कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्राे चरणकाे स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल, कतै कुरा मिल्यो, कतै वार्ता जारी

मिथिला र निजगढ नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र
लालबन्दी र जितपुर–सिमरा उपमहानगरको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा कांग्रेस
निर्णय हुन बाँकी : गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाह लगायतका नगरपालिका

काठमाडौं — सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ । अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ । दुवै पार्टीभित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन् ।

तेस्राे चरणकाे स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल, कतै कुरा मिल्यो, कतै वार्ता जारी

धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो । त्यसबाहेक गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको छ ।

माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहका अनुसार उम्मेवारी दर्ताको अन्तिम समयसम्म पनि तालमेलको पहल जारी रहनेछ । कांग्रेस र माओवादीका नेताहरू वडासम्मै पनि मिलाउनुपर्ने भएकाले तालमेलका लागि अझै कसरत गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँग तालमेल गर्नेबारे स्पष्ट पारेका छन् । उनले तालमेलको सम्भावनालाई ख्याल गरेर धेरै स्थानमा मिलाउने प्रयास भइरहेको जानकारी दिए । ‘तालमेलबारे छलफल भइरहेको छ, तर कसरी अघि बढ्छ भन्न सकिन्न,’ कान्तिपुर फाउन्डेसनद्वारा बाढीपीडितका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रममा मंगलबार प्रधानमन्त्री देउवाले भने, ‘केही ठाउँमा तालमेल गर्ने विषयमा छलफल भइरहेको छ ।’ 

केही स्थानमा उम्मेदवारी दर्ता भएपछि पनि फिर्ता लिने समयसम्म तालमेल मिलाउने प्रयास हुनेछ । नेताहरूले बुधबार मनोनयन परेर फिर्ता लिने समयभित्र तालमेलका विषयमा ठोस छलफल अघि बढ्ने बताएका छन् । कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच एमालेको प्रभाव क्षेत्र रहेका पूर्वपश्चिम राजमार्ग आसपासका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्नेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले राजमार्ग क्षेत्रमा आफ्नो संगठन राम्रो रहेकाले सकेसम्म ती क्षेत्रमा आफूलाई छाडिदिन कांग्रेससँग आग्रह गर्दै आएको छ । राजमार्ग क्षेत्रका स्थानीय तहमा छोडे बाँकी धेरै स्थानमा सहयोग गर्ने वचन कांग्रेसलाई माओवादीले दिएको छ । कांग्रेसले राजपासँग पनि तालमेलको तयारी गरिरहेको छ । राजपासँग नै तालमेल भए ती ठाउँमा पनि सघाउने धारणा माओवादी नेताहरूले कांग्रेससँग राखेका छन् ।
 
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने माओवादीसँगको तालमेलको विरोधमा छ । यसअघि भएको तालमेलले कांग्रेसलाई नभएर माओवादीलाई मात्रै फाइदा पुगेको भन्दै पौडेल पक्षले विरोध गरेको हो । ‘तालमेल गर्नुको अर्थ नै माओवादीलाई केही सिट जिताउन सहयोग गर्नु हो,’ पौडेल पक्षीय एक नेताले भने, ‘माओवादीसँगको तालमेलले उल्टो कांग्रेसले केही सिट गुमाउनेछ ।’ सभापति देउवा भने एमालेलाई कमजोर बनाउन र माओवादीलाई फकाउन पनि तालमेल गरेर जाने पक्षमा उभिएका हुन् । यसअघि कांग्रेस र माओवादीले दुई महानगरमा तालमेल गरेकोमा भरतपुर महानगरमा माओवादीले प्रमुख जिते पनि पोखरा महानगरमा तालमेलका बाबजुद कांग्रेसका उम्मेदवार पराजित भएका थिए । 

मोदीलाई चुनावअघि नै ल्याउने प्रयास 
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् । एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल रहेको दाबीसमेत गरे । ‘मैले मेरो भारत भ्रमण सफल भएको ठानेको छु,’ प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित : भाद्र २०, २०७४ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?