एमाले अध्यक्ष ओलीको सचिवालयमा नयाँ जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ ।

नयाँ जिम्मेवारी अनुसार पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ । घिमिरेलाई राजनैतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ । झापा विर्तामोडका घिमिरे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।

प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ । काठमाडौं कीर्तिपुरका बज्राचार्य एक दशकअघि देखि ओलीको स्वकीय सचिवको रुपमा कार्यरत छन् ।

अनिश दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । अनेरास्ववियुको राजनीतिसँगै नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको जिम्मेवारी बहन गरिसकेका दाहाल विगत एक वर्षदेखि ओलीको सचिवालयमै रहेका छन् ।

अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन् । डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक) का रुपमा कार्यरत थिए ।

प्रकाशित : भाद्र २६, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

अनेसास कतारको छैठौं अधिवेसन

कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौ‌ं अधिवेसन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा १५२ औं मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औं श्रृखला आयोजना गरिएको थियो ।

अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थसंगम राईको सभापतित्वमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टाराई, द्वितिय उपाध्यक्ष सिताराम थापा, महासचिव मणि पौडेल,  सचिव निराजन लुइटेल, कोषाध्यक्ष भोला थापा सह कोषाध्यक्ष हरि अधिकारी रहेका छन् । सदस्यहरु  दीप मिलन, बिन्दा लामा, चक्र कार्की र सन्तोष अधिकारी छन् । 

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले प्रवासमा विकसीत भइरहेको नेपाली साहित्यलाई नेपालसँग जोड्न जरुरी रहेको बताए । 

कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र याक्थुम्बा, नबोदित साहित्यीक वाचनालयका अध्यक्ष लेख कार्की र प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष लिलाम चिडीमगर लगायतकाले शुभकामना दिएका थिए ।

प्रकाशित : भाद्र २६, २०७४ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्