ईपीजी पाँचौ बैठक: सीमा नियमन, डुबान र आप्रवासनमा छलफल

चन्द्रशेखर अधिकारी

काठमाडौं — भारतले सीमा नियमनलाई ब्यवस्थित गर्न चेकपोइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्न पर्नेमा जोड दिएको छ । हवाई मार्ग झै स्थलमार्गबाट आवत जावत गर्दा पनि अभिलेख राख्न पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठकमा भारतीय टोलीले आप्रवासनहरुको विषयमा पनि कुरा उठाएको छ । दुवैतर्फ रहेका एक अर्का आप्रवासन नागरिकलाई दिने समान सुविधानको विषयमा छलफल भएको र उक्त विषयलाई भारतले गम्भीर रुपमा लिएको एक सदस्यले बताए ।

नेपालले पनि आप्रवासनको विषयमा समान हैसियत दिन समस्या हुने यसमा भूगोल र जनसंख्याको कुरा ख्याल गर्नपर्ने भन्ने धारणा राखेको छ । १९५० को मैत्री सन्धिको पुनरावलोकनको विषयमा यो पक्ष काँडो झै नै रहेको छ । अन्य कुरा उठ्ने वित्तिकै भरतले आप्रवासनको समान हैसियतको कुरा उठाएपछि समस्या उस्तै रहने गरेको छ अहिले पनि त्यही पक्षमा कुरा अघि बढेको एक सदस्यले भने, ‘बीचको बाटो निकाल्ने हाम्रो प्रयास जारी छ । यसमा भारतीय पक्षका सदस्यहरु पनि लचिलो देखिएका छन ।’

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसार पसार लगायत तस्करी नियन्त्रणका लागि दुवै पक्षलाई हित हुनेगरि भारतले सीमा नियमनमा यसपटक बढि नै जोड गरेको छ । भारतीय टोलीका सदस्य प्राध्यापक बीसी उप्रेतीले आफ्नो प्रस्तुतीमा यो धारणा राखेका हुन् । नेपाली पक्षले यसमा आइतबार थप धारणा राख्नेछ । नेपाल र भारतबीच रहेका सानाठूला विभिन्न ७० चेक पोइन्ट (नाका) नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुतिमा भारत सरकारले चासो दिंदै आएको धारणा नै ईपीजी मार्फत आएको छ । यस्तो प्रस्तुति अर्थपूर्ण रहेको अधिकारीहरुले बताए । अवैध आउजाउ नियमन गर्ने भारतीय चासोमा नेपाली पक्ष पनि सकारात्मक रहेको भएपनि सीमा क्षेत्रका ‘रोटी बेटी’ सम्वन्धलाई ख्याल गर्नपर्ने विषय पनि सँगै उठेको छ । 

भारतीय टोलीको एक सदस्य उपस्थित नहुँदा पनि बैठक अघि बढ्नु दुई पक्षीय सम्वन्धको सकारात्मक पक्षको रुपमा समिति सदस्यहरुले बताए । पूर्व राजदूत जयन्त प्रसाद अस्वस्थताका कारण बैठकमा सहभागी भएनन । माइनर हार्ट अट्याकपछि स्वास्थ्य लाभ गरिरहेका कारण उनी सहभागि नभएपनि एक महिना ढिलो गरि बैठक बसेको हो । तर, उनले यसअघि प्रस्तुत गरेको १९५० को सन्धिको विषयमा भने यसपटक थप छलफल हुन सकेन । भारतमा हुने छैटौ बैठकमा त्यो विषयमा छलफल हुनेछ । बैठकमा शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रिया सहित राय पेश गरिसकेको छ । यसमा थप छलफल जयन्तको उपस्थितीमा गर्ने भनिएको छ ।

बैठकमा नेपाली पक्षका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा आफ्नो प्रस्तुती दिएका थिए । त्यसमा जलस्रोतको उपयोग संगै सीमामा बनेको भारतीय संरचनाका कारण परेको डुवान बारेमा समेत छलफल भएको छ । 

‘पाँचौ बैठकले पनि अघिल्ला बैठक झै नै दुईपक्षीय विविध विषयमा छलफल अघि बढाएको छ,’ नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले भने, ‘सकारात्मक रूपमै छलफल अघि बढेको छ । अहिले हामीले एजेन्डा यो वा त्यो भन्नुभन्दा पनि समग्र विषयमा छलफल भइरहेको छ । यो सकारात्मक दिशामा नै अघि बढेको छ । काम पनि आधा सकिएको छ । हामी एकै समूहका रूपमा काम गरिरहेका छौं । सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त छौ ।’

ईपीजीमा अधिकांश विषय सहमति नजिक पुगेकोले केही विषयमा बीचको बाटो खोजेर सहमतिको तय गरिने एक सदस्यले बताए । दुवै तर्फको प्रस्तुतीमा दोहोरो छलफल हुँदै कुराकानी भइरहेको छ । आइतबार पनि बैठकले निरन्तरता दिने र एक अर्काका राय राख्ने काम भइरहेको पनि सदस्यहरुले बताए । 

नेपाली टोलीले यसअघि सीमामै पुगेर नेपाली पक्षहरूसँग अन्तरक्रिया समेत गरेकोले नेपाली पक्षबाट राखिने राय अर्थपूर्ण हुने सदस्यहरुको धारणा छ । भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्विकार्ने बताइरहेको अवस्थामा सीमाबारे छलफल अघि बढेको हो । 

नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्रीमा परेका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको छ । नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएको र छलफल गरेर संयुक्त प्रतिवेदनका लागि सकारात्मक हुादै अघि बढेको अवस्थामा आप्रवासनको विषय र सीमा नियमनको  विषय आएको हो । सीमाका विषयमा पनि सकारात्मक रूपमा सहमति हुने तर आप्रवासनको विषयमा निकै लामो बहस र थप सुझावहरु लिन पर्ने अधिकारीहरुको धारणा छ । 

नेपालको तर्फबाट संयोजक सहित चार र भारतको तर्फबाट संयोजक भगतसिंह कोशियारी सहित तीन जना सहभागी थिए । बैठक आइतबार अपरान्ह अर्को बैठकको विषय तय गर्दै सकिनेछ । टोली यतिबेला राजनीतिक भेटघाटमा छ ।   

प्रकाशित : आश्विन २१, २०७४ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

चाँदीको मूर्तिसहित भारतीय पक्राउ

देवनारायण साह

मोरङ — इलाका प्रहरी कार्यालय रानीले चाँदीको मूर्तिसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीको मूर्तिसहित भारतको अररीया जिल्लास्थित जोगबनी ग्राम पञ्चायत-१ का १९ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो । उनको साथबाट २ किलो १ सय ६२ ग्राम चाँदीको तयारी लक्ष्मीको मूर्ति ८, गणेशको ९, आचमनी १०, चम्चा १२, माछा ६, मुकुट २९ र पञ्चपात्रो ९ थान बरामद भएको रानी प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । सिएस र बिएसके १०० ब्रान्डका उक्त मूर्तिहरु छन् ।

साहले गोजी नै गोजी भएको लुगाभित्र उक्त मूर्ति राखेर माथि अर्को लुगाएर आउँदै गरेको अवस्थामा विराटनगर-१५ स्थित हुलास मेटल चोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले बताए । तस्करहरुले अवैध रुपमा लुकाईछिपाई चाँदीका तयारी गहनालगायत सामग्री यहाँका सुनचाँदी व्यवसायीलाई बिक्रीका लागि ल्याउने गरेको सूचनाको आधारमा रेकी गरेर पक्राउ गरेको उनले सुनाए ।

कारबाहीको लागि चाँदीसहित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीमा शनिबार बुझाएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।
‘तस्करहरुले कुन पसलहरुमा उक्त तयारी चाँदीका सामग्रीहरु ल्याउने गरेको, कहाँ तयार गर्ने गरेको कति मिसावट रहेकोबारे थप अनुसन्धानबाट खुल्छ,’ उनले भने, यस्तो कार्यमा संलग्न भएकाहरुलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

तस्करहरुले अवैध रुपमा लुकाईछिपाई नेपालबाट काँचो चाँदी भारत लगेर ६० प्रतिशत मिसाबट गरी गहनालगायत सामग्री बनाएर नेपालस्थित सुनचाँदी पसलेहरुलाई दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७४ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्