कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब्बल बालमन्दिर

लालप्रसाद शर्मा

पोखरा — व्यवस्थापन दरिलो र गुणस्तरमा सुधार भएसँगै यहाँको नदीपुरस्थित बालमन्दिर मावि अब्बल बन्दै गएको छ । प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र अभिभावकबीचको सुमधुर सम्बन्धले विद्यालयले शैक्षिक फड्को मार्न सफल भएको हो ।

२०६२ मा पहिलो पटक एसएलसीमा सहभागी विद्यालयले लगातार राम्रो नतिजा हासिल गरिरहेको छ । २०७२ र २०७३ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । शैक्षिक एवं अन्य अतिरिक्त क्रियाकलापका कारण दस पटकसम्म कास्कीको उत्कृष्ट स्कुल बन्न सफल भएको छ । यस वर्ष पनि चार नम्बर प्रदेशको उत्कृष्ट विद्यालयमा यो परेको छ । यसअघि २०७० मा पश्चिमाञ्चलमै उत्कृष्ट बनेको थियो ।

‘शैक्षिक गुणस्तरका लागि टिम वर्क महत्त्वपूर्ण रहेछ,’ प्रधानाध्यापक सुशील बस्नेतले भने, ‘काम गर्ने इच्छाशक्ति साथै सरोकारवालाबीच सुमधुर सम्बन्ध र समन्वय पनि उत्तिकै आवश्यक पर्ने रहेछ ।’

यति बेला अभिभावक र विद्यार्थीमा अंग्रेजी मोह ह्वात्तै बढेको छ । सबै कक्षामा अंग्रेजी माध्ययमबाट पढाउँदै आएको छ । त्यसैले विद्यार्थी ओइरिइरहेका छन् । १० कक्षासम्म १ एक हजार ७८ विद्यार्थी छन् । उनीहरूलाई २६ सेक्सन बनाएर पढाइन्छ । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषयमा थप २ सय ७३ विद्यार्थी छन् । ४५ शिक्षक र ११ कर्मचारी छन् ।

‘मल्टिमिडियाको प्रयोगलाई जोड गरेका छौं,’ प्रअ बस्नेतले भने, ‘यसलले शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने रहेछ ।’ विद्यार्थीबाट लेखरचना तथा कला प्रदर्शनका लागि बाल बगंैचा भित्तेपत्रिकाको व्यवस्थापन, वार्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेन्डर प्रकाशन, पढाइसँगै अतिरिक्ति गतिविधि, शैक्षिक भ्रमण, खेलकुद, चित्रकला, नृत्य र संगीतका कक्षा पनि सञ्चालित छन् । अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न विभिन्न समिति उपसमित गठन गरिएका छन् । शैक्षिक गतिविधि निरीक्षणका लागि १५ वटा सीसी क्यामेरा जडान गरिएका छन् ।

‘समितिले कमीकमजोरी भएमा सच्चाउने र स्रोत जुटाउने काम गर्दै आएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकिशोर बाँस्तोलाले भने, ‘मुख्य कुरा भनेकै शिक्षक र विद्यार्थीको मिहिनेत हो । अभिभावकले पनि नियमित रूपमा विद्यालयको रेखदेख गर्ने भएकाले विद्यार्थीहरू ट्रयाकबाहिर जान पाउँदैनन् ।’

नेपाल बाल संगठन स्थापनापछि शिशु कक्षाको रूपमा रत्न नमुना पाठशालाका नाममा २०२४ मा स्थापना भएको विद्यालयले वेबसाइट, इमेल र फेसबुकजस्ता सामाजिक सञ्जालको पनि भरपुर उपयोग गर्दै शैक्षिक गुणस्तरको उन्नतिमा लगाउँदै आएको छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?