'श्रीमती र छोरी गुमाएँ, घर बगायो'

झापामा बाढी कहर
पर्वत पोर्तेल

सहरेडाँगी (झापा) — झापा गाउँपालिका-३ सिमलबारीका टेकबहादुर दर्नाल अहिले दोहोरो पीडामा छन् । गत शुक्रबार राति कन्काई नदीमा आएको बाढीले ३५ वर्षीय श्रीमती कमला र ३ वर्षकी सानी छोरी खुसीलाई लुटेर लग्यो । आमा–छोरीसँगैसँगै घर पनि बग्यो । दर्नाल अहिले बेघर भएका छन् । बेघर उनी नातेदारको आश्रयमा छन् ।

मेचीनगर-१२ खहरेडाँगीस्थित आफन्त (शरमान बराइली) को घरमा उनले श्रीमती र छोरीको काजकिरिजा गरिरहेका छन् । ‘घर बगाउँदा केही थिएन, तर श्रीमती र छोरी नै वगाउँदा पीडा सहनै गाह्रो भइरहेको छ,' आइतबारदेखि श्रीमती र नाबालिका छोरीको किरियामा बसेका टेकबहादुर भक्कानिए,‘यस्तो पीडा कसैले भोग्नु नपरोस् ।’

गत शुक्रबार राति घनघोर वर्षा हुँदा टेकबहादुर श्रीमती र सानी छोरीसँगै घरमा थिए । मध्यराति कन्काईको बाढी गाउँ पस्यो । परिवारका तीनै जना ज्यान जोगाउन हत्तपत्त उठे । छिमेकमा गुहार मागे । तर, छिमेकी पनि ज्यान जोगाउन घर छाडेर भागिसकेका रहेछन् । ‘श्रीमतीले घर छेउको गोठमा बाँधेको गोरु फुकाएर आउनु पर्खिएर बस्छु भनेकी थिइन्’, टेकबहादुरले घटनाको बेलीबिस्तार लगाए,‘गोरु फुकाएर आउँदा न श्रीमती थिइन्, न छोरी नै ।’

टेकबहादुर गोरु फुकाउन गएकै बेला कन्काईको भेल घरमा पसेछ । अनि आमा–छोरीलाई बगाएछ । उनको ज्यान संयोगले बच्यो । मध्यरातमा बगाएका आमा–छोरीलाई खोजी हेरे । तर, भेटेनन् । ‘मलाई पनि ज्यान बचाउन हम्मे पर्‍यो,' टेकबहादुरले सुनाए, ‘धन्न, कसो कसो गरेर म चाहिँ बाँचेछु ।’ उनले अलि कम पानी भएको स्थानमा उभिएरै रात कटाए ।

बिहान छरछिमेकको सहयोगमा श्रीमती र छोरीलाई खोज्दै जाँदा घरदेखि करिव ३ किलो मिटर दक्षिण शव फेला पारे । वाढीले किनारा लगाएर छाडेको अवस्थामा । पानी परिरहेकै थियो ।

सुरक्षाकर्मीहरु पुग्न सक्ने अवस्था थिएन । वर्षा कम भएपछि वाढी पनि घट्यो त्यसपछि प्रहरीको सहयोगमा शव पहिचान गरेर ल्याए । आइतबार आमा–छोरीको एउटै चितामा सद्गत गरे ।

नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभाग आपतकालिन कार्यसञ्चालन केन्द्र भद्रपुरका अनुसार झापामा चार दिनको वर्षापछि आएको वाढीले १२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

तीन जना अझै बेपत्ता छन् । राजमार्गका र राजमार्ग दक्षिणका ७ नगर र ६ गाउँपालिकाका करिव २ हजार १९ परिबार प्रभावित भएका छन् । १ हजार ८ सय ९६ परिवार विस्थापित बनेका छन् भने १२ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रकाशित : भाद्र १, २०७४ ११:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रुकुमको दुर्गम गाउँ खदीमा अज्ञात राेगका कारण २ सय बढी बिरामी

महामारीको रुप लिन सक्ने भन्दै चिन्ता व्यक्त
हरि गौतम

रुकुम — आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् ।



नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताए । भिन्नभिन्न लक्षणका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको प्रमुख केसीले बताए । साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन । स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले बताए । हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ । एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब १ जना भरिया औषधिसहित खदीतर्फ गएको नगर प्रमुख केसीले बताए ।

‘बिना कुनै जाँच अनुमानका भरमा औषधि लिइएको छ,’ उनले भने, ‘त्यो औषधि उक्त रोगका लागि फिट हुने हो वा होइन थाह छैन । एकजनाले मात्रै बोकेको औषधिले कतिजना बिरामीलाई पुग्ने हो त्यो पनि समस्यै छ ।’ यसलाई तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी चिन्ता नगर प्रमुख केसीेले व्यक्त गरे ।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्को १ जना अहेब बुधबार जिल्ला अस्पतालबाट औषधिसहित त्यसतर्फ गएका हुन् । उनीहरु आज बेलुकासम्म सो स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताए ।

प्रकाशित : भाद्र १, २०७४ ११:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT