कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रणनीतिक रुपमा नेपालको असाध्यै ठूलो महत्व छ : ओमन

‘प्रत्येक नेपालीको राम्रो छाप परेको छ’
प्रधानमन्त्रीकाे अोमान भ्रमण
होम कार्की

काठमाडौं — ओमनका उपप्रधानमन्त्री सायिद फाहद मोहम्मद अल–सेडले रणनीतिक हिसाबले निकै महत्व अवस्थामा रहेको नेपालले भारत र चीनको विकासबाट फाइदा लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

रणनीतिक रुपमा नेपालको असाध्यै ठूलो महत्व छ : ओमन



चार दिने औपचारिक भ्रमणको दोश्रो दिन प्रधानमन्त्री देउवा र ओमनी उपप्रधानमन्त्री अल–सेडवीच मस्कटको रोयल प्यालेसमा भएको उच्चस्तरको औपचारिक भेटमा यस्तो सुझाव दिइएको हो । ओमनी सुल्तान (राजा) कावुस विन सेड अल–सेड स्वास्थ्य लाभको लागि मस्कट बाहिर रहेकोले उपप्रधानमन्त्री अल–सेडले ओमनको प्रतिनिधित्व गरेका थिए ।

अलसेडले दुई देशबाट फाइदा लिन सके नेपालको विकासमा ठुलो योगदान पुग्नेमा जोड दिएका थिए । उनले नेपालसँगको द्धिपक्षीय सम्बन्धलाई अझ बृहत्तर रुपमा अगाडि बढाउन काठमाडौंमा ओमनी दूतावास खोल्ने बताए । ‘ओमनमा कार्यरत प्रत्येक नेपालीको छाप राम्रो परेको छ,’ अल सेडको भनाई उद्धत गर्दै ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरसँग भनिन्, ‘रणनीतिक रुपमा त्यति धेरै महत्व रहेको नेपालमा ओमनको पनि दूतावास खोल्नेछौं ।’

प्रधानमन्त्री देउवाले ओमनले पराम्परागत सस्कृतिलाई जोगाउँदै गरेको विकासबाट आफू निकै प्रभावित भएको बताए । उनी उप्रधानमन्त्री अल–सेडलाई भेट्न जानुअघि सुल्तान कावुस ग्राण्ड मस्जिद, राष्ट्रिय संग्रालयमा पुगेका थिए । ‘मेरो अरब क्षेत्रको यो पहिलो औपचारिक भ्रमण हो । यहाँको परम्परागत संस्कृतिलाई जोगाई जुन हिसाबले आधुनिक ओमन बनाउने काम भयो । यो एउटा सफल उदाहरण भएको छ,’ उनले उपप्रधानमन्त्री अल–सेडलाई भने ।

प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य, पर्यटन, जलविद्युत र कृषि क्षेत्रको विकासको लागि ओमनको सहयोग खाँचो रहेकोमा जोड दिएका थिए । ‘हामी राजनैतिक रुपमा संक्रमणकालको अन्त्य गर्दैछौं,’ उनले भने, ‘केही समयमा नेपाल आर्थिक लगानीको लागि उत्कृष्ट गन्तब्य बन्न जाँदैछ । त्यसमा ओमनी लागनी पनि भित्रिनेछ भन्ने हामीले आशा राखेका छौं ।’

देउवा र अलसेडवीच झन्डै एक घण्टा भेटवार्ता भएको थियो । द्धिपक्षीय भेटमा ओमनका उद्योग तथा बाणिज्य मन्त्री डा. अली मसुउद अली सन्एडी, जनशक्ति मन्त्री शेख अब्दुल्लाह नासिर अल बखरी, शिक्षा मन्त्री डा. मदिहा अहमिद अल सियीवानीया, मन्त्री काउन्सीलका सचिवालय प्रमुख शेख अफादह मोहम्मद अल हर्थी, नागरीक सेवामन्त्री शेख खालिद ओमर अल मारहुन, राज्य तथा मस्कटका गर्भनर सायिद सुद हिलाल अल–वुसाइदी र परराष्ट्र मन्त्रालयका पश्चिम एसिया राजदूत शेख हिलाह मारहुन अल मम्मरी लगायत उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, वालवालिका तथा सामानीक कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टाराई, परराष्ट्र सचिव शंकरदास वैरागी, ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल सहित उच्च अधिकारीहरु थिए ।

भ्रमणमा ओमन र नेपालवीचको द्धिपक्षीय हितको लागि द्धिपक्षीय संयन्त्रको सम्झौतापत्रमा हस्ताक्षर हुनुको साथै श्रमसम्झौताको बिषयमा छलफल हुने राजदूत ढकालले वताइन् । ओमनमा नेपाली कामदारलाई रोजगार अवसर सिर्जनाको साथै उनीहरुको हितको विषयमा समेत छलफल भएको उनले बताइन् ।

ओमनमा झन्डै १५ हजार नेपाली कार्यरत छन । सबैभन्दा बढी होटल क्षेत्र र घरेलु कामदारको रुपमा कार्यरत रहेका छन् । प्रधानमन्त्री देउवाले नेपालमा इन्जिनियर सहित सीपयुक्त जनशक्ति समेतमा रहेकामा जोड दिएका थिए । उपप्रधानमन्त्री अल–सेडले ओमनले आफ्नाृे बिकासको लागि थप जनशक्ति आवश्यक रहेकोले नेपालीहरु एकदमै प्राथमिकतामा पर्ने बताएका थिए ।

प्रकाशित : आश्विन १०, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?