कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई भेटिनन् स्वराजले

कान्तिपुर संवाददाता

काठमाडौं — भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् । बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारूढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरूसँग भेटवार्ता गरेर फिरेकी हुन् ।

ओलीलाई भेटिनन् स्वराजले

कूटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्राय: छुट्दैनन् । अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कूटनीतिक स्रोतले बताएको छ । कार्यकारी प्रमुख र प्रमुख प्रतिपक्ष दलका नेतासँगको भेटवार्तापछि मात्र सम्बन्धको यथार्थ र गहिराइमा पुग्ने हुनाले त्यो खालको भेट हुने परम्परा हुन्छ । तर, स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि दुईपक्षीय छलफल गरिनन् । उनी महराकै निमन्त्रणामा नेपाल आएकी हुन् ।
स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरूसँग भेट गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेकी थिइन् । राजपाले पारित भए पनि नभए पनि आफूलाई मान्य हुने भन्दै संविधान संशोधन प्रस्ताव पेस गर्न सहमति जनाएको छ । पहिलेदेखि बहस भए पनि भेटपछि यस्तो धारणा आएकाले यसलाई संयोगका रूपमा हेरिएको छ । स्वराजले उनीहरूलाई निर्वाचनमा भाग लिनसमेत आग्रह गरेकी एक नेताले दूतावास परिसरमा जानकारी दिएका छन् ।


भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा पुगेका थिए । १५ अगस्ट स्वतन्त्रता दिवस भए पनि स्वराज आएकै कारण चार दिनअघि उक्त कार्यक्रम भएको हो । राष्ट्रिय दिवस तथा अन्य कार्यक्रममा उपराष्ट्रपति जाने प्रचलन रहेको भए पनि विशेष अवस्था भन्दै प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री नै ‘इन्डिया हाउस’ प्रांगणमा पुगेका थिए । स्वराजको सम्मानमा आयोजित कार्यक्रममा उनी पुगेको बताइएको छ । देउवाले भारत स्वतन्त्रतापछिको दुईपक्षीय सम्बन्धले नेपाललाई फाइदा पुगेको बताए । सरकारले नेपाल–भारत सम्बन्धलाई प्राथमिकतामा राखेर नै सहकार्यलाई अघि बढाउनेसमेत बताए । कार्यक्रममा स्वराजले नेपाल–भारतको उच्च प्राथमिकतामा रहेको बताउादै अहिले भएको सहकार्यले मुुलुकलाई विकासको गति दिने बताउँदै सहज सत्ता हस्तान्तरणको प्रशंसासमेत गरिन् । कार्यक्रममा भारतको सहयोगमा नेपालमा निर्माण भएका पूर्वाधार र आयोजनाहरूको भिडियो देखाइएको थियो । हिमाल, पहाड, तराई सबै क्षेत्रमा भारतीय सहयोग रहेको छ । दूतावासमा आयोजित कार्यक्रममा ५ सयभन्दा बढीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले स्वराजलाई राजदूत निवास ‘इन्डिया हाउस’ मा नै छुट्टै भेटवार्ता गरेका थिए । कार्यक्रमपछि उनले स्वराजसँग भेटवार्ता गरेका हुन् । पछिल्लो राजनीतिक अवस्था र भारतीय सहयोगलगायतको विषयमा छलफल भएको बताइएको छ । 

प्रकाशित : श्रावण २८, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?