कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा

पुरानै सहमति, सम्झौता तथा परियोजनाहरुको कार्यान्वयनमा केन्द्रित रहने
कमलदेव भट्टराई

नयाँ दिल्ली — प्रधानमन्त्री शेरवहादुर देउवाको आगामी बुधवारदेखि हुने पाँच दिने भारत भ्रमणको सम्पूर्ण तयारी पुरा भएको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ । सम्भवत सोमवार दुवै पक्षले भ्रमणको औपचारिक घोषणा गर्ने छन् । भ्रमणको औपचारिक घोषणामा भएको ढिलाइले तयारीमा समेत केही असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण आउन लागेका देउवाको यो पहिलो विदेश भ्रमण हो । विगत एघार महिनामा प्रधानमन्त्रीको तहमा भारतमा हुन लागेको यो तेस्रो भ्रमण हो । यस अगाडी प्रधानमन्त्री हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले गत सेप्टेम्वरमा भारतमा औपचारिक भ्रमण र अक्टोवरमा भारतको गोवामा भएको व्रिक्सको विमस्टेक आउटरिज कार्यक्रमा सहभागी हुनको लागि भारतको भ्रमण गरेका थिए ।

समाचार स्रोतका अनुसार आगामी बुधवार देउवा मध्यान्ह नयाँ दिल्ली आइपुग्ने कार्यक्रम रहेको छ । त्यही दिन उनले दिल्लीमा रहेको नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । दिल्ली आए लगत्तै देउवाले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस बाहेक दिल्ली दुतावासले देउवाको सम्मानमा रात्री भोजको आयोजना गर्ने छ भने देउवाले विजनेस समुदायसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको मुख्य राजनीतिक भेटघाट भने विहीवार हुने कार्यक्रम भएको भएको स्रोतले जानकारी दिएको छ । त्यसैदिन उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । भारतका नवनियुक्त राष्ट्रपति कोविन्दसंग भेटघाट गर्ने देउवा सम्भवत पहिलो विदेशी सरकार/राज्य प्रमुख हुने छन् । त्यसैगरी भारतीय केही मन्त्रीहरुले देउवासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

दिल्लीको भेटघाट सकेर देउवाले हैदरावादको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले सुचना प्रविधि तथा फर्मा उद्योगको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी देउवाले वोधगयाको समेत भ्रमण गर्ने जानकारी अधिकारीहरुले दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमण पुरानै सहमति, सम्झौता तथा परियोजनाहरुको कार्यान्वयनमा केन्द्रित रहने छ । त्यसवाहेक द्विपक्षीय सहयोग र सम्झौतका नयाँ क्षेत्रहरु पहिल्याउने र त्यसमा सहकार्य गर्ने विषयमा समेत छलफल भईरहेको बताइएको छ ।

विशेषगरी विगतका केही भ्रमणहरु पुराना सहमति सम्झौतामा केन्द्रित रहेकाले अब नयाँ क्षेत्रहरुको पनि पहिल्याउन आवश्यक भएको भनि छलफल भईरहेको जानकारी अधिकारीहरुले दिएका छन् । पुराना परियोजनाहरुका पन्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली यस पटकको उच्च प्राथमिकतामा रहने छ । 

विशेषगरी अरुण तेस्रो परियोजनामा देखिएका विवादहरुलाई मिलाएर सकेसम्म छिटो त्यसको शिलन्यासका लागि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने विषयमा समेत छलफल भईरहेको छ । डुवान, उर्जा वैङ्कलगायतका अन्य दुई दर्जनभन्दा बढी एजेण्डाहरुमा देउवाको भारत भ्रमणको समयमा छलफल हुनेछ । 

प्रकाशित : भाद्र ४, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?