कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति सेनामा नेपालीको कोटा बढाउन आग्रह

प्रधानमन्त्री–राष्ट्रसंघ महासचिव भेटवार्ता

न्युयोर्क — प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाइदिन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्तामा प्रधानमन्त्रीले शान्ति मिसनमा संख्याका आधारमा माथिल्लो तहमा सहभागिता बढाइदिनसमेत आग्रह गरेका छन् ।

 शान्ति सेनामा नेपालीको कोटा बढाउन आग्रह

महासचिव गुटेरेसले नेपालको आग्रहलाई आफूले ध्यान दिएर हेर्ने जानकारी दिएका छन् । उनले नेपालले विश्व शान्तिका लागि सेना र अन्य सुरक्षा अधिकारी पठाएर गरेको योगदानको निकै प्रशंसा गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

प्रधानमन्त्रीको उक्त आग्रहको सुनुवाइ हुने सम्भावना रहेको न्युयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोग गर्नसमेत महासचिवलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा महासचिव गुटेरेसले यसलाई सकारात्मक रूपमा आफूले छलफल अघि बढाउने आश्वासन दिएका थिए ।

नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदानस्वरूप नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट शान्ति मिसनमा माथिल्लो तह पाउनुपर्नेमा नेपाली सुरक्षाकर्मी अरूको कमान्डमा रहनुपरिरहेको छ । यस विषयलाई नेपाली सेनाले शान्ति मिसनमा आवाज उठाउँदै आएको थियो । विश्वका विभिन्न शान्ति मिसनमा ५ हजारभन्दा बढी नेपाली सुरक्षाकर्मी कार्यरत छन् ।

नेपाली सेनाले शान्ति सेनामा आफ्नो कुल संख्याको १० प्रतिशतसम्म पठाउने निधो गरेको छ । राष्ट्रसंघबाट भने त्यति संख्यामा माग भइरहेको छैन । अमेरिकाले केही बजेट कटौती गरेका कारण शान्ति मिसनमा सेनाको संख्या घट्न सक्ने अधिकारीहरूको आकलन छ । राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्क रहेका प्रधानमन्त्री देउवा र गुटेरेसबीच आइतबार भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा विकास प्रक्रियाका बारेमा छलफल भएको थियो । भूकम्प र बाढीको प्रकोपको पीडा र सहयोगबारे पनि छलफल भएको थियो । गुटेरेसले नेपालको लोकतन्त्र संस्थागत हुने चरणमा प्रवेश भइसकेकामा खुसी व्यक्त गरेका थिए ।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री र नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघ महासचिवले अन्य दुई चुनावको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । गुटेरेसले नेपालको लोकतन्त्रको संस्थागत विकास प्रक्रिया अनुकरणीय रहेको भन्दै खुसी व्यक्त गरेको सल्लाहकार भट्टराईले बताए ।

प्रधानमन्त्री देउवाले दलहरूबीचको सहकार्यले स्थानीय तहको चुनाव सम्पन्न भएको र त्यसमा नेपाली जनताको उत्साहपूर्वक सहभागिता रहेको उल्लेख गर्दै समयमै प्रदेश र संघको निर्वाचन हुने जानकारी दिए । नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित भएको बताउँदै देउवाले नेपाल उदार लोकतन्त्रमा अग्रसर भइसकेको बताए । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको उल्लेख गर्दै केही बाँकी कामसमेत विस्तारै सम्पन्न हुने बताए ।

गुटेरेसले नेपालमा हालै गएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरे । देउवा ओमानतर्फ लागेका छन् । उनी ओमानमा दुई दिन बसेर स्वदेश फर्कनेछन् । त्यहाँ प्रधानमन्त्रीले खाडीमा रहेका राजदूतहरूलाई निर्देशन दिने र नेपाली कामदारको प्रत्यक्ष समस्या सुन्ने कार्यक्रम रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । श्रमिक रहेका सबै पश्चिम एसियाली मुलुकमा खटिएका नेपालका राजदूत त्यहाँ आउनेछन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?