कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वीरगन्ज महानगरमा फोरमका विजय सरावगी विजयी

भूषण यादव

पर्सा — वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी फराकिलो मतान्तरले विजयी भएका छन् ।

वीरगन्ज महानगरमा फोरमका विजय सरावगी विजयी

गत असोज दुई गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सरावगीले १९ हजार तीन सय ९३ मत हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अजेय द्धिवेदीले १७ हजार एक सय ९७ मत प्राप्त गरेका छन् । दुई हजार एक सय ९६ मतले द्धिवेदीलाई हराउँदै सरावगी प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिकाको मेयरमा मंगलबार निर्वाचित भएका हुन् । उपमेयरमा कांग्रेसकी शान्ति कार्की बिजयी भइन् । उनले फोरमकी पिन्की यादवलाई एक हजार ७७ मतले पराजित गरिन् । कार्कीले १९ हजार ६ सय ७ मत प्राप्त गरिन् । यादवले १८ हजार पाँच सय तीस मत हासिल गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नवनिर्वाचित मेयर सरावगीले अगामि सत्रदेखि नगरका सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममै अध्यापन गराउने पहिलो निर्णय गर्ने जनाए । उनले महानगरको कामकाजको भाषा भोजपुरी हुने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै सरावगीले भने, ‘गरिब विद्यार्थी शिक्षामा पछाडि नपरुन भन्ने उद्देश्यले सरकारी स्कुलमा पनि अंग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाउँछु, नगरको सरकारी विद्यालयमा पनि बोर्डिङझै सुविधा उपलब्ध हुनेछन् ।’ उनले तीन महिनामा सहरवासीको आधारभूत आवश्यकता पुरा गर्ने वाचा गरे । महानगरपालिकाबाट आफूले कुनै सुविधा नलिने दाबी पनि सरावगीले गरे । उनले भने, ‘महानगरको तलब भत्ता मलाई चाहिदैन्, त्यो पैसा एकल महिलाको सन्तानको शिक्षामा खर्च गर्छु ।’ आफूसँग नीजि सवारी भएकाले उनले महानगरको गाडी सुविधा पनि लिने घोषणा गरे । वीरगन्ज महानगरपालिकाको प्रत्येक वडामा दुई जना योग प्रशिक्षक राखी निशुल्क योगा सेन्टर सञ्चालन गरिने उनले बताए । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी गत चैतमा मात्र संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । ट्रेडिङ व्यापार र वित्तीय संस्थाका सञ्चालक रहेका सरावगी मधेसको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउँछन् । ‘वीरगन्जले जुन विकास ५० वर्षमा पाएन त्यो विकास म ५ वर्षमा गरेर देखाउँछु,’ उनले भने, ‘देशको उत्कृष्ट महानगर बनाउँछु । वीरगन्जलाई गन्तव्यको सहर बनाउने लक्ष्य राखेको छु । व्यवस्थित र समृद्ध वीरगन्ज बनाउँछु ।’ खानेपानी, ढल निकास, सरसफाई लगायतका आधारभूत आवश्यकता तीन महिनामा पुरा गर्ने दाबी गरे । महानगरमा एउटा विश्वविद्यालय निर्माणका लागि पहल गर्ने, नारायणी उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्ने लक्ष्यमा आफ्नो राखेको उनले बताए । मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जमा कूल एक लाख आठ हजार पाँच सय एक मतदाता छन् जसमध्ये ८४ हजार एक सय ६४ ले असोज दुईमा मत खसालेका थिए ।

मत खसालेको आठौँ दिनमा मुलुकको कान्छो महानगरले आफ्नो प्रमुख पाएको हो । दशैँको संघारमा सहरवासीले मेयर पाउँदा झनै हर्षित भएका छन् । ३२ वडा रहेको महनगरमा संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राष्ट्रिय जनता पार्टीले ३, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले एकरएक वडामा जीत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । दल र स्वतन्त्र गरी ३५ जनाको मेयरमा मनोनयन दर्ता भएपनि २२ जना मेयरका स्वतन्त्र उम्मेदवारले दोहोरो अंकमा मत प्राप्त गर्न सकेनन् । जसमध्ये ११ जनाले खाता समेत खोलेनन् । प्रमुख दलका उम्मेदवारले गाडी, पोलिङ र काउन्टीङ एजेन्टको सुविधाका लागि स्वतन्त्रका रुपमा डमी उम्मेदवारको मनोनयन दर्ता गराएको जानकार बताउँछन् । 

प्रकाशित : आश्विन ११, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?