कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपीडितको उपचारमा जाँदै केसी

काठमाडौं — ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् ।

बाढीपीडितको उपचारमा जाँदै केसी

यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेको उनी निकटहरूले बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारत भ्रमणमा रहेकाले उनी फर्किएर आउञ्जेल केही दिन केसीले सरकारलाई माग पूरा गर्न समय दिनेछन् । मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार, अपराध सार्वजनिक हुँदा पनि त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति तीर्थ खनियाँलाई कारबाही नगर्नुले सबैको मिलेमतोमा सम्बन्धनलगायत चलखेल भएको आरोप डा. केसीको छ । ‘गैरकानुनी सम्बन्धन प्रकरणमा प्रम देउवासहित वर्तमान सरकार कानमा तेल हालेर बस्नु भनेकै ठूलो चलखेल हो,’ केसी भन्छन् । हाल सरकार, दल, नेता, पदाधिकारीले आफ्ना माग नसुनेको उल्लेख गर्दै केसीले भने, ‘जनताले सरकारलाई माग पूरा गर्न बाध्य तुल्याउने छन् ।’ 

हाल आफू पूर्णरूपमा स्वस्थ नभए पनि बाढीपीडित नेपालीबीच पुगेर सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् । आफ्नो सबैभन्दा लामो २३ दिनको अनशन स्थगन गरेको ९ दिन मात्र भएकाले अलि शारीरिक समस्या देखिन सक्ने भए पनि यसले खासै असर नपर्ने उनी बताउँछन् ।

प्रकाशित : भाद्र ८, २०७४ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?