कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टहरामा नै टिका जमरा

नगेन्द्र अधिकारी

काभ्रे — बनेपा ५ ओपीका श्री थापाले यसपाली पनि टहरामा नै जमरा राखेका छन् । १ बर्ष अघि नै भूकम्पपीडित अनुदानबापतको ५० हजार रकम बुझेका उनले दशैँ पछाडी मात्रै घर बनाउने सोच बनाएका छन् ।

टहरामा नै टिका जमरा

‘पैसाकै कारण अडकयो, ५० घरले मात्रै नपुग्ने रहेछ,’ उनले भने, ‘३ वटा दशैँ टहरामा नै मनाइसकियो ।’ ५९ बर्षीय आमाका साथमा बस्ने उनको परिवारलाई टहराको बसाई कष्टकर भइरहेको छ । चिसो तातोको कारण आमा र बालबच्चा बिरामी परिरहन्छन् । ‘बनाउ भने पनि मान्छे नै पाइदैन,’ उनले भने ‘एकातिर पैसा कमि छ, अर्कोतिर मान्छे पाइदैन, पाइहाले पनि महंगो भएकोले आँट गर्न सकिएको छैन ।’

सोही गाउँका माइला भुजेलले घर बनाउन खारेको घडेरीमा घास उम्रिसकेको छ । जमरा राख्ने ठाउँ नभएकाले ५ दाजुभाईले भत्किएको घरमा नै सामुहिक जमरा राखेका छन् । दशैँमा आउने पाहुनालाई कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘३ बर्षको दशैँ यही टहरामा नै बित्ने भयो,’ चिन्ता मिश्रित स्वरमा उनले भने, ‘आफू चर्किएको घरमा बसेर पाहुनालाई टहरामा राख्नुपर्ला ।’ 

अनुदानबापतको ५० हजार बुझेका उनले २७ हजार त घडेरी खार्दा नै सकियो । ‘२७ हजार घडेरी खार्नमा नै सकियो, २ कोठाको घर बनाउन कम्तीमा ७/८ लाख लागि हाल्छ,’ उनले भने, ‘बाँकी २३ हजार बैंकमा जम्मा गरेको छु, अब ऋण खोजेर घर बनाउने सुर गर्नुपर्ला ।’ उनका अनुसार, नक्सापास गर्नको लागि पनि धेरै रकम लाग्छ । काम गर्ने मान्छेको पनि अभाव नै छ, पाइहाले पनि ज्याला महंगो छ । चर्किएर पछि माथिल्लो तला फालेर बनाएका एक तले घरमा खाना बनाउदै आएका उनी टहरा सुत्ने गरेका छन् । ‘टहरामा बस्दाको सास्ती त कति हो कति,’ उनले भने, ‘मकै राख्ने ठाउँ छैन, चिसोको कारण मकै पनि उम्रन थालिसक्यो ।’ 

गाह्रो छ दैनिक जीवनयापन
पाँचखाल १२ की लक्ष्मी दनुवारको घर २०७२ वैशाख २९ गतेको भूकम्पले घर भत्कियो । श्रीमान् विदेशमा थिए, बोल्न नकसेकै कारण लाभग्राही सूचीमा उनको नाम लाभग्राहीमा परेन ।  ‘खै कसरी छुट्यो थाहा भएन, भर्नेले कसरी भरिदिए,’ उनले भने, ‘गुनासो भरेको थिए, त्यसमा पनि परेन ।’ गर्भवती उनलाई टहराको बसाई निकै कष्टकर भइरहेको छ । ‘दिउसो गर्मीले बस्न सकिदैन, राती चिसोले बस्न सकिदैन,’ लक्ष्मीले भनिन्, ‘गर्मी ठाउँ भएकोले सर्पको पनि बिगविगी छ ।’ पुन सर्वेक्षणको लागि गाउँमा टोली आएको भएपनि उनलाई अझै सूचीमा पर्नेमा ढुक्क छैन । ‘बसिरहेको टहराको नै फोटो खिचेर लगेका छन्,’ दनुवारले भनिन्, ‘बोल्न सक्नेको पर्ला हाम्रो त के पर्ला र ?’ 

बनाउनेले पाएनन्, पाउनेले बनाएनन्
आवास अनुदान रकम बुझेका भुकम्पपीडितले घर निर्माण शुरु गरेका छैनन् भने निर्माण शुरु गरेका धेरै लाभग्राहीले भने थप किस्ता पाएका छैनन् । 

‘कामदार, निर्माण सामाग्री र रकम अभावक कारण रकम पाएकाले पनि निर्माण शुरु गरेका छैन तर निर्माण शुरु गरेकाले पनि पाएका छैनन्,’ बनेपा ५ का राजकुमार थापाले भने, ‘खटिएका इञ्जिनियरले पनि राम्रो काम नगरी दिएका कारण भूकम्पपीडितले सास्ती खेप्नुपरेको छ ।’ दक्ष कामदार, काठ लगायतका निर्माण सामाग्रीको अभाव, नक्सा पासको  झण्झटिलो प्रकृयाका कारण पनि घर बनाउन कम चासो गएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यलय काभ्रेका अनुसार, जिल्लाका ७२ हजार ४ सय १७ लाभग्राही मध्ये ६३ हजार ७ सय ८० ले मात्रै पहिलो किस्ताबापतको रकम बुझेका छन् । रकम लिएका मध्ये १० हजार ८९ ले मात्रै निर्माण शुरु गरेका सहरी विकास तथा भवन डिभिजन कार्यलय जिल्ला आयोजना कार्यन्वयन इकाइले जनाएको छ । तर निर्माण शुरु गरेर दोस्रो किस्ताको लागि निवेदन दिएका ८ हजार ३ सय ४० मध्ये ६ हजार ९ सय ४६ ले मात्रै दास्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् । तेस्रो किस्ता पाउनेको संख्या जम्मा २ सय २८ छ । गाविसमा खटिएका इञ्जिनियरले भुकम्पप्रतिरोधी सिफारिस गरेर शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यलयको प्राविधिक सुवरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिविसमार्फत गाविसले दोस्रो किस्ताको वितरण गर्छ ।

 

प्रकाशित : आश्विन ८, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?