कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक करोड धरौटी रोक्न धर्ना

वैदेशिक रोजगार ऐन संशोधन मस्यौदा

काठमाडौं — वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदामा प्रस्तावित म्यानपावर सञ्चालन गर्न एक करोड धरौटी राख्नुपर्ने प्रावधान हटाउन माग गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उक्त प्रावधान हटाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभागमा तीन घण्टा धर्ना दियो । श्रम मन्त्रालयले संशोधनका लागि तयार गरेको मस्यौदामा ७ लाख नगद र २३ लाख धरौटीबाट बढाएर एक करोड रुपैयाँ कायम गरिएको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न र पीडित कामदारलाई क्षतिपूर्ति दिन एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको बताए । व्यवसायीहरूले एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था भएमा कामदार झन् ठगीमा पर्ने दाबी गरेका छन् । ‘यो व्यवस्था भएमा म्यानपावरका सञ्चालकहरू वृद्धि हुनेछन् । कुनै पनि म्यानपावर एक्लो सञ्चालकले मात्रै चलाउन सक्ने अवस्था हुन्न । रकम जम्मा गर्न थप सञ्चालक खोज्नुपर्छ,’ संघका अध्यक्ष रोहण गुरुङले भने, ‘यसो गर्दा यो क्षेत्रमा नबुझेका व्यक्तिको प्रवेश हुन्छ । यो क्षेत्र थप अस्तव्यस्त बन्न जान्छ ।’ 

गुरुङका अनुसार हाल झन्डै १८ सय सञ्चालक छन् । सरकारले एक करोड धरौटी कायम गरे म्यानपावर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए । विभागले भने धरौटी न्यून हुँदा जथाभावी म्यानपावर खुल्नुका साथै अनुगमनसमेत हुन नसकेको तर्क गरेको छ । ‘यो व्यवसायलाई सम्मानित र मर्यादित गर्ने हो भने व्यवसायीले साथ दिन आवश्यक छ ।’ महानिर्देशक पाण्डेले भने ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?