कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ३ को राजधानी हेटौंडा राख्न माग

हेटौडा — मकवानपुरका राजनीतिक दल, स्थानीय तह र यहाँका संघ संस्थाहरुले तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा राख्न सरकारसँग माग गर्नुको साथै दबाब दिन थालेका छन् ।

प्रदेश ३ को राजधानी हेटौंडा राख्न माग

हेटौंडा उपमहानगरपालिकाको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार, हावापानी, सडक सञ्जाल, उपयुक्तस्थल र फराकिलो भूभाग भएकाले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा राख्नु पर्ने निर्णय गरेको छ । हेटौंडालाई प्रदेशको राजधानी तोक्दा सरकारलाई आर्थिक व्ययभार नपर्नेसमेत निष्कर्ष निकालिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने, ‘प्रदेशस्तरीय कार्यालयहरुको निम्ति आवश्यक पर्ने भवन एवं पूर्वाधारहरु विद्यमान रहेकाले तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा राख्न सरकारसँग माग गरेका छौं ।’

यसै गरी जिल्ला समन्वय समिति मकवानपुरले तीन नम्बर प्रदेशको राजधानी हेटौंडामात्र एक उपयुक्तस्थल भएको दाबी गर्दै प्रदेशको राजधानी हेटौंडामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । मकवानपुरका राजनीतिक दलहरुले ३ नम्बर प्रदेशको राजधानी हेटौंडालाई तोक्न सरकारसँग माग गरेका छन् । हेटौंडामा बसेको संयुक्त सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौंसँग मात्र होइन, मुलुकको सबै क्षेत्रमा आवत—जावत गर्न सडक सञ्जाल रहेकाले प्रदेशको राजधानी हेटौंडामा राख्न उपयुक्त हुने ठहर यहाँका राजनीतिक दलहरुको ठम्याइ रहेको छ । विभिन्न पेसामा आवद्ध व्यक्तिहरु सम्मिलित एक दबाब समुह पनि गठन गरेको छ ।

प्रकाशित : भाद्र १८, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?