कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रान्तिकारीको वैकल्पिक गठबन्धन बन्छ : बैद्य

भीम घिमिरे

पोखरा — एमाले र माओवादी केन्द्रको गठबन्धनसँग चिढिएका साना बामपंथी दलहरूले बेग्लै गठबन्धन बनाउने तयारी गरेका छन् । यसको खुलासा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले गरेका हुन् ।

क्रान्तिकारीको वैकल्पिक गठबन्धन बन्छ : बैद्य

 

पार्टीको पोखरामा आइतवार सुरू प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेकपा, नेकपा मसाल र विप्लव समुहसँग कुरा भइरहेको बताए । उनले माओवादी केन्द्र जनयुद्धको जगमा अडिन नसकेर सधैं सत्तालिप्सामा लागेको आरोप लगाए । ‘एमालेसँगको गठबन्धनमा प्रचण्डले निरन्तरताको क्रमभंग भनेका छन् । तर, क्रमभंग सुल्टो होइन उल्टो भएको छ,’ उनले भने, ‘एमालेका बारेमा हामीले धेरै अघिदेखि भन्दै आएका हौं, अहिले भन्नु केही छैन तर, माओवादी केन्द्र सच्चा क्रान्तिकारी कम्युनिष्ट रहेन ।’

माओवादी जनयुद्धले मुलुकमा परिवर्तन ल्याएपनि त्यसका उपलब्धि संस्थागत गर्न नसक्नु, त्यसको समीक्षा गरेर अगाडि जान नसक्नु बामपंथी दलहरूको कमजोरी भएको उनले बताए । ‘एक थरि जनवादी क्रान्ति सकियो अब समृद्धिको क्रान्ति गर्नुपर्छ भन्छन्, त्यस्तालाई जवाफ दिनुपर्ने बेला छ,’ उनले भने, ‘प्रतिक्रियावादी सत्तालाई निरन्तरता दिएर अघि बढ्नु क्रान्ति होइन ।’ धेरै गुटमा विभाजित बामपंथी दलहरूले अब एमाले र माओवादी गठबन्धनलाई जवाफ दिन एकता गर्नुपर्ने समय आएको उनले बताए । ‘हाम्रो सम्मेलनको यो मुख्य एजेण्डा पनि हो,’ उनले भने, ‘अब अवस्थाको समीक्षा गरेर बलियो वैकल्पिक बाम शक्ति हुनुपर्छ ।’ एकता प्रयासलाई सक्दा अघि बढाउन आफूहरूले प्रयास गर्ने उनले बताए । ‘प्रतिगामी राज्यसत्तामा जाने बामपंथी हुँदैन, त्यसैले हाम्रो कार्यदिशा प्रष्ट हुन जरुरी छ,’ उनले भने, ‘राजनीतिक क्रान्ति जरुरी छ तर, अब समयअनुसार हामीले त्यसका लागि रणनीति परिवर्तन गरेर लैजाने विषयमा छलफल चलाउनु पर्छ ।’ 

धेरै चिरामा विभाजित बाम घटकहरू बीच बिचार र सिद्धान्तका हिसाबले आधारभूत कुरा मिलेपनि नेतृत्वको बुझाइ र बहसमा मतभेद आउने गरेको उनले बताए । ‘अहिले माओवादी र एमालेको गठबन्धन हाम्रा लागि चुनौतिमात्रै होइन अवसर पनि हो,’ उनले भने, ‘क्रान्तिकारीबीच एकता जरुरी भएको छ । एकअर्कालाई बुझ्न जरुरी भएको छ ।’

मुलुकका विभिन्न जिल्लाबाट कार्यकर्ता सहभागी सम्मेलनलाई नेकपाका हेमन्तप्रकाश ओली, ऋषि कट्टेल र नेकपा मसालका रामप्रकाश पुरीलगायतले पनि सम्बोधन गरेका थिए । 

प्रकाशित : आश्विन २२, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?