कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारी वर्षाले बाराको जनजीवन अस्तव्यस्त, घर भत्किँदा १ को मृत्यु

लक्ष्मी साह

बारा — जिल्लाको जनजीवन तीनदेखिको भारी वर्षाले अस्तव्यस्त बनेको छ । सहरदेखि गाउँ जलमग्न भएको छ ।शनिबार घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी पत्नी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको हो ।

भारी वर्षाले बाराको जनजीवन अस्तव्यस्त, घर भत्किँदा १ को मृत्यु

जिल्लाको जनजीवन तीनदेखिको भारी वर्षाले अस्तव्यस्त बनेको छ । सहरदेखि गाउँ जलमग्न भएको छ ।

शनिबार घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी पत्नी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको हो । लगातारको वर्षाले घर भत्किदा पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले बताए । स्थानीयहरुले उद्धार गर्दा घरको अन्य सदस्य जोगिएका छन् ।

अविरल वर्षाले जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैयालगायत खहरे खोलाबाट बाढी पसेर जिल्लाका अधिकांश ठाउँ डुबानमा परेका छन् । वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले क्षति पुऱ्याएपछि दैवीप्रकोप उद्धार समितिले क्षति संकलनमा जुटेको छ । दैवी प्रकोप उद्धार समितिको तर्फबाट जिल्लाभरिमा भएको क्षतिको विवरण संकलनसँगै उद्धारको तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाट बजार, विभिन्न विद्यालय जलमग्न भएको छ । पानी परेसँगै मौसमको गडबडीले सिमरा–काठमाडौंको उडान प्रभावित भएको सिमरा नागरिक उड्ययन कार्यालयका एयर ट्राफिक कन्ट्रोलर अमृत पोखरेलले बताए ।

जल तथा मौसम विज्ञान विभाग सिमरास्थित फिल्ड कार्यालयका प्रमुख केशव घिमिरेका अनुसार तीन दिनयता १ सय ४९ दशमलव ४ मिमि वर्षा भएको छ । यसवर्षको मनसुनमा अहिलेसम्कै उच्च वर्षा भएको उनले बताए । वर्षाले तापक्रम घटाएको छ । बिहीबार ३० दशमलव ५ र शुक्रबार २९ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले बताए ।

अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सावारी आवागमन ठप्प भएको बस व्यवसायी संघका विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ । सरकारी कार्यालयहरुमा सेवाग्रही घटेका छन् । विकास निर्माणका काम ठप्प भएको छ । अधिकांश खेत डुबानमा परेको छ । डुबानले धान गल्ने र बसोबासका कमजोर कच्ची घर भत्किने सम्भावना बढेको छ ।

अझै केही दिन भारी वर्षा भइरहने जल तथा मौसम विज्ञान विभागले बताएपछि सर्वसाधारणहरुमा क्षतिको चिन्ता बढेको छ ।

प्रकाशित : श्रावण २८, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?