कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा सदस्यले नै लगाए कार्यालयमा नै ताला

स्थानीय तह बेथिती

काभ्रे — एकलौटीरुपमा अघि बढेको भन्दै वडा सदस्यले नै कार्यालयमा तालाबन्दी गरेका छन् । धुलिखेल १२ नं वडाका सदस्य प्रविण सापकोटा र उनको पार्टी कांग्रेसले वडाअध्यक्ष, सचिवको कार्यकक्ष र कार्यलयको गेटमा तालाबन्दी गरेको हो ।

शंखुपाटीचौर स्वास्थ्यचौकीमा कार्यरत मुना लामालाई राजनीतिक आस्थाका आधारमा हटाएको र त्यही कार्यरत लक्ष्मी तामाङलाई बिना प्रकृया नियुक्ति गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरिएको सापकोटाले जानकारी दिए ।

‘विकास निर्माणदेखि सबै कुरामा राजनीतिक आश्थाका आधारमा अघि बढेकाले तालाबन्दी गरेका हौँ,’ वडा सदस्य प्रविण सापकोटाले भने, ‘जनताका प्रतिनिधी भन्ने अनि एउटा पार्टीको मात्रै काम गर्नुभएन ।’ वडा अध्यक्षसहित बहुमत सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

एकै समयमा नियुक्ति लिएका मुना लामा र लक्ष्मी तामाङमध्ये लक्ष्मीको करार अवधी थप्ने निर्णय नगरपालिकाले गरेको थियो । वडाअध्यक्ष हर्कबहादुर तामाङले करारमा नियुक्ति भएका सबैको नवीकरणको लागि सिफारिस भएकोमा एक जनाको मात्रै म्याद थप्ने निर्णय भएको बताए । ‘कुनै भेदभाव गरेको हैन,’ उनले भने, ‘दुबैको सिफारिस गर्दा दुईमध्ये एक जनाको मात्रै म्याद थप्ने निर्णय भएछ ।’

धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दीप केसीले राजनीतिक आस्थाको आधारमा नभइ पुराना कर्मचारीलाई निरन्तरता दिने निर्णय भएको बताए । ‘राजनीतिक आस्थाका आधारमा काम गरेको भन्ने कुरा गलत हो,’ उनले भने, ‘काम गरेको आधारमा पुरानो कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको हो ।’

कर्मचारी नियुक्ति गर्दा उसले कुनै सूचना र प्रकृया समेत भएको छैन । केसीले स्वास्थ्य संस्था प्रमुखलाई नै सिफारिस गर्न आन्तरिक सूचना जारी गरिएको बताए ।
पुरानोलाई निरन्तरता दिँदा आफ्ना कार्यकर्ता बढी पर्ने देखेपछि सोही विधी अवलम्बन गरिएको आरोप छ । शारदाबतासे, पात्लेखेत, काभ्रेभञ्ज्याङ, शंखुपाटीचौरमा रहेका दुई मध्ये पुरानोलाई राख्ने निर्णय भएको केसीले दाबी गरे ।

कुतालमा भने करारको लाई हटाएर श्रीखण्डपुरमा भएको दुई मध्ये १ जनालाई सरुवा गरिएको छ । पकुचा र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा रहेका करार कर्मचारीलाई नै निरन्तरता दिइएको छ ।

प्रकाशित : भाद्र १९, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?