कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक खुल्यो

आश गुरुङ

लमजुङ — एकसाताअघि अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडकमा मंगलबारदेखि निर्वाध सवारी गुड्न थालेको छ ।

बेंसीसहर–चामे सडक खुल्यो

मर्स्याङ्दी गाउँपालिका-३, अर्खलेबेंसीमा करीब ३० मिटर माथिबाट खसेको चट्टान र पहिलोले करिव ३० मिटर बाटो पुरिएको थियो । अघिल्लो आइतबार (भदौ १८ गते) बिहानी पख खसेको पहिरोलाई ९ दिनमा खुलाइएको हो । डिभिजन सडक कार्यालय तनहुँका इन्जिनियर गौतमकुमार श्रेष्ठले सोमबार साँझ ८ बजेतिरबाट सडक खुलाइएको र मंगलबार थप चौडाई खोलेर सवारी आवागमन सहज बनाइएको बताए । 

सडक ४ मिटर चौडाइ बनाइएको छ । उनका अनुसार चट्टान फुटाउन एक्साभेटरले नसकेपछि विष्फोटक पदार्थ प्रयोग गरेर ३ दिनमा सडक खुलाइएको हो । ‘सडक खुलाउन ७१ होल खोल्यौं । २२ दशमलब १२५ किलो जिलेटिन प्रयोग भएको छ,’ उनले भने, ‘त्यसपछि हामीसँग उपलब्ध मेसिनरी सामानहरु प्रयोग गर्‍यौं ।' उनका अनुसार सडक कार्यलयसँग विष्फोटक पदार्थ नहुने र सेनासँग पनि नपाएपछि हाइड्रोपावरसँग विष्फोटक पदार्थ माग गरिएको थियो ।

सांसद जमीन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली लगायतको सहयोग र समन्वयमा बाहुनडाँडामा निर्माणाधिन न्यादी जलविद्युत आयोजनाको ठेकेदार कम्पनीले विष्फोटक पदार्थ उपलब्ध गराएको थियो । ‘विष्फोटक पदार्थ पाएमा पहिले नै बाटो खुल्ने थियो । विष्फोटक पदार्थ पाएको ३ दिनमा बाटो खुल्यो’ उनले भने । मस्र्याङ्दी गाउँपालिका ४, ताघ्रिङका वडाअध्यक्ष सुमन गुरुङले सडक खुलेसँगै उत्तरी क्षेत्रबासीमा खुसी छाएको बताए । ‘अब मनाङसम्मै सवारी चलेको छ । माथि रहेका मोटर पनि आए’ उनले भने, ‘खाद्यान्न लगायतका सामग्री धमाधम ओसार्न थालेका छन् ।’

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दसैंको मुखैमा बाटो बन्द हुँदा उत्तरी भेगका स्थानीय आत्तिएका थिए । पर्यटक बिचबाटोबाटै फर्कन बाध्य थिए । जोखिम मोलेर स्थानीय र पर्यटक ओहोरदोहोर गरेका थिए । ‘सडकको पहिरो हट्यो । अन्य ठाउँका अप्ठ्यारा बाटो पनि सडक कार्यालयले तुरुन्त मर्मत गर्नुपर्छ’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?