कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभावैअभाव झेल्दै एकल महिला

अनिश तिवारी

सिन्धुपाल्चोक — शक्तिशाली भूकम्प गएको साढे दुई वर्ष हुनैलाग्दा पनि अधिकांश भूकम्पपीडितहरुले टहराको बासबाट छुटकारा पाएका छैनन् । सरकारी अनुदान वितरण ढिलाई, घर निर्माण मजदुर अभावलगायत कारणले पीडित नागरिक कष्टकर जीवन बिताइरहेका छन् । कतिपय परिवार घर बनाउन नसक्नुको पीडासँगै थप बेदना सही बसेका छन् ।

अभावैअभाव झेल्दै एकल महिला

यस्तै पीडामाथि पीडा ब्यहोरिरहेकी छिन् चौतारा साँगाचोकगढी नगरपालिकाको इर्खु पोखरेगाउँकी ३७ वर्षीया मन्दिरा कार्की । 

पंतिकारसँग मन्दिराले पीडाका दर्दनाक पीडा सुनाइन् 'वैदेसिक रोजगारीका लागि कतार जानुभएका श्रीमान् (ईश्वरीबहादुर कार्की) उतै बिरामी पर्नुभयो । नेपाल फर्किनु भएपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएँ तर, उहाँलाई बचाउन सकिएन' । उनका अनुसार श्रीमान्ले साहुबाट लिएको एक लाख ऋणको बदलामा घरजग्गा पूरा लिने धम्की दिने गरेका छन् । श्रीमान् विदेश जाँदा र बिरामी पर्दा परेको ठूलो ऋण टाउकोमा परेको बिलौना गर्दै उनले भनिन्,‘दिनभरि मजदुरी गर्छु, रातभर ऋण सम्झेर पागलजस्तै बन्ने गरेकी छु ।’आफ्नो नाजुक शारीरिक र मानसिक अवस्था देखेर छोराछोरीको बालमास्तिष्कमा नराम्रो असर पर्ने चिन्ता पनि उनमा छ । 

कार्कीको पीडाप्रति साथ दिने कोही छैनन् । खानलाउन र बासको अभाव उनलाई छ । भूकम्पपछि अरुकै जग्गामा बस्दै आएकी कार्कीलाई जग्गाधनीले उक्त ठाउँबाट निकालिदिए । पछि ८ वर्षकी छोरी अमीता र १२ का छोरा अमनलाई काखी च्यापेर बासका लागि मन्दिरा भौतारिँदै हिँडेको धेरै समय भइसक्यो । 

त्यसो त उनको परिवार भूकम्पअघिदेखि नै घरवारविहीन बनेको थियो । तीन जनाको परिवार अहिले अरुकै टहरोमा आश्रय लिएर बसिरहेका छन् । ‘अरुको टहरोमा कतिन्जेल बस्ने ?,’ लामो सुस्केरा हाल्दै उनले भनिन्,‘बास बनाउन कसैले सहयोग गरे मेरा लागि देवतासमान हुन्थ्यो ।’ अरुको टहरामा बसेको रातपछि विद्यालय पुगेर फर्केका छोराछोरी अर्को दिन कहाँ जाने भन्ने पीरले पढ्नै नसक्ने भएका छन् । बिनापैसा र खाजा स्कुल जाने गरेका कार्कीका छोराछोरीलाई पढाई खर्च हेर्ने कस्ले ? भूकम्पपछि दिनभर भोकाएका बालबच्चा आफू कैयौं रात भोकै सुतेको कार्कीको अनुभव छ । गरिबीका कारण समाज अपहेलित हुनुपरेपछि उनलाई बाँच्नु नै बेर्थ लाग्ने गरेको छ । भनिन्, 'सन्तानको मुख हेरेर बाँचिरहेको छु ।' 
 
आश्रय लिने ठाँउ कतै नपाएको गुनासो उनले दोहोर्‍याइन् । कसैले भाडामा जग्गा दिए बाँच्न सजिलो हुने उनले बताइन् । ‘बरु दिनरात खटेर साहुलाई भाडाको पैसा दिन्थें,’ उनले आँसु खसाल्दै भनिन्, ‘बास नभएकाले पानी पर्दा र हुरीबतास आउँदा मेरा नानीबाबु चराचुरुङ्गीझैं बिचल्लीमा पर्ने गरेका छन् ।’
 

प्रकाशित : आश्विन २५, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?