कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओपीडी बन्द, इमर्जेन्सीमा खचाखच

फातिमा बानु

काठमाडौं — चिकित्सक आन्दोलनका कारण उपत्यकाका सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द छन् । ओपीडी बन्द भएपछि त्यसको प्रत्यक्ष असर आकस्मिक कक्ष (इमर्जेन्सी) मा परिरहेको छ ।

ओपीडी बन्द, इमर्जेन्सीमा खचाखच

ओपीडीबाट हुने सामान्य उपचार सेवासमेत दिनुपर्दा इमर्जेन्सी कक्षमा थामिनसक्नुको भीड लाग्न थालेको छ । अस्पताल आएका नयाँ र फलोअप अधिकांश बिरामी उपचारबिनै फर्कन बाध्य छन् । 

सरकारी अस्पतालका इमर्जेन्सी वार्डमा पर्याप्त बेड छैनन् । बेड अभावले सामान्य अवस्थामा पनि समस्या ल्याइरहेको हुन्छ । इमर्जेन्सीमा बेड पाउन यसै पनि १/२ दिन कुर्नुपर्छ । त्यसमाथि ओपीडी बन्दले भीड थपिएपछि कैयौं बिरामीले उपचारै नपाउने अवस्था आएको हो ।
वीर अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख डा. केदार सेञ्चुरी भन्छन्, ‘हामीलाई यसै पनि सधैं कामको चाप हुन्छ, झन् ओपीडी बन्द भएपछि त बिरामीले राम्ररी खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन थालेको छ ।’ 

वीरको इमर्जेन्सीमा दैनिक २ सयजति बिरामी आउने अस्पतालको तथ्यांक छ । अहिले दोब्बरभन्दा बढी बिरामी जाँच्नुपर्ने बाध्यता आएको डा. सेञ्चुरीले सुनाए । ‘क्षमताभन्दा बढी बिरामी हेर्नुपर्छ, डाक्टरलाई त समस्या छँदै छ, बिरामीले समेत राम्रो सेवा पाउँदैनन्,’ उनले भने, ‘डाक्टरहरू क्षमताभन्दा बढी बिरामी हेर्न मानिरहेका छैनन् । यसरी धेरै दिन चल्न सक्दैन ।’ 

अस्पताल प्रशासनको तथ्यांकअनुसार वीरको ओपीडीमा दैनिक १६ सय बिरामी आउँछन् । चिकित्सकहरूको आन्दोलनबारे थाहा नपाएका अधिकांश बिरामी अस्पताल आएर उपचार नगराई फर्किरहेका छन् । आन्दोलनबारे नबुझेका कतिपय बिरामी अस्पतालसँग आक्रोशित हुने, रुने, रिसाउने गरिरहेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘बिरामीलाई त सकस छ नै, अस्पताललाई पनि दैनिक १५ लाखजतिको आर्थिक घाटा भइरहेको छ,’ उनले भने । 

यता, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा पनि आइतबार बिरामीको भीड उस्तै देखिन्थ्यो । ओपीडी बन्द हुनुका कारण नबुझेका बिरामीहरू ओपीडी खुल्ने आसले दिनभर अस्पताल परिसरमा यताउता गरिरहेका भेटिए । टिचिङ अस्पताल प्रशासनको तथ्यांकअनुसार ओपीडीमा दैनिक २ हजार नयाँ बिरामी आउँछन् । अस्पताल प्रशासन प्रमुख गोविन्दबहादुर प्रधान भन्छन्, ‘फलोअपमा त अझ धेरै आउँछन्, सबैलाई फर्काउन बाध्य भएका छौं ।’ 

अस्पतालको इमर्जेन्सी वार्डमा धान्नै नसकिने गरी चाप बढेको इमर्जेन्सी प्रमुख योगेन्द्र कार्कीले बताए । ‘इमर्जेन्सीमा २३ वटा मात्रै बेड छन्, आइतबार एउटै बेडमा चार जनासम्म बिरामी राख्नुपरिरहेको छ,’ उनले भने । ओपीडी बन्दले अस्पताललाई दैनिक ५० लाखजति आर्थिक घाटा भइरहेको प्रमुख प्रधानले जानकारी दिए ।

राजधानीका ठूला सरकारी अस्पताल वीर, प्रसूति, त्रिवि शिक्षण, कान्ति र भक्तपुरको क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालमा आइतबार पनि दिनभर ओपीडी खुलेनन् । केहीले इमर्जेन्सीबाटै उपचार पाए पनि अधिकांश बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । प्रसूति मिति नजिकिएका महिला चिन्तित देखिन्थे । थापाथलीस्थित प्रसूति गृहमा भेटिएकी एक महिलाले भनिन्, ‘एउटै डाक्टरसँग देखाइरहेको थिएँ, हामीलाई अरू डाक्टर हेर्न पनि मान्दैनन्, शल्यक्रिया गर्नुपर्नेजस्तो छ भनेका थिए, मेरो त ज्यान नै जोखिममा छ ।’

आकस्मिक शल्यक्रियाका लागि फलोअप उपचारमा बोलाइएका बिरामी पनि उत्तिकै मर्कामा छन् । मकवानपुरबाट प्रोस्टेटको शल्यक्रिया गर्न टिचिङ अस्पताल आएका लीलाबहादुर आइतबार यत्तिकै फर्किए । ‘अपरेसन गर्न ढिलो भए जे पनि हुन सक्छ भनेका थिए । म ऋण गरेर आएँ, अब कता जानु ?’ उनले चिन्ता व्यक्त गरे ।

सरकारले उपचारका क्रममा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी कानुन बनाउन निर्देशन दिएपछि त्यसविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले उक्त निर्णय फिर्ता लिए पनि अन्य मागबारे चासो नदेखाएको भन्दै चिकित्सकहरूले आन्दोलन जारी राखेका हुन् । सबै माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी रहने उनीहरूको अडान छ । 

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे भन्छन्, ‘जेल विथआउट बेल हाम्रो प्रमुख माग हो, हामीले भयरहित वातावरणमा काम गर्न पाउनुपर्‍यो, हामीसँग छलफल नै नगरी बनाइएको नीति हामी मान्दैनौं ।’

प्रकाशित : आश्विन ८, २०७४ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?