कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन नजिकिए एमाले-माओवादी ?

यसरी अन्तिममा सहभागी भयो नयाँ शक्ति
कमलदेव भट्टराई

काठमाडौं — दुई महिना अगाडि नेपाल पत्रकार महासंघको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपाल एमाले निकट प्रेस चौतारीसँग गठबन्धन गर्ने पक्षमा थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेन्टरलाई नेपाली कांग्रेस निकटको प्रेस युयिननसँग सहकार्य गर्न दबाब दिए । परिणाम चौतारीको हारमा टुङ्गियो ।

किन नजिकिए एमाले-माओवादी ?

आफू निकटका पत्रकारलाई उनले कांग्रेस र माओवादीको गठबन्धन लामो समय जाने भन्दै पत्रकार महासंघमा हुने गठबन्धनले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने जिकिर गदै यसलाई पत्रकारको चुनावको रुपमा मात्र नलिन आग्रह गरेका थिए । यसको मतलव एमालेलाई एक्लो पार्ने दुई पार्टीको अभियानमा महासंघको गठबन्धनले थप सहयोग पुग्ने दाहालको जिकिर थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र दाहाल दुवै महासंघको निर्वाचनको माइक्रोम्यानेजमा सहभागी भएका थिए । यो घटनाले दुवैको सहकार्यप्रति प्रतिबद्ध भएको संकेत गर्दथ्यो ।

दुई महिना अगाडिसम्म एमालेलाई एक्लो पार्ने भन्दै एउटा पेशागत महासंघको निर्वाचनमा समेत हात हालेका दाहाल आज एक्कासी किन एमालेसँग सहकार्य गर्न पुगे ? दुई पार्टीका नेताहरुले पार्टी एकीकरणको लागि दश वर्षदेखि निरन्तर पहल भइरहेको र त्यसैमा अहिले ठोस प्रगति भएकाले विकसित घट्नाक्रमलाई सर्प्राइजको रुपमा नलिनको लागि आग्रह गरिरहेका छन् । वाम दलहरुबीचमा एकता हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा नेपालको राजनीतिमा नयाँ भने होइन ।

तर, अहिले एमाले र माओवादीबीचमा चाहिँ पार्टी एकता भन्दा पनि निकट भविष्यमा हुन लागेको संघ तथा प्रदेशको निर्वाचनले नै दुईलाई एक ठाउँमा ल्याएको देखिन्छ । पार्टी एकता निरन्तर चलिरहने विषय हो । तर, माओवादी र एमालेको बीचमा चुनावी तालमेल हुनुका पछाडि केहि खास कारणहरु रहेका छन् ।

वास्तवमा दाहाल माओवादीलाई एमालेलाई माइनस गरेर नेपालको मुख्य वामपन्थी दल बनाउन चाहान्थे । त्यसका लागि उनी नेपाली कांग्रेस र केही बाह्य पक्षहरुसँग सहकार्य गर्न चाहान्थे । एमालेको बढ्दो प्रभावलाई काउन्टर दिनको लागि माओवादी केन्द्रलाई आवश्यक सबै सहयोग गर्ने आश्वासन पनि आन्तरिक तथा बाह्य शक्तिहरुले दिएकै थिए ।

स्थानीय तहको निर्वाचनमा सोचेको भन्दा पनि बढी सिट ल्याएको माओवादी कांग्रेससँग चुनावी तालमेल गरेर अझ सुदृढ शक्ति बन्ने योजनामा थियो । पहिलो र दोस्रो चरणको निर्वाचनपछि तेस्रो तहको निर्वाचनमा प्रदेश नं २ का दर्जनौ तहहरुमा कांग्रेससँग सहकार्य गर्ने मुडमा माओवादी थियो । तर, कांग्रेसको आन्तरिक कारणले तालमेल हुन सकेन । जसले गर्दा माओवादी झस्कियो र उ निष्कर्षमा पुग्यो कि कांग्रेससँग तालमेल नै हुन सक्दैन । तालमेल नै भएपनि कांग्रेसको आन्तरिक किचलोको शिकार होइन्छ र चुनाव जितिदैन । भरतपुरलगायत अन्य केही स्थानमा स्थानीय तहमा तालमेल गरेपछि माओवादी यो निष्कर्षमा पुगिसकेको थियो । त्यसैले कति सिटमा तालमेल गर्ने भन्ने विषयमा विस्तृतमा उसले वार्ता गर्ने चाहेन ।

यद्यपी एमालेसँगको तालमेल भइसकेपछि देउवाले एमालेले जति सिट दिन्छ, त्यति नै दिने बताएका थिए । त्यसैले पनि दाहालले मंगलबार देउवासँगको भेटमा त्यति धेरै गुनासो गरेनन् । उनले खाली यति मात्र भने, 'तपाईंहरुसँग अरु कारणले छुट्टिन खोजेको होइन, हामी वामपन्थी दलहरुको एकता नै गर्ने योजनाका साथ अगाडि बढेका हौं, तपाई पनि विचार मिल्ने दलहरुसँग सहकार्यको लागि अगाडि बढ्नुस् ।'

माओवादीका केही नेताहरु मार्फत देउवाले दाहाललाई पुनः प्रधानमन्त्री पदको नै अफर गरेका थिए । तर त्यसमा माओावादी सहमत भएनन् । त्यसैले पनि चुनावी अलाइन्सलाई दोस्रो प्राथमिकतामा राखेर पार्टी एकतालाई जोडतोडका साथ प्रचार गरिएको छ । चुनावी तालमेलको लागि होइन बृहत एकताको लागि अगाडि बढेको सन्देश दिन खोजिनुको कारण पनि यही हो । यही दुई महिनाको बीचमा नै एमाले र माओवादीको बीचमा कैयौं पटक वार्ताहरु भइरहेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैंले सार्वजनिक कार्यक्रममा नै एमालेसँग चुनावी तालमेलको लागि कुराकानी भइरहेको बताइरहेकै थिए ।

उता एमालेको पनि एउटै लक्ष्य कांग्रेस–माओवादीको गठबन्धन तोडनु थियो । यदि यो गठबन्धन निर्वाचनपछिसम्म पनि कायम भएमा अर्को पाँच वर्ष बाहिर बस्नुपर्ने हो कि भन्ने भय एमालेमा थियो । उसो त केही बाह्य शक्ति विशेषगरी भारत जसरी पनि वर्तमान गठबन्धनलाई अगाडि बढाएर एमालेलाई एक्लो पार्ने रणनीतिमा थियो । भारतको ७० औं स्वतन्त्रता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै लैनचौरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यो गठबन्धनलाई कायम राखेकोमा दाहाल र देउवाको प्रसंशा गरेकी थिइन् ।

नेपालमा मात्र होइन दक्षिण एसियामा नै आक्रामक रुपमा आफ्नो प्रभाव विस्तार गरिरहेको चीन निश्चय नै नेपालमा पनि आफू अनुकुलको सरकार बनोस भन्ने चाहान्छ । आफू अनुकुलको सरकार नभएमा ओबिओरलगायतका परियोजना अगाडि बढ्न सक्दैन भन्ने चीनको बुझाइ छ । त्यसैले आफू अनुकुलका पार्टीहरु मिल्नुपर्छ भन्ने उसको सुझाव स्वभाविक हो । उसले सो सुझाव तत्कालीन प्रधामन्त्री दाहाल बाआओ सम्मेलनमा भाग लिन जाँदा र भर्खरै महरासँग पनि प्रकट गरेकै थियो । उसले हरेक जसो भेटमा राजनीतिक दलहरुको एकतामा जोड दिएकै थियो ।

आगामी निर्वाचनमा मधेसमा कतै माओवादी, कांग्रेस र मधेसवादी दलबीचमा चुनावी तालमेल त हुने होइन भन्ने संशय एमालेलाई थियो । अझ मधेसमा त एमाले विरुद्ध एक प्रकारले घेराबन्दी नै गरिएको थियो । सबै दलको आक्रमण नै एमालेमाथि थियो जसका कारण प्रदेश नं दुईमा एमालेको उपस्थिति कमजोर देखियो । तर माओवादीको अवस्था मजबुत देखियो । माओवादीसँगको सहकार्यले मधेसमा आफ्नो अवस्था मजदुत देखिने सम्भावना एमालेले देख्यो । नत्र प्रदेश र संसदको निर्वाचनमा पनि सबै दलले एमालेलाई मधेसविरोधी पार्टी देखाउने प्रयास गर्ने नै थिए ।

बलियो संगठन र स्थानीय निकायको निर्वाचनमा पहिलो दल बनेको एमालेले कम्तीमा प्रत्यक्ष निर्वाचनमा बहुमत नै ल्याउने सम्भावना थियो । त्यसका लागि तालमेलको आवश्यकता पनि थिएन । तर आफूलाई एक्लो पार्ने शक्तिलाई परास्त गर्ने उद्देश्य र स्थानीय निकायको निर्वाचनमा माओवादीले सोचभन्दा बढी सफलता प्राप्त गरेपछि एमाले ६०:४० को बाँडफाँडमा जान तयार भयो । यस्तो अवस्थामा आन्तरिक व्यवस्थापनको चुनौती एमालेमा धेरै देखिन्छ ।

तर यसमा माओवादीले सोचभन्दा धेरै सफलता प्राप्त गरेको देखिन्छ भने दीर्घकालिन रुपमा आफूलाई फाइदा हुने एमालको विश्लेषण देखिन्छ । यति मात्र होइन, माओवादी तथा अन्य वामशक्तिहरुसँग तालमेल गरेर अगाडि जानुपर्ने भन्ने मत एमालेभित्र निरन्तर रुपमा बढिरहेको थियो । विशेषगरी वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमले यसमा पहल गरिरहेका थिए भने माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ यसमा लागि रहेका थिए ।

उता प्रधानमन्त्रको भारत भ्रमणपछि दाहाल र देउवाको सम्बन्धमा विस्तारै अविश्वास उत्पन्न भएको थियो । विशेषगरी संविधान संशोधनको विषयमा देउवाले भारतमा दिएको अभिव्यक्तिबाट दाहाल असन्तुष्ट थिए र उनले यो सार्वजनिक रुपमा नै प्रकट गरेका थिए । त्यसैगरी दिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई केही महत्वपूर्ण राजनीतिक भेटघाटमा सहभागी नगराइएको तथा ति भेटघाटका विवरणहरु सेयर नगरिएकोमा माओवादी असन्तुष्ट नै थियो ।

अहिले चुनावी तालमेल भन्दा पनि ती पार्टीको एकिकरणको विषयलाई बढी हाइलाइट गरिएको देखिन्छ । यसको कारण हो –चुनावमा माओवादी कार्यकर्तालाई सूर्यमा भोट हाल्न र एमाले कार्यकर्तालाई माओवादीलाई भोट हाल्नको लागि असहज नहोस् । पार्टी नै एकिकरण हुने भएपछि भोट हाल्न कार्यकर्तालाई भोट हाल्नको लागि कुनै समस्या नहोस भनी मनोवैज्ञानिक रुपमा तयार पारिएको हुनसक्छ ।

एमाले र माओवादीबीचमा एकाएक नयाँ शक्ति कसरी आयो ?

स्थानीय निकायको निर्वाचनमा पार्टीको अवस्था एकदमै कमजोर भएपछि बाबराम भट्टराई निकै तनावमा थिए । उनी प्रत्यक्ष निर्वाचनमा एमाले र माओवादीको साथ खोजिरहेका थिए । भट्टराई कम्तीमा आफू निर्वाचन लड्ने क्षेत्रमा माओवादी र एमालेको साथ खोजिरहेका थिए । दसैं अगाडि भट्टराईले एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गरी घुमाउरो पारामा आफ्नो लागि सहयोगको अपेक्षा गरेका थिए ।

त्यही भेटमा ओलाीले भनेका थिए, 'हामी र माओवादीबीचमा चुनावी तालमेल र एकताको कुरा हुँदै छ तपाईलाई पनि खबर गरौंला ।' भट्टराई ओलाीको फोनको प्रतिक्षामा थिए । तर फोन आएन । एक्कासी मंगलबार एमाले र माओवादीबीचमा सहमति डकुमेन्ट बनेपछि लगभग निराश भइसकेका भट्टराईको फोनमा ओलीको फोन आयो । ओलीले गरेको आग्रहलाई भट्टराईले सोच्दै नसोची सहभागी हुन्छु भनिदिए अनि सहमतिको एउटा बुँदामा नयाँ शक्तिको विषय समेटियो । हरेक राजनीतिक सहमतिमा शब्द शब्द केलाएर पढ्ने र शब्दहरु परिवर्तन गर्न आग्रह गर्ने भट्टराईले डकुमेन्ट नपढी हुन्छ भनिदिए ।

कारण थियो– मंगलबारको मुख्य कार्यक्रममा सहभागी हुँदा जुन सम्मान पाइन्छ, त्यो पछि पाइँदैन र मुख्य कार्यक्रम छुटाउन हुँदैन किनकी यो एमाले–माओवादी गठबन्धन लामो जान्छ । तर दाहाल भने भट्टराईलाई सहभागी गराउने विषयमा त्यति सकारात्मक थिएनन् । भट्टराईले आफ्ना सहयोगीसंग भनेका छन्–'ओलीको जोड बलको कारणले नै हामीलाई सहभागी गराइएको हो ।' यस अगाडि पहिलो संविधान सभाको पहिलो म्याद थप्ने विषयमा ओलीले यस्तै भूमिका खेलेका थिए । मधेसलगायत अन्य मामिलामा ओलीको कट्टर आलोचक भट्टराई यतिबेला ओलीप्रति निकै नतमस्तक देखिन्छन् । गोर्खामा मात्र होइन समानुपातिक निर्वाचन प्रणालीमा समेत सूर्य चिन्हमा नै निर्वाचन लड्ने योजनामा भट्टराई छन् । उनी दाहालभन्दा पहिला एमालसँग पार्टी एकता गर्ने पक्षमा छन् ।

प्रकाशित : आश्विन १९, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?