कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडीमा बाढीको दशा

१६ घर भत्कियो
३ सय घर बस्न नहुने गरि क्षति

माडी (चितवन) — माडी-१ बनकट्टाका ६७ वर्षीय यमबबहादुर अधिकारी शनिबार बिहान टोलाईरहेका थिए । लगातारको वर्षा पछि रियू खोलामा आएको बाढीले घर डुबानमा पर्न थालेकाले उनी परिवारका सदस्य सहित छाना माथि चढेर ज्यान जोगाएका थिए । राति ४ घण्टा छाना बसेर ज्यान जोगाएका अधिकारी निकै तनावमा थिए ।

माडीमा बाढीको दशा

बाढीले अधिकारीको घरभित्रको लत्ता कपडा अन्नपात सबै बगायो । ‘यस्तो बाढी कहिले देखेको थिएनँ,' उद्धारमा पुगेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सहित सुरक्षाअधिकारीको टोली सामू उनले भने, ‘राति बाँचिन्छ जस्तो एकमनले पनि सोचेको थिइन् ।’ राति दसबजे पानीको सतह बढेर घरभित्र पस्न थाले पछि उनीहरु ज्यान जोगाउन छाना माथि चढेका थिए । प्रमुख जिल्ला अधिकारी भट्टलाई हात समातेर उनले भित्र लगेर क्षति भएको देखाए ।

लगातारको वर्षा पछि आएको बाढीले माढी नगरपालिकामा १६ घरमा क्षति पुगेको छ । त्यहाँका १० वटा पुल बगाएकाले यातायात बन्द छ । मानिसको आवागमनमा कठिनाई भएको छ । रियू र चितै खोलाबाट जोगाउन लगाइएको १२ वडा ड्याममा क्षति पुगेको प्रजिअ भट्टले जानकारी दिए । भट्टका अनुसार ३ सय घरमा आशिंक क्षति पुगेर बस्न नहुने भएको छ । स्थानीयको १५ वटा माछा पोखरीमा बाढीले क्षति पुगेको छ । माडी स्थित बसन्तपुर क्षेत्रको टेलीफोन सेवा अवरुद्ध छ । एक महिना देखी विद्युत आपूर्ति बन्द छ । खानेपानीका धेरै जसो धारामा क्षतिपुगको छ । पुन: बाढी आउने भन्दै मानिसहरु सडकमा बसेका छन् । केही ज्यान जोगाउन रुखमा चढेका थिए ।

माडी-२ भैरवपुरकी समा परियारले चैता खोलामा आएको बाढीले घर डुबानमा परे पछि नजिकको पिपलको रुखमा चढेर ज्यान जोगाएको बताइन् । उनी भक्कानिँदै भन्छिन्, ’रात भर रुखमा चढेर ज्यान जोगायौं ।’ त्यहाँ ३ घरका १३ परिवार राति ४ घण्टा सम्म रुखमा बसेर ज्यान जोगाएका थिए । माडीमा २०६७ सालमा आएको बाढीले ठूलो क्षति पुगेको थियो ।

प्रकाशित : श्रावण २८, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?