कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालमेलको सकस: झस्कियो कांग्रेस

-राजपा र फोरमद्वारा प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १३१ सिट माग
-प्रदेश २ मा मात्रै दुई तिहाइ दिनुपर्ने अडान
कुलचन्द्र न्यौपाने

काठमाडौं — राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ ।

तालमेलको सकस: झस्कियो कांग्रेस

कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् । 
उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट मागिएको  स्रोतले जनायो । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गर्दै आएको छ ।

प्रदेश २ लाई कांग्रेसले पनि आफ्नो प्रमुख भोट बैंकको रूपमा लिँदै आएको छ । तेस्रो चरणअन्तर्गत यो प्रदेशमा भएको स्थानीय तहको चुनावमा समेत कांग्रेस पहिलो स्थानमा थियो । त्यसपछि फोरम र राजपा आएका थिए । राजपा र फोरमबीच साझा उम्मेदवार बनाएर चुनावमा जाने सहमति भएपछि यी दुई दलले प्रदेश २ मा दुई तिहाइ सिट संख्या माग गरेका हुन् । ‘हामी दुई दल मिल्दा दुई तिहाइभन्दा बढी स्थानमा चुनाव जित्छौं,’ राजपाका एक नेताले कान्तिपुरसँग भने, ‘कांग्रेसलाई ५० प्रतिशत छाडेर हामी जान सक्दैनौं ।’ प्रदेश २ मा सोचेभन्दा बढी सिटको अपेक्षा राजपा र फोरमले गरेपछि आइतबार कार्यदल स्तरमा थप छलफल नगरी बैठक टुंगियो । कार्यदल स्तरमा सिट संख्यामा सहमति जुटाउन सकस भएपछि अब शीर्ष तहमा छलफल हुनेछ । 

कार्यदलका सदस्य रामसहाय यादवले दुई दलबाट सातवटै प्रदेशमा आफूहरूले सिट मागेका स्विकारे । तर, शीर्ष तहमा छलफल गरेर सहमति खोज्ने प्रयास भइरहेकाले कहाँ कति सिट माग भएको हो भन्नेबारे बताउन चाहेनन् । ‘हामीले मागेको सिटमा कांग्रेसका साथीहरूले शीर्ष तहमा छलफल गरेर प्रतिक्रिया दिने बताउनुभएको छ,’ उनले भने, ‘लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने विषयमा भने हामी सकारात्मक छौं ।’ 

कार्यदलको बैठक सकिएलगत्तै कांग्रेसका सदस्यहरू बालुवाटार पुगेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई राजपा र फोरमले माग गरेको सिट संख्याबारे जानकारी गराएका थिए ।

स्रोतका अनुसार राजपा र फोरमले प्रदेश १ मा प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि २४ सिट मागेका छन् । प्रदेश ३ मा प्रतिनिधिसभा १० र प्रदेशसभा १५, प्रदेश ४ मा प्रतिनिधिसभा २ र प्रदेशसभा ९, प्रदेश ५ मा प्रतिनिधिसभा १० र प्रदेशसभा २२, प्रदेश ६ मा प्रतिनिधिसभा १ र प्रदेशसभा ६ तथा प्रदेश ७ मा प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि ७ सिटको माग छ । प्रदेशसभाको कुल ३३० संख्यामध्ये दुई दलले मात्रै १३१ सिट मागेका छन् । 

दुई राप्रपाले पनि देशभरबाट १५ प्रतिशत सिट पाउनुपर्ने माग गर्दै आएका छन् । कांग्रेस नेतृत्वमा बन्न लागेको गठबन्धनमा राजपा, फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र लोकतान्त्रिक फोरम सहभागी छन् ।  

यसैबीच लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाबीच पार्टी एकताका लागि वार्ता चलिरहेको छ । गच्छदारले पार्टीभित्र आफ्नो भूमिका सुरक्षित भए तत्कालै एकीकरण गर्ने धारणा राखेको स्रोतले बतायो । उनले आउने ५ वर्ष आफू सरकारमा नजाने तर पार्टीमा काम गर्ने जिम्मेवारी दिनुपर्ने सर्त देउवासँग राखेको स्रोतले जनायो ।

प्रकाशित : आश्विन २३, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?