कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख आयुक्त यादवले भने, 'निर्वाचनका बारेमा आशंका नगर्नुस्'

काठमाडौं — प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गरेका छन् ।

प्रमुख आयुक्त यादवले भने, 'निर्वाचनका बारेमा आशंका नगर्नुस्'

समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले शनिबार आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले निर्वाचनका बारेमा दुबिधा नराख्न आग्रह गरेका हुन् । समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतको राजनीतिक दलले चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको बताउँदै उनले आचारसंहिता पालनाको विषयमा राजनीतिक दल र उम्मेदवारले जनताबाट सिक्न आवश्यक छ भने ।

मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, 'जसरी पनि चुनाव जित्ने मनसाय नराख्नु होला, आचारसंहिता उलंघन भएको पाइएमा कारबाही हुनेछ ।'

आयुक्त ईश्वरीप्रसाद पौड्यालले पछिल्लो समय समानुपातिक निर्वाचन प्रणाली लोकप्रिय भएकैकारण विश्वका ७१ मुलुकले यसलाई आत्मसाथ गरेको जानकारी दिँदै बन्दसूचीलाई कसरी कम भन्दा कम त्रुटीपूर्ण बनाउने भन्ने सन्दर्भमा प्रशिक्षण आयोजना गरिएको बताए ।

अर्का आयुक्त सुधीरकुमार शाहले लोकतन्त्रको सुदृढीकरण र नैतिक आचरणमा रहने प्रत्यन राजनीतिक दल र उम्मेदवारबाट भएमा निर्वाचनमा आउने गरेका धेरै खाले टिक्का टिप्पणी हराउँदै जाने छन् भने ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेशसभामा २२० जनप्रतिनिधिको चयन हुनेछ । मुलुकका ८८ वटा राजनीतिक दलले आगामी निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने जनाएका छन् ।

समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभाका लागि रु ५० हजार तथा प्रदेशसभाका लागि रु २५ हजार धरौटी राख्नुपर्ने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?