पौडेल, पर्शुराम तामाङ, पर्शुराम खापुङ, केशव दाहाल रहने गरेका थिए। फोरमबाट श्रेष्ठसहित हेमराज राई र रेणु यादव सहभागी थिए। यसअघि फोरमको असार २४ र २५ गते पदाधिकारी बैठकले तेस्रो चरणको स्थानीय चुनावअगावै नयाँ शक्तिसँग एकता गरिसक्ने निर्णय लिएको थियो। असार ३० र ३१ गतेको राजनीतिक समिति बैठकले त्यसै नीतिलाई अनुमोदन गर्‍यो। नयाँ शक्ति र फोरमले भर्खरैको स्थानीय चुनावमा संयुक्त उम्मेदवारी घोषणा गर्दै एउटै चुनाव चिह्न मसाल लिएर लडेका थिए। दुई पार्टीको कुरा नमिलेको अवस्थामा तेस्रो चरणमा त्यस चिह्नमाथिको नयाँ शक्तिको अधिकार रहन नहुने फोरमका केही नेताको तर्क छ। नयाँ शक्तिले निर्वाचन आयोगबाट आफ्नो छुट्टै चिह्न पाएको छैन

प्रकाशित : श्रावण १४, २०७४ ०६:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT