कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्र भत्किएर देशमा अर्को शक्ति पैदा हुँदैछ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौं — मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, मोहन वैद्यलगायत नेतालाई लक्षित गर्दै दाहालले भने ‘मेरा कतिपय गुरुहरु पुरानै पार्टीमा हुनुहुन्छ । त्यही पार्टीमा हिँडिराख्नुभएको छ । भिक्षुजस्तै घण्टी बजाइरहनुभएको छ । उहाँहरुबाट न समाजमा कुनै परिवर्तन छ । न त जीवनमा कुनै आवेग वा कुनै आक्रोश नै । उहाँहरु पुरानै ढंगले चलिरहनै रहनुभएको छ ।’

माओवादी केन्द्र भत्किएर देशमा अर्को शक्ति पैदा हुँदैछ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र भत्किएर देशमा अर्को नयाँ पार्टी बन्न लागेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा बढिरहेको राजनीतिक ध्रुविकरणले देशमा नयाँ शक्तिशाली पार्टी निर्माण हुने र जनताको इच्छाअनुसार काम हुने दाबी गरेका हुन् । माओवादी केन्द्र र नेकपा (संयुक्त)बीचको एकताको प्रसंग जोड्दै दाहालले भने, ‘आजको एकता र अर्को एकताको कुरा हुँदैछ । जसबाट माओवादी केन्द्र भत्किन्छ र देशमा नयाँ शक्ति पैदा हुन्छ ।’असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरिएको थियो ।

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरिकाले सोचेन, एउटा नयाँ सोच र क्रमभङ्गका रुपमा सोचेकाले हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष दाहालले भने, ‘कतिपय कम्युनिस्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं ।’

उनले थपे ‘कतिपय साथीहरु भक्तपुरमा बसिरहनुभएको छ । भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न । कतिपय साथी प्यूठानमा हुनुहुन्छ । प्यूठानबाहिर जानुहुन्न । केही साथी त्यस्तै यस्तै हुनुहुन्छ ।’

‘तर हामी त्यो भन्दा फरक छौं । फरक ढंगले उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति अगाडि बढ्ने जमर्को गरिरहेका छौं’ दाहालले भने, 'नयाँ तरंग र आवेग पैदा गराएर मात्रै समाजलाई रुपान्तरण गर्न सकिन्छ ।'

प्रकाशित : आश्विन २५, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?