कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार छान्दै प्रमुख दलहरू

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव
कान्तिपुर संवाददाता

काठमाडौं — स्थानीय तहको चुनाव सकिएलगत्तै राजनीतिक दलहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र प्रतिनिधिसभाको एकैपटक मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा हुन लागेको चुनावका लागि दलहरू उम्मेदवार छनोट प्रक्रियामा लागेका हुन् ।

सबैजसो दलले तल्लो तहका कमिटीहरूलाई सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

कांग्रेसले उम्मेदवार छनोटका लागि साताअघि नै मापदण्डसहित पार्टीको स्थानीय इकाईलाई निर्देशन दिइसकेको छ । त्यसअनुसार पार्टीका गाउँ र नगर समितिले असोज १० भित्र आफ्नो सुझावसहित उम्मेदवारको सिफारिस क्षेत्रलाई पठाउनेछ । गाउँ र नगर समितिबाट आएको सिफारिसअनुसार क्षेत्रले असोज १३ सम्म जिल्लालाई र जिल्लाले आफ्नो रायसहित असोज १७ भित्र केन्द्रमा नामावली पठाइसक्नुपर्नेछ ।

उम्मेदवार सिफारिस गर्दा प्रतिनिधिसभा र प्रदेशका लागि एक निर्वाचन क्षेत्रबाट महिलासहित बढीमा ३ जनाको नाम मात्रै सिफारिस गर्न पार्टी केन्द्रीय कार्यसमितिले मातहतका निकायलाई निर्देशन गरेका छन् । समानुपातिकतर्फ पनि महिलासहित एक निर्वाचन क्षेत्रबाट बढीमा तीन जनाको नाम पठाउनुपर्ने निर्णय कांग्रेसको छ । समानुपातिकतर्फ नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखेर दलित, आदिवासी जनजाति, खस, आर्य, मधेसी, थारू र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी सिफारिस गर्नुपर्नेछ ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले पार्टीको निर्देशनअनुसार समयभित्रै उम्मेदवार सूची केन्द्रमा आइपुग्ने बताए । उम्मेदवारको सूचीमा पर्न नेताहरू यतिबेला जिल्लाजिल्लामा केन्द्रित हुन थालेका छन् । केन्द्रीय नेताहरूसमेत चुनाव लड्न स्थानीय तहबाट सिफारिस भएर आउनुपर्ने प्रावधान राखिएकाले नेताहरू जिल्ला केन्द्रित हुन थालेका हुन् ।

कांग्रेसले उम्मेदवारको नाम सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पार्टीभित्र र आमजनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नुपर्ने मापदण्ड तय गरेको छ ।

एमालेले पनि उम्मेदवारी चयन प्रक्रिया अघि बढाउन थालेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी समितिलाई छनोटको मापदण्ड बनाउने अधिकार दिएको छ । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार मंगलबार बस्ने स्थायी समिति बैठकले उम्मेदवार छनोटको औपचारिक मापदण्ड तयार गर्नेछ । केन्द्रीय समिति बैठकले जिल्लाबाट सिफारिस गरी प्रदेश हुँदै केन्द्रमा उम्मेदवारको नामावली पठाउने र स्थायी समितिले अन्तिम रूप दिने गरी मापदण्ड बनाउने समझदारी गरेको छ । सके सर्वसम्मत, नभए तीन जनाभन्दा बढी नहुने गरी सफारिस पठाउनुपर्नेछ ।

एमालेले यसअघि स्थानीय तह चुनावमा तल्लो तहबाटै कम्तीमा तीन जनाको नाम सिफारिस गर्ने र माथिल्लो कमिटीबाट त्यसमध्येबाट उपयुक्त उम्मेदवार छनोट गर्ने विधि बनाएको थियो । एमालेले यसअघि नै स्थानीय तहको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाका लागि पुन: आकांक्षा देखाउन नपाउने मापदण्ड बनाइसकेको छ । स्थानीय चुनावमा हारेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि उम्मेवार हुन पाउने छैनन् ।

माओवादी केन्द्रले पनि उम्मेदवार चयनको कामलाई तीव्रता दिएको छ । जिल्ला तहबाट सर्वसम्मत नाम पठाउने सहमति नभए तीन जनाको सिफारिस गर्न निर्देशन दिइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार सबै जिल्लामा उम्मेदवारको पहिचान गर्ने काम भइरहेको छ । आउँदो १६ गते बस्ने पार्टीको बैठकबाट नामको अन्तिम टुुंगो लगाउने उनले बताइन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकले पनि उम्मेदवार छनोटका लागि छलफल अघि बढाएका छन् । यी सबै दल समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन असोज २९ भित्रै सबै उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन् ।

स्थानीय तहबाट गरिएका उम्मेदवारका सिफारिसलाई केन्द्रीय तहबाट अन्तिम टुंगो लगाउने सबै दलको तयारी छ । राजपा महासचिव मनीष सुमनले २९ गतेभित्र सबै तहका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार छनोट गरिसक्ने तयारी भएको बताए ।

राजपाले उम्मेदवार सिफारिसका लागि आफ्नो प्रभाव क्षेत्रका जिल्लामा समन्वय समिति गठन गरेको छ । केन्द्रीय नेता संलग्न उक्त समितिले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउँछ । जिल्ला समन्वय समितिको सुझाव र रायका आधारमा केन्द्रमा अध्यक्ष मण्डलले निर्णय लिने राजपाको तयारी छ । ‘सबै तहका उम्मेदवारको सूची एक साताभित्रै केन्द्रमा पठाउन आग्रह गरिने भएको छ,’ महासचिव सुमनले भने, ‘असोज २९ मा नै समानुपातिक र प्रत्यक्षतर्फका सबै उम्मेदवार सार्वजनिक गर्ने तयारीमै हामी छौं ।’

दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची असोज २९ भित्रै निर्वाचन आयोगमा बुझाउनुपर्छ । कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?